Ad Area

प्रधानमन्त्री कप लुम्बिनी प्रदेश महिला छनोट क्रिकेटको च्याम्पियन बन्याे दाङ


लमही, २९ पुस । प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिताको फाईनलमा दाङले बाँकेलाई ४ विकेटले हराउँदै छनोट प्रतियोगिताको फाईनल जितेको छ ।

लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी प्रतियोगिता अन्तरगत सोमबार भएको प्रदेश स्तरीय छनोट फाईनल खेलमा दाङ प्रतियोगितामा अपराजित रहँदै फाईनल जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बाँकेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन बनाएको थियो । शुरुवाती ब्याटर आउट हुँदै पेभेलियन फर्किएपछि बाँकेका खेलाडीलाई रन बनाउन संघर्ष गर्नु पर्याे ।  कप्तान मनिषा रानाले अविजित १८ रन बनाउँदै टीमलाई उकास्ने कोशिस गर्नुभयो ।

सुस्मिता बजगाईले १ छक्कासहित १२ रन, सम्झना पुन मगरले ९ रन, आशिका विश्वकर्माले ११ रन, स्वस्तिका बजगाईले ६ रन, सुरक्षा पुन मगरले ५ रन, आईसा शाहीले अविजित ४ रन तथा रञ्जु श्रेष्ठले २ रनको योगदान दिनुभयो । बाँकेलाई कम स्कोरमा समेट्न आस्ना चौधरीले दोस्रो ओभरको अन्तिम बलमा रञ्जु श्रेष्ठलाई बोल्ड गरेपछि बाँकेको टिम दवावमा परेकोे थियो ।

बलिङमा दाङकी अनिता चौधरी, आस्ना चौधरी र मधु डिसीले समान २–२ विकेट लिनुभयो । सुप्रिया बुढा मगरको नाममा १ विकेट रह्यो । ८६ रनको मध्यम स्कोरको लक्ष्य पछ्याएको दाङले जित हासिल गर्न अन्तिम ओभरसम्म संघर्ष गर्नु पर्याे । १९ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको दाङका लागि सरस्वती जिएमले कप्तानी पारी खेल्दै जित हासिल गरेको हो । छनोट प्रतियोगितामा खेलेका चार वटै खेलमा अविजित खेल्नु भएकी सरस्वतीले फाईनल खेलमा पनि ६१ बलमा ९ चौकासहित ५१ रनको अर्धसतकीय योगदान दिनुभयो ।

मधु डिसीले १४ रन, अनिता चौधरीले ५ रन, स्मृति मगरले अविजित ४ रन बनाउनुभयो । १२ दशमलव २ ओभरमा ५५ रन बनाएर खेली रहेको बेला लगातार दुई विकेट गुमाएपछि दवावमा परेको दाङको टीमलाई उकास्न रेनु परियार र कप्तान सरस्वती जिएमले २६ रनको साझेदारी गरेपछि टिम जित नजिक पुगेको थियो । बाँकेका स्वस्तिका बजगाईले ४ ओभरमा १ मेडनसहित १४ रन दिएर ३ विकेट लिनुभयो । यसैगरी, सम्झना पुनले २ विकेट लिँदा सुरक्षा पुनले १ विकेट लिनुभयो ।

प्रतियोगितामा दाङलाई जिताउन महत्वपूर्ण भुमिका खेल्नु भएकी सरस्वती जिएम प्लेयर अफ द फाईनल हुनु भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी दिनुभयो । विजेता र उपविजेता टीमलाई शिल्ड प्रदान गरिएको छ ।

फाईनलमा पुग्न बाँकेले रुपन्देहीेलाई ९ रनले तथा दाङले नवलपरासीलाई ७९ रनले पराजित गरेका थिए । लुम्बिनीका दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही र नवलपरासी जिल्लाको महिला टीमले छनोट प्रतियोगितामा भाग लिएका थिए ।

लुम्बिनीका ६ जिल्लाको सहभागीतामा पुस २५ गतेदेखि भएको छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीबाट प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेशको टीम तयार पारिनेछ ।

लुम्बिनीबाट ४ वैकल्पिकसहित १८ जनाको नाम सार्वजनिक हुनेछ । प्रतियोगिता खेल्न १४ खेलाडी, ३ जना अफिसियल जाने तयारी भएको प्रदेश सचिव रोका मगरले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुदैछ । राष्ट्रिय खेलकुद परिषदको आयोजना, नेपाल क्रिकेट संघको समन्वय तथा सुदूरपश्चिम प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा हुन लागेको प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपीएफसहित ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा सबै ८ वटै टोलीले एकअर्कासँग खेल्ने छन् र अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।

यस्तै, तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछ । यसमा विजयी हुने पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ । पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।

खेल अनुशासन कायम राख्दै अघि बढ्न आग्रह

लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगितामा सहभागी महिला क्रिकेटरलाई खेल अनुशासन कायम राख्दै खेलमा निरन्तरता दिन दिईएको छ ।

लुम्बिनी प्रदेश क्रिकेट सघका सचिव कैलाश रोका मगरको अध्यक्षतामा प्रतियोगिता समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि उपप्रमुख योगीले छनोट प्रतियोगिता आफैमा खेलाडीको निखार ल्याउन र खेलमा समर्पण गर्ने माध्यम रहेको भन्दै गन्तव्य चुम्ने लक्ष्यमा केन्द्रित हुन उहाँको आग्रह थियो । खेल पूर्वाधारलाई अधिकतम प्रयोगमा ल्याउने गरी खेलकुदका कार्यक्रमलाई ध्यानमा राखेर क्रिकेट संघसँग समन्वयको काम भईरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा लमही ५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदीले खेलकुदलाई राज्यले विशेष महत्व दिनुपर्ने बताउनुभयो । स्थानीय सरकारले गरिरहेको प्रयासलाई खेलाडीले अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । छनोट प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई लुम्बिनी प्रदेश सचिव रोकाले आभार प्रकट गर्नुभयो । समापन कार्यक्रमको सहजीकरण लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य बालकृष्ण खत्रीले गर्नुभएको थियो ।