सातौँ मेयर कप फुटबलमा १८ नं. वडा विजयी, वडा नं. ७ र ११, ५ र १० को बराबरी
![](https://samanantar.com/wp-content/uploads/2024/12/ce1cc8c5-9135-4bb3-a81b-37a68e4f3fe7-900x450.jpg)
घोराही, ६ पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयर कप रनिङ शिल्ड प्रतियोगिता अन्तरगत शनिबार भएको खेलमा वडा नम्बर १८ विजयी भएको छ भने वडा नम्बर ७ र ११ तथा वडा नम्बर ५ र १० ले बराबरी खेलेका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा भएको पहिलो खेलमा वडा नम्बर ७ र ११ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत आज भएको पहिलो खेलमा दुवै वडाले १–१ गोलको बराबरी खेलेका हुन् । जसमा वडा नम्बर ७ का बिक्रम परियार र वडा नम्बर ११ का ईश्वर बुढाथोकी गोल गरेर १–१ अंक बाँडेका छन् ।
यसैगरी, दिउँसो १ बजेपछि भएको अर्को खेलमा वडा नम्बर ५ र १० ले पनि २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जस अनुसार वडा नम्बर १० का मधुसुदन बस्नेत र भिमसेन थापाले १–१ गोल गर्दा वडा नम्बर ११ का रोहित वलीले १ गोल गरे । दोस्रो हाफको ७ मिनेटमा वडा नम्बर १० आदित्य केसीले आत्मघाती गोल गरेपछि खेल बराबरी भएको हो ।
यसैगरी, शनिबार भएको तेस्रो खेलमा वडा नम्बर १८ ले वडा नम्बर १२ लाई ३–० गोलले हराएको छ । वडा नम्बर १८ का लागि सागर थारु कुमाल, समित पुन र दिपान्सु बस्नेतले १–१ गोल गर्दै टीमलाई ३ अंक दिलाएका छन् ।
अब आईतबार पनि लिग चरणका ३ वटा खेल हुनेछ । जस अनुसार वडा नम्बर ६ र १६ बिच बिहान ११ बजे, वडा नम्बर ३ र १९ बिच दिउँसो १ बजे र वडा नम्बर ८ र १५ बिच अपरान्ह ३ बजे खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तरगतका लिग चरणका खेलहरु १६ गतेसम्म हुनेछ । चार समुहमा विभाजन गरी खेलाईएको लिगकम नकआउट प्रतियोगितामा समुहको उत्कृष्ट दुईमा पुग्ने टीम क्वाटर फाईनलमा जानेछ । क्वाटर फाईनलका खेल पुस १८ र १९ गते हुनेछ ।
सेमीफाईनल खेल पुस २१ गते हुनेछ भने फाइलन खेल पुस २३ गते हुनेछ । कुल ३९ खेल हुने प्रतियोगितामा पहिलो हुने वडाको टीमले नगद १ लाखसहित शिल्ड, मेडम, प्रमाण पत्र, दोस्रो हुने वडाको टीमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछ ।