प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला छनोट क्रिकेटमा बाँके र रुपन्देही विजयी
लमही, २६ पुस । प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत दोस्रो दिन शुक्रबार भएको खेलमा बाँके र रुपन्देही टीम विजयी भएका छन् ।
लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी प्रदेश स्तरीय छनोट प्रतियोगितामा शुक्रबार बिहान भएको खेलमा बाँकेले पाल्पालाई ७८ रनले र रुपन्देहीले नवलपरासीलाई १० विकेटले पराजित गरेको हो ।
लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागीतामा टी–२० छनोट प्रतियोगितामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बाँकेले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनायो ।
बाँकेकी सुस्मिता बजगाइँले बिस्फोटक पारी खेल्दै अविजित ३७ बलमा ५९ रन बनाउनुभयो । यस्तै, ओपनर रञ्जु श्रेष्ठलेले ३९ रनको योगदान दिदै रनआउट हुनुभयो । स्वस्तिका बजगाइँले ११ रन बनाउनुभयो । पाल्पाकी रमा न्यौपाने र कविता छहारीले १–१ विकेट लिनुभयो ।
१ सय ४२ रनको विजयी लक्ष्यका साथ मैदानमा जवाफी ब्याटिङ गर्न उत्रिएको पाल्पा पूरै ओभरमा खेल्दै ६ विकेटको क्षतिमा ६३ रनमात्रै बनायो । पाल्पाका लागि मोना थापा क्षेत्रीले १६ रन बनाउनु बाहेक अरु खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।
पाल्पालाई सस्तैमा समेट्न बाँकेकी सम्झना पुनले ३ ओभरमा १३ रन खर्चिएर २ विकेट लिनुभयो भने मनिषा रानाले ३ ओभरमा १ मेडनसहित ४ रन दिएर १ विकेट लिनुभयो । प्रतियोगितामा बाँकेकी सुस्मिता बजगाइँ प्लेयर अफ द म्याच हुनुभएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी दिनुभयो । लगातार दुई हार व्यहोरेको पाल्पा छनोट प्रतियोगिताबाट बाहिरिएको छ । बाँकेले विजयी शुरुवात गरेको छ ।
यसैगरी, दोस्रो खेलमा शुक्रबार दिउँसो भएको खेलमा रुपन्देहीले नवलपरासीलाई १० विकेटले पराजित गरेको छ । टस जितेर नवलपरासीले पहिले ब्याटिङ गरेको नवलपरासीले सम्हालिएर खेल्न नसक्दा १५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ४४ रन मात्रै बनायो । नवलपरासीका लागि सुम्निमा नेपालीले ९ रन र वन्दना बिकले ३ रन बनाउनु बाहेक अरु खेलाडी क्रिजमा टिक्न सकेनन् ।
नवलपरासीलाई सस्तैमा समेट्न सन्ध्या चापागाईंले कसिलो बलिङ गर्दै २ ओभरमा १ मेडनसहित २ रन दिएर महत्त्वपूर्ण ३ विकेट लिनुभयो । यसैगरी, सरु तिवारीले ४ ओभरमा १८ रन दिएर २ विकेट, सीमा थापाले ३ ओभरमा १ मेडनसहित ५ रन दिएर २ विकेट तथा कविता खड्काले ३ ओभरमा ५ रन दिएर २ विकेट लिनुभयो ।
४५ रनको सामान्य लक्ष्य पछ्याएको रुपन्देहीले ६ दशमलव २ ओभरमा १० विकेटको सहज जित निकाल्यो । रुपन्देहीका लागि श्रुति बुढाथोकीले २६ रन र एन्जिला पाठकले १० बनाउनुभयो । टीमलाई जित दिलाउने आधार खडा गर्नुभएकी रुपन्देहीकी सन्ध्या चापागाईं प्लेयर अफ द म्याच हुनुभएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव रोका मगरले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तरगत अब शनिबार दाङ र बाँके बीच बिहान खेल हुँदा दिउँसो रुपन्देही र बर्दिया बीच खेल हुनेछ ।
यस्तै, पुस २८ गते समुह ‘ए’ को विजेता र समुह ‘बी’ को उपविजेता बीच बिहान पहिलो सेमिफाईनलको खेल हुनेछ भने दिउँसो समुह ‘बी’ को विजेता र समुह ‘ए’ को उपविजेता बीच दोस्रो सेमिफाईनल खेल हुनेछ । छनोट प्रतियोगिताको फाईनल खेल पुस २९ गते हुने सचिव रोका मगरले जानकारी दिनुभयो ।
महिला क्रिकेट छनोट प्रतियोगितामा समुह ‘ए’ मा रुपन्देही, नवलपरासी र बर्दिया रहेका छन् भने समुह ‘बी’ मा दाङ, बाँके र पाल्पा रहेका छन् । क्यानको क्यालेन्डर अनुसार प्रदेश क्रिकेट संघले आयोजनामा शुरु भएको छनोट प्रतियोगितामा प्राविधिक सहयोग दाङ क्रिकेट संघले गरेको छ ।
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । त्यसको तयारी स्वरुप लुम्बिनी प्रदेश स्तरीय छनोट प्रतियोगिता शुरु भएको हो । माघमा हुने प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपीएफसहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै ८ वटै टोलीले एकअर्कासँग खेल्ने छन् र अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।
यस्तै, तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछ । यसमा विजयी हुने पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ । पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।