Ad Area

घोराही मेयर कप फुटबलमा क्वाटर फाईनल पुग्ने ६ टीमको टुंगो


घोराही, १४ पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड प्रतियोगितामा दशौँ दिनको खेल सम्पन्न हुँदा अन्तिम आठमा पुग्ने ६ टीमको टुंगो लागेको छ । घोराही १८ नवलपुर फुटबल मैदानमा आईतबार समुह सी र डी मा रहेका टीमको खेल सम्पन्न हुँदा अन्तिम आठमा पुग्ने ६ टीमको टुंगो लागेको हो । जस अनुसार वडा नम्बर वडा नम्बर २, ३, १३, १४, १५, १८ क्वाटर फाईनल प्रवेश गरेका छन् ।

समुह बी बाट वडा नम्बर १८ समुह विजेता, वडा नम्बर ३ समुह उपविजेता हुँदै अन्तिम आठमा सबैभन्दा पहिले प्रवेश गरेका हुन् । यसैगरी, आईतबार भएको समुह सी अन्तरगत लिगको २७ औँ खेलमा वडा नम्बर २ ले वडा नम्बर ५ लाई २–० गोल अन्तरले हराउँदै समुह उपविजेता भएर अन्तिम आठमा प्रवेश गरेको छ । वडा नम्बर २ ले कुल ४ अंक जोड्दै अन्तिम आठमा पुग्दा सो समुहबाट समुह विजेता भएर वडा नम्बर १४ कुल ९ अंकका साथ अपराजित रहँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।

लिगत चरणको २६औँ खेलमा आईतबार बिहान वडा नम्बर १५ ले वडा नम्बर ४ लाई ७–० गोलले हराएको छ । योसँगै समुह डी बाट वडा नम्बर १५ कुल १० अंकका साथ समुह विजेता हुँदै अन्तिम आठमा प्रवेश गरेको छ ।

यसैगरी, आईतबार नै भएको लिग चरणको २८औँ खेलमा वडा नम्बर १३ ले वडा नम्बर ८ लाई १४–० गोलको फराकिलो अन्तरले हराउँदै कुल ९ अंकका साथ समुह उपविजेता हुँदै अन्तिम आठमा प्रवेश गरेको छ । यो समुहबाट वडा नम्बर ८ र १७ ले खेल्न बाँकी रहेपनि दुवैको हार जीतले अंक तालिकामा प्रभाव पार्न सक्ने छैन ।

प्रतियोगिता अन्तरगत समुह ए मा रहेका कुल पाँच टीमबाट अझै तीन खेल हुन बाँकी छ । यो समुहबाट वडा नम्बर १, ६ र १६ मध्ये दुई टीम अन्तिम आठमा पुग्नेछन् । आईतबारसम्मको अवस्थामा वडा नम्बर १ ले दुई खेलबाछ ४ अंक जोडेको छ । उसले अझै वडा नम्बर ६ र ११ सँग खेल्न बाँकी छ । यसैगरी, वडा नम्बर ६ ले ३ खेलबाट ६ अंक जोडेको छ । उसले अब वडा नम्बर १ सँग खेल्न बाँकी छ । यसैगरी, वडा नम्बर १६ ले ३ खेलबाट ७ अंक जोडेको छ भने उसले अब वडा नम्बर ७ सँग खेल्न बाँकी छ । अंक तालिको शीर्ष दुईमा पर्ने टीम जारी प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गर्नेछन् ।

अन्तिम आठमा पुग्ने ६ टीमको टुंगो लागेसँगै साविक विजेता वडा नम्बर १७ र उपविजेता वडा नम्बर १० लिग चरणबाटै बाहिरिएका छन् ।
पालिकाभरका कुल १९ वडा मध्ये वडा नम्बर ९ बाहेक सबै वडाको सहभागीता रहेको छ । लिग चरणका ४ खेल बाँकी रहँदा समुह बी बाट वडा नम्बर १२, १९, समुह सी बाट वडा नम्बर ५, १० तथा समुह डी बाट वडा नम्बर ८, ४ र १७ लिग चरणबाट बाहिरिएका छन् । समुह ए बाट वडा नम्बर ७ एक खेल अगावै बाहिरिएको छ ।

चार समुहमा विभाजन गरी खेलाईएको लिग कम नकआउट प्रतियोगितामा समुह बी र सी का सबै खेल सकिएका छन् । अब समुह ए बाट ३ खेल र समुह डी बाट १ खेल हुन बाँकी छ । जारी प्रतियोगितामा दशौँँ दिनसम्मको लिग चरणका २८ वटा खेल सकिँदा कुल १ सय ४१ गोल भएको छ ।

घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबार पनि लिग चरणका २ खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार दिउँसो १ बजेपछि वडा नम्बर ६ र १ बिच र वडा नम्बर ७ र १६ बिच अपरान्ह ३ बजे खेल हुने छ ।

प्रतियोगिता अन्तरगतका लिग चरणका खेलहरु पुस १६ गतेसम्म हुनेछ । चार समुहमा विभाजन गरी खेलाईएको लिगकम नकआउट प्रतियोगितामा समुहको उत्कृष्ट दुईमा पुग्ने टीम क्वाटर फाईनलमा जानेछ । क्वाटर फाईनलका खेल पुस १८ र १९ गते हुनेछ ।

पुस ५ गतेदेखि शुरु भएको प्रतियोगिताको सेमीफाईनल खेल पुस २१ गते हुनेछ भने फाइनल खेल पुस २३ गते हुनेछ । कुल ३९ खेल हुने प्रतियोगितामा पहिलो हुने वडाको टीमले नगद १ लाखसहित शिल्ड, मेडम, प्रमाण पत्र, दोस्रो हुने वडाको टीमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछ ।