घोराहीकाे १६ औँ हिउँदे नगर अधिवेशनमा विभिन्न संशोधन प्रस्ताव पेश
![](https://samanantar.com/wp-content/uploads/2024/12/03bdaf97-7131-4571-af90-497c315ac45e-900x450.jpg)
घोराही, ८ पुस । घोराही उपमहानगरपालिकाको नगरसभाको १६ औँ हिउँदे नगर अधिवेशन शुरु भएको छ । नगर प्रमख नरुलाल चौधरीको अध्यक्षतामा सोमबारदेखि नगर सभा शुरु भएको हो ।
नगर सभाका उपप्रमुख हुमा डिसीसहित नगर सभा सदस्यहरुको सहभागीता रहेको छ । नगर सभामा नगर प्रमुख चौधरीले आर्थिक वर्ष २०८१–०८२ का लागि स्वीकृत केही योजना तथा कार्यक्रम संशोधन तथा रकमान्तर गर्ने प्रस्ताव, सोही बमोजिम कानुन तथा नीति पेश गर्नुभएको छ । जसमा अटो रिक्सा संचालन तता व्यवस्थापन सम्बन्धि कानुन २०८१, प्लास्टिकजन्य बस्तु प्रतिबन्ध विधेयक २०८१, दिशाजन्य लेदो व्यवस्थापन सम्बन्धि नीति २०८१, आर्थिक ऐन २०८१ संशोधन प्रस्ताव पेश भएको छ ।
यसैगरी, कर्मचारी संगठन तथा व्यवस्थापन पुनरावलोकन प्रस्ताव, आर्थिक वर्ष २०७३–०७४ देखि २०७९–०८० सम्म महालेखा परिक्षकबाट औँल्याईएका बेरुजु फर्छ्यौटको प्रकृया अगाडि बढाउने प्रस्ताव नगर प्रमुख चौधरीबाट सभामा पेश भएको छ । प्रस्तावित विषय अनुसार पालिकाको आर्थिक अवस्था राजस्वका विषयमा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी गराउनु भएको थियो ।
बजेटको प्रगति विवरण, आय, राजस्व संकलनको अवस्था तथा पूँजीगत खर्च बारे उहाँले जानकारी गराउनुभयो । चालू आर्थिक वर्षको बाँकी रहेको समयमा राजस्व संकलनमा सुधार गर्न केही वडाले थप पहल गर्नुपर्ने, पूँजीगत खर्च बढाउँदै चालू खर्चमा कटौती गर्ने प्रयासमा रहेको बताउनुभयो ।
पालिकामा ४९८ दरबन्दी रहेको कर्मचारीलाई व्यवस्थापन गर्न समान प्रकृति र उद्देश्य भएका शाखा गाभेर कर्मचारी कटौती गर्ने र ४ सय १५ मा झार्ने कोशिस भईरहेको बताउनुभयो । बढ्दो बेरुजु घटाउन चुस्त आर्थिक कृयाकलापलाई ध्यानमा राखेर कार्यदल गठन गरिएको बताउनुभयो ।
नगर सभामा प्रस्ताव गरिएको विषयमा अध्ययन गरि छलफलका लागि समय दिईएको छ । नगर सभाको अर्काे बैठक पुस १७ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
नगर सभा बसेको ६ महिना नबित्दै अर्काे नगर सभा बस्न सक्ने प्रावधान अनुसार हिउँदे नगर सभा आयोजना गरिएको हो ।