Ad Area

अग्रज साहित्यकार पोख्रेल सम्मानित


घोराही, २५ पुस ।नेपाली लेखक संघ दाङले साहित्य, पत्रकारिता, राजनीतिसँगै शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै अग्रज साहित्यकार विनोद पोख्रेललाई सम्मान गरेको छ । प्रजातान्त्रिक विचारलाई संस्थागत गर्न विभिन्न संघसंस्था स्थापना गरेर महत्वपूर्ण योगदान दिएबापत अग्रज साहित्यकार पोख्रेललाई सम्मान गरिएको हो ।

नेपाली लेखक संघ दाङका अध्यक्ष डा हिमलाल पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालले सम्मान गरेका थिए । गोरक्ष राष्ट्रिय दैनिकका सल्लाहकार रहेका पोख्रेल नेपाल पत्रकार महासंघ दाङ, राप्ती साहित्य परिषद्, लेखक संघ दाङ, नेपाल प्रेस युनियन दाङका संस्थापक हुन् । उनी नेपाल शिक्षक संघ दाङ र वीपी चिन्तन केन्द्रका संस्थापक अध्यक्ष हुन् । उनले अम्बिकेश्वरी मन्दिर संरक्षण तथा प्रवर्धन समितिको अध्यक्षका रूपमा काम गरिसकेका छन् ।

जिल्लाका विभिन्न विद्यालयमा शिक्षक सेवा गरेका उनी मावि रझेना र तत्कालीन रात्रि मावि रझेनाका प्रधानाध्यपाक भइरहेका छन् । २०१० सालमा घोराही उपमहानगरपालिका–४ डाँडागाउँमा जन्मिएका पोख्रेलले जय नेपाल, दृष्टिकोण, सरयु, चारतारा, राप्ती सन्देश साप्ताहिक पत्रिकाको सल्लाहकार सम्पादक भूमिका निर्वाह गरिसकेका छन् भने हाल रेडियो स्वर्गद्वारी र गोरक्ष राष्ट्रिय दैनिकको सल्लाहकार सम्पादकको भूमिकामा रहेका छन् ।

पोख्रेल बनारस हिन्दु विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक गरेका छन् । गोरक्ष दैनिकमा प्रत्येक शनिवार नियमित रूपमा लेख्दै आएका पोख्रेलको ‘मेरो बिहानी’ कविता सङ्ग्रह प्रकाशित छ । नेपाली लेखक संघ दाङले यसअघि साहित्यकार सुशील गौतम ‘हापुर’लाई सम्मान गरेको थियो ।