Ad Area

महायज्ञमा २६ लाख बढी नगद र तीन सय मुरी बढी धान संकलन


दाङ,२७ मंसिर । घोराही उपमहानगरपालिका–७ स्थीत माध्यामिक विद्यालय सौडियारमा सञ्चालित श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञमा २६ लाख बढी दान संकलन भएको छ । विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि सञ्चालन भएको महायज्ञको छैठौ दिन विहीवार ९ लाख दश हजार चार सय २५ रुपैयाँ आर्थिक संकलन भएको हो ।

विहीवार संकलन भएको नौ लाख बढीसहित महायज्ञमा हालसम्म जम्मा २६ लाख ५१ हजार सात सय २७ रुपैयाँ आर्थिक संकलन भएको महायज्ञका आर्थिक उपसमिति संयोजक हिरालाल न्यौपानेले जानकारी दिएका छन् । आर्थिक उपसमिति संयोजक न्यौपानेका अनुसार विहीवार महायज्ञमा सवैभन्दा धेरै दान घोराही उपमहानगरपालिका–७ मा रहेको जवरपुर टोल विकास सस्थाले ६० हजार ९५ रुपैया दान गरेको छ । टोल विकास सस्थाका अध्यक्ष तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रकाश चौधरीलगायतले दान गरेका थिए ।

त्यसैगरी महायज्ञमा घोराही–७ सौडियारकै भीमकान्त भण्डारीले ५६ हजार छ सय ६५ रुपैयाँ, घोराही उपमहानगरपालिका–१५ निवासी भीमकान्त अधिकारीले ५५ हजार रुपैयाँ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्राइले २५ हजार पाँच सय २५ रुपैयाँ महायज्ञमा दान गरेको आर्थिक उपसमिति संयोजक न्यौपानेले जानकारी दिएका छन् । न्यौपानेका अनुसार महायज्ञमा सवैभन्दा धेरै दान गर्ने दाताहरुलाई पञ्चेबाजासहित घरदेखि स्वागत एवं सम्मान गरिएको थियो ।

त्यसैगरी महायज्ञमा विहीवार ३४ मुरी धान संकलन भएको छ । आर्थिक उपसमिति संयोजक न्यौपानेका अनुसार विहीवार संकलन भएको ३४ मुरी धानसँगै हालसम्म महायज्ञमा स्थानीय नागरिक तथा विभिन्न टोल विकास सस्थाबाट तीन सय ४२ मुरी धान संकलन भएको छ । विद्यालयको भौतिक विकास तथा शैक्षिक सुधारका लागि आर्थिक संकलन गर्ने उद्देश्यले सञ्चालित महायज्ञको अन्तिम समय नजिकिएसँगै महायज्ञमा दान गर्ने दातासँगै कथा श्रवण तथा नाचगान गर्नेदेखि भक्तजनको उल्लेख्य सहभागीता रहेको महायज्ञ अनुगमन समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भीमप्रकाश खड्काले बताएका छन् ।

विहीवार महायज्ञमा लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य राजु खनाल, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेय, नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगी, उपसभापति गिरिराज सुवेदी, सचिव अर्जुन योगी, कोषाध्यक्ष प्रकाश सुवेदी, कांग्रेस नेताहरु बद्री खड्का, किरणकिशोर घिमिरे, भोजराज पाण्डेय, दुर्लभ केसी, नेपाली कांग्रेस घोराहीनगर सभापति तिलक रावतलगायत सहभागी भएका थिए ।

महायज्ञमा विहान नियमित पूजासँगै दिउँसो भागवत कथा श्रवणका लागि भक्तजन तथा दाताको सहभागीता अन्य दिनको तुलनामा बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक निशानदाजु भट्राईले बताएका छन् । मंसिर २१ गतेदेखि सुरु भएको महायज्ञ मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ । श्रीमद् भागवत धनधाञ्यचल सप्ताह ज्ञान महायज्ञको कथाबाचकमा पंण्डित कोमल उपाध्याय र एक सय ८ भागवत संकल्पकर्तामा डिला पाण्डेय रहेकी छिन । महायज्ञमा विहान नियमित पुजासँगै दिउँसो ११ बजेदेखि चार बजेसम्म भागवत कथावान, साढे चार बजे आरती र साँझ सात बजेदेखि नौ बजेसम्म कथा बाचनसँगै भजन कृतन हुने गरेको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।