Ad Area

घोराही मेयर कप फुटबलमा वडा नम्बर ३, ६ र १४ विजयी


घोराही, ११ पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड प्रतियोगिता अन्तरगत बिहीबार सम्पन्न ३ खेलमा वडा नम्बर ३, ६ र १४ विजयी भएका छन् । लिग चरणका खेल चलिरहँदा समुह बी बाट वडा नम्बर ३ र १८ क्वाटर फाईनल प्रवेश गरेका छन् । सो समुहमा रहेका वडा ४ वटा टीम मध्ये नम्बर १८ र १९ बीचको खेल हुन बाँकी रहेपनि अपराजित वडा नम्बर १८ समुह विजेता र वडा नम्बर ३ समुह उपविजेता बनेर क्वाटर फाईनल प्रवेश गरेका हुन् । सो समुहमा रहेको वडा नम्बर १२ ले ३ खेलमा १ खेलमा मात्रै जित निकालेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा प्रतियोगिता अन्तरगत लिग चरणको सत्रौँ खेलमा समुह ए मा रहेको वडा नम्बर ६ विजयी भएको छ । वडा नम्बर ६ र ११ बीच भएको खेलमा वडा नम्बर ६ ले ७–० गोलले जितेको छ । वडा नम्बर ६ का लागि रुपेश जिएमले पेनाल्टीसहित ३ गोल गर्दा विजय परियार, कपिल बुढा, गिरीराज नेपाली, सिजन अधिकारीले १–१ गोल गरे । बिहीबारको जितसँगै वडा नम्बर ६ ले ३ अंक जोडेको छ । यो समुहबाट लिगका ५ खेल सकिँदा पाँच खेल अझै बाँकी छ ।

यसैगरी, समुह बी रहेका वडा नम्बर ३ र १२ बिच भएको लिग चरणको १८औँ खेलमा वडा नम्बर ३ ले २–१ गोलको जित निकालेको छ । वडा नम्बर ३ का लागि अमर बिक र सन्दिप कुमार सुनारले १–१ गोल गर्दा वडा नम्बर १२ का लागि सन्दिप भारतीले १ गोल गरे । बिहीबारको जीतपछि तीन खेलबाट वडा नम्बर ३ को ६ अंक भएको छ । वडा नम्बर ३ सँगको हारसँगै वडा नम्बर १२ लिग चरणबाट बाहिरिने पहिलो टीम बनेको छ ।

प्रतियोगिता अन्तरगत लिग चरणको १९औँ खेलमा वडा नम्बर १४ विजयी भएको छ । समुह सी मा रहेका वडा नम्बर २ र १४ बीच भएको खेलमा वडा नम्बर १४ ले २–० को जित निकालेको हो । वडा नम्बर १४ का लागि जयानन्द नेपाली र संगम चौधरीले १–१ गोल गरे । वडा नम्बर १४ अपराजित रहँदै दुई खेलबाट ६ अंक जोडेको छ । वडा नम्बर १४ पनि क्वाटर फाईनलमा प्रवेश गरेको छ । सो वडाले अब वडा नम्बर १० सँग खेल्न बाँकी छ ।

चार समुहमा विभाजन गरी खेलाईएको लिग कम नकआउट प्रतियोगितामा सातौँ दिनसम्मको लिग चरणका १९ वटा खेल सकिँदा कुल ८६ गोल भएको छ ।

घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत शुक्रबार पनि लिग चरणका ३ खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार बिहान वडा नम्बर १७ र १५ बिच बिहान ११ बजे, वडा नम्बर १८ र १९ बिच दिउँसो १ बजे र वडा नम्बर ८ र ४ बिच अपरान्ह ३ बजे खेल हुने छ । प्रतियोगिता अन्तरगतका लिग चरणका खेलहरु पुस १६ गतेसम्म हुनेछ । चार समुहमा विभाजन गरी खेलाईएको लिगकम नकआउट प्रतियोगितामा समुहको उत्कृष्ट दुईमा पुग्ने टीम क्वाटर फाईनलमा जानेछ । क्वाटर फाईनलका खेल पुस १८ र १९ गते हुनेछ ।

पुस ५ गतेदेखि शुरु भएको प्रतियोगिताको सेमीफाईनल खेल पुस २१ गते हुनेछ भने फाइनल खेल पुस २३ गते हुनेछ । कुल ३९ खेल हुने प्रतियोगितामा पहिलो हुने वडाको टीमले नगद १ लाखसहित शिल्ड, मेडम, प्रमाण पत्र, दोस्रो हुने वडाको टीमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछ ।