Ad Area

घोराही मेयर कप फुटबलमा वडा नम्बर ८ र १८ विजयी, १५ र १७ को बराबरी


घोराही, १२ पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड प्रतियोगिता अन्तरगत शुक्रबार सम्पन्न आठौँ दिनको खेलमा वडा नम्बर ८ र १८ विजयी भएका छन् भने वडा नम्बर १५ र १७ ले बराबरी खेलेका छन् । लिग चरणका खेल चलिरहँदा समुह डी बाट वडा नम्बर १५ र १७ ले लिगको २० औँ खेल १–१ गोलको बराबरी खेलेका हुन्।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा भएको प्रतियोगिता पहिलो हाफ गोर रहित खेलेपनि दोस्रो हाफमा दुवै टीमले १–१ गोल गरेका हुन् । वडा नम्बर १५ का लागि दोस्रो हाफमा जीवन बुढाथोकीले गोल गर्दा खेलको ईन्जुरी समयमा वडा नम्बर १७ का हेमन्त बिकले गोल गरेपछि खेल बराबरीमा सकिएको हो । खेल बराबरीमा सकिएसँगै साविक विजेता वडा नम्बर १७ को अन्तिम आठको यात्रा कठिन बनेको छ । यो समुहबाट वडा नम्बर १३ र १५ क्वाटर फाईनल नजिक पुगेका छन् ।

दिउँसो भएको लिग चरणको २२ औँ खेलमा समुह बी मा रहेको वडा नम्बर १८ र १९ बीचको खेलमा वडा नम्बर १८ ले ११–२ गोलको फराकिलो जीत निकालेको छ । वडा नम्बर १८ का लागि समित पुनले एक्लै ८ गोल गर्दा दिपान्सु बस्नेत, रविन पुन र सागर थारुले १–१ गोल गरे । वडा नम्बर १९ का लागि निरज पुन र छबिलाल खड्काले १–१ गोल गरे ।

यसैगरी, समुह सी मा रहेका वडा नम्बर ४ र ८ बिच भएको लिगको २३ औँ खेलमा वडा नम्बर ८ विजयी भएको छ । पहिलो हाफ गोलरहितको अवस्थामा सकिए पनि दोस्रो हाफमा वडा नम्बर ८ का मदन डाँगी र सुमन रावतले १–१ गोल गरेपछि २–० को जीत निकालेको हो । जारी लिगमा समुह बी बाट वडा नम्बर ३ र १८ क्वाटर फाईनल प्रवेश गरिसकेका छन् ।

चार समुहमा विभाजन गरी खेलाईएको लिग कम नकआउट प्रतियोगितामा आठौँ दिनसम्मको लिग चरणका २२ वटा खेल सकिँदा कुल १ सय ३ गोल भएको छ ।

घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत शनिबार पनि लिग चरणका ३ खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार बिहान वडा नम्बर ७ र ६ बिच बिहान ११ बजे, वडा नम्बर ११ र १६ बिच दिउँसो १ बजे र वडा नम्बर १० र १४ बिच अपरान्ह ३ बजे खेल हुने छ ।

प्रतियोगिता अन्तरगतका लिग चरणका खेलहरु पुस १६ गतेसम्म हुनेछ । चार समुहमा विभाजन गरी खेलाईएको लिगकम नकआउट प्रतियोगितामा समुहको उत्कृष्ट दुईमा पुग्ने टीम क्वाटर फाईनलमा जानेछ । क्वाटर फाईनलका खेल पुस १८ र १९ गते हुनेछ ।

पुस ५ गतेदेखि शुरु भएको प्रतियोगिताको सेमीफाईनल खेल पुस २१ गते हुनेछ भने फाइनल खेल पुस २३ गते हुनेछ । कुल ३९ खेल हुने प्रतियोगितामा पहिलो हुने वडाको टीमले नगद १ लाखसहित शिल्ड, मेडम, प्रमाण पत्र, दोस्रो हुने वडाको टीमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछ ।