Ad Area

प्रधानमन्त्री कप प्रदेश महिला क्रिकेट छनोट प्रतियोगितामा बाँके ७८ रनले विजयी


लमही, २६ पुस । प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत दोस्रो दिनको खेलमा बाँके विजयी भएको छ ।

लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा बिहीबारदेखि दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुरु भएको प्रदेश स्तरीय छनोट प्रतियोगितामा शुक्रबार बिहान भएको पहिलो खेलमा बाँकेले पाल्पालाई ७८ रनले पराजित गरेको छ ।

लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागीतामा टी–२० छनोट प्रतियोगितामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बाँकेले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनायो ।

बाँकेकी सुस्मिता बजगाइँले बिस्फोटक पारी खेल्दै अविजित ३७ बलमा ५९ रन बनाउनुभयो । यस्तै, ओपनर रञ्जु श्रेष्ठलेले ३९ रनको योगदान दिदै रनआउट हुनुभयो । स्वस्तिका बजगाइँले ११ रन बनाउनुभयो । पाल्पाकी रमा न्यौपाने र कविता छहारीले १–१ विकेट लिनुभयो ।

१ सय ४२ रनको विजयी लक्ष्यका साथ मैदानमा जवाफी ब्याटिङ गर्न उत्रिएको पाल्पा पूरै ओभरमा खेल्दै ६ विकेटको क्षतिमा ६३ रनमात्रै बनायाे । पाल्पाका लागि मोना थापा क्षेत्रीले १६ रन बनाउनु बाहेक अरु खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।

पाल्पालाई सस्तैमा समेट्न बाँकेकी सम्झना पुनले ३ ओभरमा १३ रन खर्चिएर २ विकेट लिनुभयो भने मनिषा रानाले ३ ओभरमा १ मेडनसहित ४ रन दिएर १ विकेट लिनुभयो । प्रतियोगितामा बाँकेकी सुस्मिता बजगाइँ प्लेयर अफ द म्याच हुनुभएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी दिनुभयो । लगातार दुई हार व्यहोरेको पाल्पा छनोट प्रतियोगिताबाट बाहिरिएको छ । बाँकेले विजयी शुरुवात गरेको छ ।

यसैगरी, दोस्रो खेलमा शुक्रबार दिउँसो नवलपरासी र रुपन्देही बीच खेल भईरहेको छ । टस जितेर नवलपरासीले पहिले ब्याटिङ गरिरहेको छ ।