Ad Area

प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई स्वागत


दाङ,२५ पुस । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अध्ययनरत बिएनएस, बिएस्सि नर्सिङ र एमबिबिएस बिद्यार्थीलाई स्वागत गरिएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, निमित्त शिक्षाध्यक्ष प्रा डा वसन्त लामिछाने, रजिष्ट्रार प्रा.श्याम लम्साल, निमित्त डिन डा. रमेश कडेल, निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थीले विद्यार्थीलाई खादा, माला, टिकालगाएर स्वागत गरेका हुन ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका उपकुलपति डा. लामिछानेले प्रतिष्ठानको भौतिक पूर्वाधारले सम्पन्न गर्न वर्तमान नेतृत्व अत्यन्तै क्रियाशिल भएर लागेको बताए । प्रतिष्ठानमा चार सय बेडको टिचिङ्ग अस्पतालको भवन प्रधानमन्त्रीबाट शिलन्यास गर्ने गरी तयारी भइरहेको बताएका छन् ।

प्रतिष्ठानको समग्र विकासका लागी जिल्लाका राजनीतिक दल, नागरिक समाज, सरोकारवाला पक्ष सकारात्मक रुपमा लागिपरेको भन्दै दाङलाई मेडिकल हवका रुपमा विकास गर्ने गरी साझा योजना तथा रणनीति बनाएर अघि बढ्नुपर्नेमा बताए । प्रतिष्ठानका निमित्त शिक्षाध्यक्ष प्राडा. वसन्त लामिछानेले एमविविएस र नर्सिङका विद्यार्थीहरुलाई पढाइ र बसाइको शिलशिलामा कुनै कमजोरी नहुने गरी तयारी गरिएको बताए । जिल्लामै एमविविएस, नर्सिङ पढ्न पाउनु अत्यन्तै सुखद कुरा भएको भन्दै स्वास्थ्य क्षेत्रमा दाङ अघि बढ्दै गएको प्रतिष्ठानले समग्रमा सन्देश दिन सफल भएको बताए ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले एमविविएस र नर्सिङको पढाई गर्नेगरी पुर्वाधार, कार्यक्रम अघि बढ्नु राम्रो भएको भन्दै यसले जिल्लाको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने बताए ।प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थीले एमविविएस पढाइ सञ्चालन गर्नका निमित्त आफु लगातार लागी परेको भन्दै प्रतिष्ठानको विकासका लागी सवैसँग समन्वय गरेर अघि बढिरहेको बताए ।

कार्यक्रममा एमविविएस कोर्डिनेटर डा. निरज पाण्डे र स्कुल अफ नर्सिङ कलेजकी प्रिन्सीपल प्रा.अम्विका पौडेलले विद्यार्थी र अभिभावकलाई एमविविएस र नर्सिङको तयारी कक्षाका वारेमा जानकारी गराएकी थिइन ।