Ad Area

मेयर कप फुटबलमा क्वाटर फाईनल पुग्ने ७ टीमको टुंगो


घोराही, १५ पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगितामा लिग चरणको एघारौँ दिनको २९औँ खेलमा वडा नम्बर ७ र ३० औँ खेलमा वडा नम्बर ६ विजयी भएका छन् ।

घोराही १८ नवलपुर फुटबल मैदानमा समुह ए मा रहेका वडाहरु बीच साेमबार भएको खेलमा वडा नम्बर ७ ले १६ लाई २–१ गोल अन्तरले हराएको छ । वडा नम्बर ७ का लागि सुधीर चौधरी र आयुष चौधरीले १–१ गोल गर्दा वडा नम्बर १६ का लागि मनिषसिंह ठकुरीले १ गोल गरे । जीतसँगै वडा नम्बर ७ ले ४ अंक जोडे पनि लिग चरणबाट बाहिरिएको छ ।

यसैगरी, लिग चरण अन्तरगत दिउँसो भएको अर्को खेलमा वडा नम्बर ६ ले वडा नम्बर १ लाई २–१ गोलले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । वडा नम्बर ६ का लागि सुरेन्द्र भण्डारी र रुपेश घर्ती मगरले १–१ गोल गर्दा वडा नम्बर १ का लागि बासुदेव रावतले १ गोल गरे । वडा नम्बर १ सँगको जीतसँगै वडा नम्बर ६ ले ९ अंक जोड्दै समुह ए को विजेता हुँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

सो समुहबाट अन्तिम आठमा पुग्ने अन्तिम टीमको टुंगो मंगलबार हुने खेलबाट लाग्नेछ । बंगलबार वडा नम्बर ११ र १ बीचको खेलले वडा नम्बर १ वा वडा नम्बर १६ मध्येबाट कुन टीम अन्तिम आठमा प्रवेश गर्ने यकिन हुनेछ । ४ खेलबाट वडा नम्बर १६ को ७ अंक छ भने ३ खेलबाट वडा नम्बर १ को ४ अंक छ ।

प्रतियोगिताको अन्तिम आठमा पुग्ने ७ टीमको टुंगो लागेको छ । यसअघि वडा नम्बर वडा नम्बर २, ३, १३, १४, १५, १८ क्वाटर फाईनल प्रवेश गरेका छन् । साेमबारको खेलमा जीत हासिल गरेसँगै वडा नम्बर ६ ले पनि क्वाटर फाईनलमा स्थान सुरक्षित गरेको हो ।

पालिकाभरका कुल १९ वडा मध्ये वडा नम्बर ९ बाहेक सबै वडाको सहभागीता रहेको छ । लिग चरणका अब २ खेल बाँकी रहँदा समुह ए बाट वडा नम्बर ७ र ११, समुह बी बाट वडा नम्बर १२, १९, समुह सी बाट वडा नम्बर ५, १० तथा समुह डी बाट वडा नम्बर ८, ४ र १७ लिग चरणबाट बाहिरिएका छन् ।

चार समुहमा विभाजन गरी खेलाईएको लिग कम नकआउट प्रतियोगितामा समुह बी र सी का सबै खेल सकिएका छन् । अब अब समुह ए बाट १ खेल र समुह डी बाट १ खेल हुन बाँकी छ । जारी प्रतियोगितामा एघारौैँँ दिनसम्मको लिग चरणका ३० वटा खेल सकिँदा कुल १ सय ४७ गोल भएको छ ।

घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत मंगलबार पनि लिग चरणका अन्तिम २ खेल हुने नगर खेलकुद विकास समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार दिउँसो १ बजेपछि वडा नम्बर ८ र १७ बिच र वडा नम्बर ११ र १ बिच अपरान्ह ३ बजे खेल हुने छ । चार समुहमा विभाजन गरी खेलाईएको लिगकम नकआउट प्रतियोगितामा समुहको उत्कृष्ट दुईमा पुग्ने टीम क्वाटर फाईनलमा जानेछ । क्वाटर फाईनलका खेल पुस १८ र १९ गते हुनेछ ।

पुस ५ गतेदेखि शुरु भएको प्रतियोगिताको सेमीफाईनल खेल पुस २१ गते हुनेछ भने फाइनल खेल पुस २३ गते हुनेछ । कुल ३९ खेल हुने प्रतियोगितामा पहिलो हुने वडाको टीमले नगद १ लाखसहित शिल्ड, मेडम, प्रमाण पत्र, दोस्रो हुने वडाको टीमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछ ।