स्क्रिनिङ शिविरबाट भेटिए ७८ जना सिकलसेल एनिमिया पोजिटिभ
लमही, १५ पुस । लमही नगरपालिका वडा नम्बर ८ सतबरिया स्वास्थ्यचौकीमा गरिएको निशुल्क सिकलसेल एनिमिया जाँच शिविरमा स्क्रिनिङ गर्दा ७८ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको छ ।
ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना, लमही नगरपालिकाको समन्वय तथा आत्मनिर्भर लुघवित्त वित्तीय संस्था लिमिटेडको सहकार्य एवम् मेट लाईफ नेपालको सहयोगमा सोमबार आयोजित निशुल्क सिकलसेल एनिमिया जाँचसम्बन्धी निशुल्क शिविरमा परिक्षणका लागि पुगेको ५ सय ७८ जनाको रगत स्क्रिनिङ गर्दा ७८ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको छ ।
स्क्रिनिङ गरिएका मध्ये १३ दशमलव ५८ प्रतिशतमा सिकलसेल एनिमिया देखिएपछि सो क्षेत्रमा थप संक्रमित हुन सक्ने आशंका गरिएको छ । निशुल्क सिकलसेल एनिमिया जाँच शिविरमा लमही नगरपालिका वडा नम्बर ७, ८ र ९ का स्थानीय चौधरी समुदायका नागरिक सहभागी भएका थिए ।
स्क्रिनिङ गर्दा धेरैमा सिलकसेल पोजिटिभ देखिएकाले डिजिज वा ट्रेट पहिचान गरी उपचारमा सहजता ल्याउन पहल हुने आयोजकले जनाएको छ । समुदायमा सिकलसेलकै कारण कैयौले उपचारका क्रममा ठूलो धनराशी खर्चेको, घरपरिवारमा आर्थिक संकट देखिएको, जन्मिने बालबालिकामा समेत सक्रमण देखिने अवस्था बढ्दै जान थालेपछि यसको रोकथाम गर्न रोगी पहिचान गर्न थालिएको ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले जानकारी दिनुभयो । आत्मनिर्भर र सशक्त समाजको परिकल्पनाका साथ काम गर्दै आएको संस्थाले स्वास्थ्य सुधारको प्रयास स्वरुप यो अभियान अघि बढाईएको बताउनुभयो ।
स्क्रिनिङ गर्दा पोजिटिभ देखिएकोहरुको वाहक वा संक्रमित कुन हो अवस्था पत्ता लगाउन थप परिक्षणको काम अघि बढाईने र आवश्यक परामर्शको काम पनि हुने बताईएको छ ।
यसअघि जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा पनि अघिल्लो वर्षको असारमा ४ सय १२ जनाको स्क्रिनि« गर्दा ४१ जनामा पोजिटिभ देखिएको थियो ।
जिल्लाको घोराही, तुलसीपुर, लमही, राप्ती, गढवा, राजपुर, दंगीशरणलगायत चौधरी समुदायको बसोबास भएको ठाउँमा सिकलसेल एनिमियाका बिरामी भेटिने गरेको छ ।
आयोजित निशुल्क शिविर उदघाटनमा लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले रोग लुकाएर बस्न नहुने भन्दै आफ्नो र आउने पुस्ताका लागि स्वास्थ्य परिक्षण अनिवार्य भएको बताउनुभयो ।
सिकलसेल रोगकै कारण आर्थिक अवस्था कमजोर हुने परिस्थिती नहोस् भन्ने उद्देश्यका साथ सहयोगी संस्थाहरुको सहकार्यमा गरिएको शिविरले पालिकाको स्वास्थ्य सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अवस्था पहिचान गरी रोगको उपचारमा सघाउ पुर्याउन र रोग पालेर अरुमा सार्ने अवस्थाको अन्त्य गर्न यो अभियानले सघाउने लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले बताउनुभयो ।
जिल्लाका सबै पालिकाका वडा वडामा सिकलसेल एनिमिया पहिचान गरी रोकथामका लागि धेरै जनाको स्क्रिनिङ गर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मी बताउँछन् ।
शिविरमा सतबरिया स्वास्थ्य चौकी, लमही अस्पताल, सिसहनिया स्वास्थ्य चौकी लगायतको स्वास्थ्यकर्मी टोलीले सहयोग गरेको छ । शिविरमा लमही अस्पताल ल्याव टेक्निसियन ध्रुव पण्डित, ल्याव टेक्निसियन निरिक्षक हिमाल आचार्य, सिसहनिया स्वास्थ्य चौकीका ल्याव असिस्टेन्ट, असिस्टेन्टहरु संगिता चौधरी, सुलोचना चौधरी र दुर्गेसी चौधरीले शिविरमा सिकसेल परिक्षण गर्नुभएको हो ।
सतबरिया स्वास्थ्य चौकीका इन्चार्ज ठाकुर भट्टराईको स्वागत एवम् विषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सहजीकरण ग्रामीण महिला उत्थान केन्द्रका पार्वती बस्नेतले गर्नुभएको थियो ।