Ad Area

घोराहीमा हुने माघ सांस्कृतिक महोत्सवको तयारी पूरा


घोराही, १८ पुस । थारु समुदायको कला संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव हुने भएको छ । माघ साँस्कृतिक महोत्सव पुसको १८ गते साँझदेखि सुरु भएर पुसको २० गतेसम्म तीन दिन सञ्चालन हुने भएको हो ।

तीन दिनसम्म सञ्चालन हुने माघ साँस्कृतिक महोत्सवको तयारी पूरा भएको आयोजक थारु कल्याणकारिणी सभा दाङले जनाएको छ । आयोजकले विहीवार महोत्सव आयोजक स्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर माघ साँस्कृतिक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको थारु कल्याणकारिणीसभा दाङ अध्यक्ष समेत रहेका माघ साँस्कृतिक महोत्सव मुल आयोजक समितिका संयोजक अशोक चौधरीले जानकारी दिएका छन् ।

संयोजक चौधरीका अनुसार थारु भाषा, कला, संस्कृति लोप हुँदै गइरहेको अवस्थामा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले माघ साँंस्कृतिक महोत्सवको आयोजना गरिएको बताए । माघ साँस्कृतिक महोत्सवको पहिलो दिन विहीवार साँझ घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको उपस्थीतिमा थारु समुदायको लोपोउन्मुख अवस्थामा रहेको ढुम्रु गीत गाउने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिका संयोजक चौधरीले बताए ।

त्यससँगै माघ साँस्कृतिक महोत्सवमा थारु नृत्य, थारु हस्तकलासँगै थारु परिकारहरु माछा, घोंगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकार राखिने भएको छ । त्यसका लागि करिव डेढ दर्जन बढी स्टलहरु राखिएको छ । थारु कला सस्कृतिसँगै हस्तकला र खानाका परिवारहरु प्रदर्शनसँगै बिक्री वितरणका लागि राखिने उनले बताए ।

माघ महोत्सव लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रवार उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक चौधरीले बताए । कार्यक्रम उद्घाटन पूर्व घोराहीमा थारु कला संस्कृति झल्कने झाँक्रिसहितको ¥यालीले बजार परिक्रममा गर्ने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

कल्याणकारिणी सभा दाङको आयोजना, थारु कल्याणकारिणी क्षेत्र नं. २, मतहवा महासंघ दाङ,थारु पत्रकार संघ दाङलगायतको सहआयोजना तथा घोराही उपमहानगरपालिका र पर्यटन विकास परिषद लुम्बिनी प्रदेशको मुख्य सहयोगमा महोत्सव हुन थालेको हुन थालेको हो । थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष अशोक चौधरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार सन्तोष दहितले गरेका थिए ।