Ad Area

सातौँ घोराही मेयर कप फुटबलमा वडा नम्बर १, १३ र १४ विजयी


घोराही, ८ पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड प्रतियोगिता अन्तरगत सोमबार भएका ३ खेलमा १६ गोल भएको छ । लिग चरणका खेल अन्तरगत प्रतियोगिताको चौथो दिन भएका ३ खेलमा वडा नम्बर १३, वडा नम्बर १ र १४ विजयी भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा सोमबार बिहान समुह डी अन्तरगत रहेका वडा नम्बर ४ र १३ बिच भएको आठौँ नम्बरको खेलमा वडा नम्बर १३ ले ८–० गोलको सहज जीत निकाल्दै विजयी यात्रा कायम राखेको छ ।

वडा नम्बर १३ लाई जित दिलाउन विक्रम जिएमले ह्याट्रिक गर्दा कमल बिकले २ गोल, खुमबहादुर जिएम, सरोज कुमाल र प्रमोद बुढाले १–१ गोल गरे । लिग चरणको आफ्नो दोस्रो खेलमा लगातार दोस्रो जित निकालेको वडा नम्बर १३ ले कुल ६ अंक जोड्दै समूह डी को शीर्ष स्थानमा छ ।

सोमबार भएको नवौँ नम्बरको अर्को खेलमा ए समुहबाट वडा नम्बर १ ले २–१ गोलको जित निकालेको छ । वडा नम्बर १ र ७ बीच भएको खेलमा वडा नम्बर १ का लागि बासुदेव रावत र बिमल कामीले गोल गर्दा वडा नम्बर ७ का करन बोहराले दोस्रो हाफको १३ मिनेटमा गोल गर्दै टीमलाई खेलमा फर्काउने कोशिस गरेपनि हार टार्न सकेनन् ।

योसँगै वडा नम्बर १ ले आफ्नो पहिलो खेलबाट ३ अंक जोडेको छ भने लिग चरणको आफ्नो दोस्रो खेल खेलेको वडा नम्बर ७ ले यसअघि पाएको १ अंक छ ।

प्रतियोगिता अन्तरगत समूह सी बाट सोमबारको १०औँ नम्बरको खेलमा वडा नम्बर १४ ले सहज जीत दर्ता गरेको छ । वडा नम्बर ५ र १४ बिच भएको खेलमा वडा नम्बर १४ ले ५–० जीत निकालेको हो ।

वडा नम्बर १४ का लागि जयानन्द नेपालीले फ्रि किकमार्फत २ गोल गर्दा सुजन चौधरीले पनि २ गोल तथा अविनाश चौधरीले १ गोल गरे । योसँगै वडा नम्बर १४ ले पनि ३ अंक जोडेको छ । योसँगै चौथो दिनसम्म लिग चरणका १० वटा खेल सकिँदा कुल ५१ गोल भएको छ ।

घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत मंगलार पनि लिग चरणका ३ खेल हुनेछन् ।

जस अनुसार वडा नम्बर १२ र १९ बिच बिहान ११ बजे, वडा नम्बर १० र २ बिच दिउँसो १ बजे र वडा नम्बर १८ र ३ बिच अपरान्ह ३ बजे खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तरगतका लिग चरणका खेलहरु पुस १६ गतेसम्म हुनेछ । चार समुहमा विभाजन गरी खेलाईएको लिगकम नकआउट प्रतियोगितामा समुहको उत्कृष्ट दुईमा पुग्ने टीम क्वाटर फाईनलमा जानेछ । क्वाटर फाईनलका खेल पुस १८ र १९ गते हुनेछ ।

पुस ५ गतेदेखि शुरु भएको प्रतियोगिताको सेमीफाईनल खेल पुस २१ गते हुनेछ भने फाइलन खेल पुस २३ गते हुनेछ । कुल ३९ खेल हुने प्रतियोगितामा पहिलो हुने वडाको टीमले नगद १ लाखसहित शिल्ड, मेडम, प्रमाण पत्र, दोस्रो हुने वडाको टीमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछ ।