प्रदेशकै सर्वाधिक पुरस्कार राशिको ‘लुम्बिनी च्याम्पियनसिप फुटबल’ हुने
घोराही, ६ पुस । लुम्बिनी फुटबल एकेडेमी घोराहीले प्रदेशकै सर्वाधिक पुरस्कार राशिको लुम्बिनी च्याम्पियनसिप–२०८१ आयोजना गर्नेभएको छ । एकेडेमीले आगामी माघ दोस्रो साताबाट ए डिभिजन क्लबसहित विभिन्न स्थानीय तथा प्रदेश स्तरका क्लवको सहभागीतामा लुम्बिनी च्याम्पियन लिग आयोजना गर्न लागेको हो ।
प्रतियोगिताको तयारी स्वरुप आन्तरिक व्यवस्थापनको काम भईरहेको बारे शनिबार घोराहीमा जनप्रतिनिधि, यस क्षेत्रका सरोकारवाला लगायतलाई जानकारी गराउँदै आवश्यक राय सुझाव लिईएको लुम्बिनी फुटबल एकेडेमीका अध्यक्ष समीर वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, एकेडेमीको आफ्नै फुटबल मैदान घोराही १७ गैरागाउँमा प्रतियोगिता आयोजना गर्नेछ ।
एन्फाले प्रमाणित गरेको फुटबल मैदानमा प्रतियोगिता हेर्न आउने दर्शकलाई सशुल्क प्यारापिटसहितको व्यवस्था गरिएको उहाँले बताउनुभयो । प्रतियोगिताले दाङको फुटबलको विकास, यहाँको आर्थिक एवम् पर्यटन प्रवद्र्धन बिस्तारमा टेवा पुग्ने लक्ष्यका साथ सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता आयोजना गर्न लागिएको उहाँको भनाई छ । करिव १० लाख पुरस्कार राशिको प्रतियोगिताका लागि स्थानीय प्रशासनलगायत कार्यालयबाट अनुमति प्राप्त भईसकेको उहाँले बताउनुभयो ।
यस क्षेत्रमै पहिलो पटक ए डिभिजनसहितका क्लवको सहभागीतामा सर्वाधिक राशिको फुटबल आयोजना गर्न लागिएको हुँदा प्रतियोगिताले उत्साहको संचार गरेको सहभागी सरोकारवालाहरुले बताउनुभएको छ । च्याम्पियनसिप लिगले खेल र खेलाडीका लागि मात्रै नभई जिल्लाको आर्थिक, पर्यटकीय क्षेत्रको विकासमा पनि टेवा पुग्ने अपेक्षा गरिएको उनीहरुको भनाई छ ।
छलफलमा वडा नम्बर १५ का वडा अध्यक्ष रमेश पाण्डेले प्रतियोगिताले यस क्षेत्रको प्रचार प्रसारमा महत्वपूर्ण भुमिका खेल्ने हुँदा सक्दो सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । वडा नम्बर १७ का वडा अध्यक्ष रामलौटन चौधरीले आफु मातहतको वडामा फुटबल आयोजना हुन लागेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले वडाका तर्फबाट आवश्यक सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव विकास वलीले लुम्बिनी फुटबल एकेडेमीले गर्न थालेको प्रतियोगिताले जिल्लाको अर्थतन्त्रमा सकारात्मक भुमिका खेल्ने हुँदा नीजि क्षेत्रको तर्फबाट सहयोग रहने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले खेलले सबैलाई एक ठाउँमा ल्याउन भुमिका खेल्ने हुँदा यो दाङका लागि ठूलो अवसर रहेको बताउनुभयो । प्रतियोगिताले खेल र खेलाडीलाई फाईदा हुने मात्रै नभई यहाँको अर्थतन्त्र, पर्यटन विकासमा पनि सघाउ पुग्ने हुँदा सबै मिलेर प्रतियोगिता सफल बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस जिल्ला सदस्य रेखबहादुर वलीले खेलका माध्यमबाट जिल्लाको विकासका लागि गर्न थालिएको फुटबल प्रतियोगितालाई सबैले अवसरका रुपमा लिनुपर्ने बताउनुभयो ।
एकेडेमीले अब अरु सरोकारवालाहरुसँग पनि बेग्लाबेग्लै छलफल गरी राय सुझाव लिने जनाएको छ । लुम्बिनी प्रदेशकै पहिलो लुम्बिनी फुटबल एकेडेमीले खेलकुद क्षेत्रको विकासका साथै समाजमा आर्थिक र सामाजिक रूपमा पछाडि परेका बालबालिकाहरूलाई अवसर प्रदान गर्ने लक्ष्यका साथ घोराहीमा संचालनमा रहेको छ ।
घोराहीमा २०८० साउनदेखि संचालनमा आएको लुम्बिनी फुटबल एकेडेमीले ६ जना विपन्न खेलाडीलाई पूर्ण छात्रवृत्ति तथा १२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गर्दै युवा प्रतिभा विकासका लागि फुटबल क्रियाकलाप गर्दै आएको छ । खेलाडी प्रशिक्षणका लागि एकेडेमीले अन्तर्राष्ट्रिय प्रशिक्षक नियुक्त गरेको छ ।