राजनीति गर्नेले सत्ता र पदको लोभ गर्नु हुँदैन : नेता कोइराला
नेपाली कांग्रेसका पूर्वमहायमन्त्री डा।सशांक कोइरालाले राजनीति गर्नेले पदको लोभ गर्न नहुने बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी संघको लुम्बिनी प्रदेशस्तरीय प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीति जनताको सेवाका लागि भएकाले नेताहरूले सत्ता र पदको लोभ गर्न नहुने बताएका हुन् ।
राजनीतिमा लोभ पलायो भने जनताको सेवाभन्दा सुविधा प्राप्तिमा ध्यान जाने भएकाले त्यसले स्वयम् व्यक्तिसँगै पार्टीलाई कमजोर बनाउने कोइरालाको धारणा थियो । स्वास्थ्य क्षेत्रमा काम गर्दागर्दै जनताको सेवाका लागि आपूm राजनीतिमा आएको भन्दै कोइरालाले भने, ‘म चार पटक निर्वाचन जितेर सांसद भइसकेँ तर ममा अहिलेसम्म मन्त्री वा प्रधानमन्त्री बन्ने चाहना छैन । मेरो ध्यान देश र जनताको सेवा गर्नेमा छ । पद र सत्तामा मेरो कहिलै ध्यान गएन ।’ आफ्नो यही स्वभावका कारण जनताले निर्वाचन जिताउँदै आएको बताए । पार्टीको आगामी महाधिवेशनलाई लिएर नेताहरू लागे पनि आपूm पार्टी र जनताका लागि राजनीति गरेकाले पदलाई कहिलै प्राथमिकतामा नराखेको बताए ।
पार्टी वीपीको विचारभन्दा बाहिर गएको भन्दै कार्यक्रमका प्रमुख अतिथि रहेका कोइरालाले पार्टीलाई वीपीकै सिद्धान्तका आधारमा अघि बढ्नुपर्ने बताए । त्यसका लागि पार्टी नेतृत्वले गम्भीर रूपमा सोच्नुपर्ने नेता कोइरालाको भनाइ थियो । वीपी कोइरालाले पार्टीसँगै सरकार निर्माण गर्दा सबै क्षेत्रलाई समेटेर समावेशी रूपमा अघि बढाउने गरेको भन्दै कोइरालाले भने, ‘सबै क्षेत्रलाई समेट्ने गरी नीति बनाउनुपर्छ । आरक्षणको व्यवस्थाले पछाडि पारिएको समुदायको सम्मान हुँदैन ।’ कांग्रेसमा परिवर्तन हुन आवश्यक रहेको भन्दै नेता कोइरालाले नयाँ ढङ्गले कांग्रेसलाई अघि बढाउन स्ष्पट विचार र दृढ इच्छाशक्ति हुनुपर्ने बताए । निर्वाचनको हारजितमा फरक नपर्ने भन्दै उनले पार्टी चलाउन नेताहरूमा स्पष्ट विचार चाहिने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले प्रजातन्त्र एवम् लोकतन्त्रका लागि लड्ने योद्धाका कारण आजको कांग्रेस पार्टी बनेको भन्दै पार्टीमा प्रजातन्त्र सेनानी योद्धको महत्वपूर्ण भूमिका रहेको बताए । प्रजातन्त्र सेनानी संघ पार्टीको मातृ संस्था भएको भन्दै कार्यक्रमका विशिष्ट अतिथि गिरीले पार्टीलाई संगठित र एकताबद्ध बनाउँदै निर्वाचनमा पार्टीका नेतालाई विजयी गराउनका लागि समन्वयकारी भूमिका खेल्नुपर्ने बताए । साथै नेता गिरीले वर्तमान सत्तागठबन्धन सातबुँदे सहमतिकै आधारमा अघि बढ्नुपर्ने बताएका थिए ।
सातबुँदे सहमतिभन्दा दायाँबायाँ गरे वर्तमान सरकारको औचित्य सकिने भन्दै उनले संविधान संशोधन, राजनीतिक स्थायित्वलगायतका सहमति पूरा गर्न शीर्ष नेतृत्वले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सञ्जय गौतमले पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । परम्परागत ढङ्गले पार्टी अघि नबढ्ने भएकाले नयाँ परिस्थिति अनुसार पार्टीलाई अघि बढाउनुपर्ने आवश्यक रहेको भन्दै विशिष्ट अतिथि गौतमले भने, ‘नयाँ ढङ्गले पार्टीलाई अघि बढाउन आवश्यक छ ।
अहिलेकै अवस्थामा पार्टीलाई अघि बढाउन सक्ने अवस्था छैन, नेताहरूले बेलैमा सोच्नुपर्छ ।’ उनले आवश्यक परे पार्टीको विधान परिवर्तन गर्न तयार हुनुपर्ने भन्दै पार्टीसँगै भ्रातृ तथा शुभेच्छुक संघसंगठनलाई चलायमान बनाउने गरी विधान बनाउनुपर्ने बताए । विधानलाई समय अनुसार परिवर्तन गर्न नसके पार्टी चलाउन गाह्रो हुने बताए । चुनाव जित्ने नाममा अरू पार्टीसँग गठबन्धन गर्दा पार्टी संगठन कमजोर भएको भन्दै आगामी दिनमा एक्लै लड्ने गरी सोच्नुपर्ने बताए । ्
कार्यक्रममा विशिष्ट अतिथि कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले विगतमा भएका कमीकमजोरीलाई सुधार गरेर पार्टी निर्माणमा लाग्नुपर्ने बताए । प्रतिस्पर्धामा उत्रने तर जित्नेको अस्तित्व स्वीकार गर्न नसक्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए । अर्का विशिष्ट अतिथि केन्द्रीय सदस्य गोविन्द पोख्रेलले पार्टी संगठन निर्माणका लागि नयाँ ढङ्गले लाग्नुपर्ने बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले प्रजातन्त्र सेनानी संघको त्याग, तपस्या र बलिदानका कारण आजको कांग्रेस बनेको भन्दै इतिहास निर्माणमा योगदान गर्नेको कांग्रेसले सम्मान गर्नुपर्ने बताए । साथै सहभागीले पार्टी संगठनलाई बलियो बनाउनका लागि पार्टीसँगै भ्रातृ तथा शुभेच्छुक संघसंगठनलाई चलायमान बनाउन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, उपसभापति राजु खनाल, भुवन श्रेष्ठ, सहमहामन्त्री खगराज पाण्डेय, नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, संविधान सभा सदस्य अनिता देवकोटा, नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहाल, नेपाल तरुणदलका पूर्व अध्यक्ष विनोद कायस्थ, प्रदेश सभा सदस्य लोका विश्वकर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल प्रजातन्त्र सेनानी संघ लुम्बिनी प्रदेशका हरि सुवेदी ‘जरा’को अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अनन्तराम भट्टराईले गरेका थिए । आज ९सोमवार०सम्म चल्ने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।