Ad Area

सडक मानव सहयोगार्थ महायज्ञकालागि छलफल


घोराही, ४ माघ । सडक मानवहरुकोलागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा यही माघ १७ गतेदेखी घोराहीमा हुने महायज्ञको विषयमा जिल्ला प्रशासन कार्यालय र घोराही उपमहानगरपालिकासँग छलफल गरिएको छ ।

सडक मानव तथा सार्वजनिक स्थलहरुमा अलपत्र, बेवारिसे अवश्थामा रहेका खाना, नाना र छाना बिहिन वेवारिसे सडक मानवहरुको सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा माघ १७ गतेदेखी २४ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रको प्रांगणमा हुने ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१’ सञ्चालन को विषयमा मेयर र सिडिओसँग घेटघाट एवं छलफल गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीसँग छुट्टाछुट्टै भेटघाट गरिएको थियो । भेटका क्रममा मानव कल्याण समाजका संस्थापक अध्यक्ष सुमी मानवले मानव कल्याण समाजको परिचयसँगै महायज्ञको उद्धेश्यबारे जानकारी गराएका हुन । त्यस क्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सडक मानवको सेवा गर्ने उद्धेश्यकासाथ दाङमा शाखा विस्तार गरेर काम सुरुवात गर्दादेखि नै घोराही उपमहानगरपालिकाले सहयोग गर्दै आएको बताउदै यस महायज्ञलाई सफल बनाउनकालागि घोराही उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन ।

महायज्ञ सफल बनाउनकालागि घोराही उपमहानगरपालिका समन्वय सहकार्य गर्न तयार रहेको भन्दै तयारीलाई तीव्र रुपमा अगाडी बढाउन अनुरोध पनि गरेका छन् । मानव सेवा घरले सडक मानवहरुलाई आश्रय दिन थालेपछि दाङका सडकहरुमा वेवारिसे मानवहरु देखिन छाडेकोले यस अभियानलाई सहयोग गर्न उनले सम्पूर्ण घोराहीबासीहरुमा अनुरोध गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सडक मानवहरुलाई सेवा गर्ने उद्धेश्यकासाथ स्थापना भएको यस मानव कल्याण समाजले दाङमा पनि शाखा विस्तार गरेर सेवा प्रदान गरेकोमा धन्यवाद दिदै महायज्ञ सफलताको शुभकामना व्यक्त गरेका हुन । साथै महायज्ञ स्थल कर्मचारी मिलन केन्द्रको मैदान अवलोकन गर्दै महायज्ञलाई हरेक दृष्टिले जिल्ला प्रशासन कार्यालयले सहयोग गर्ने बताए ।

घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको मानव कल्याण समाज (सेवा घर)मा हाल ४ महिना बच्चादेखि ९० वर्षको ५२ जना व्यक्तीहरु रहेका छन् । सेवा घरमा रहेका धेरै व्यक्तिहरु मनोरोगी (मनोसामाजिक समस्याले ग्रस्त), अपाङ्गता भएका र सुस्तमनस्थिति लगायत विभिन्न रोगले ग्रस्त रहेका छन् ।

उनीहरुको प्रभावकारी सेवाको लागि हालसम्म नेपालीले गरेको मुठिदानबाट मात्र संचालन भैरहेको र सेवा घरको दिगो व्यवस्थापनको लागि आर्थिक स्रोत जुटाउन आवश्यक भएको हुँदा यस ज्ञान–विज्ञान महायज्ञको आयोजना गरिएको आयोजक मूल समितिका संयोजक चन्द्रराज पन्तले जानकारी दिएका छन् ।

यस श्रीमद्भागवत ज्ञान–विज्ञान महायज्ञमा आर्थिक सहयोगसँगै आफ्नो जन्मोत्सव, बिवाह उत्सव, ब्रतबन्ध, चौरासी, गुन्युचोली, पितृहरुको सम्झना वा यस्तै बिशेष पलहरुमा सेवा घरमा एक छाक भोजन वा कुनै विषयगत सेवा गरेर मानव कल्याण समाजलाई सहयोग गर्न सकिने मानव सेवा घरका संस्थापक अध्यक्ष सुमी मानवले जानकारी दिएकी छिन ।

त्रिपुरस्तरीय बृहत भेला सोमवार हुने

घोराही उपमहानगरपालिका १० नारायणपुरमा मानव कल्याण समाज दाङ शाखाले सञ्चालन गरेको सेवा घरको दिगो व्यवस्थापनकालागि त्रिपुरस्तरीय वृहत भेला गर्ने भएको छ । महायज्ञकालागि साविक त्रिपुर नगरपालिका स्तरीय बृहत भेला यही माघ ७ गते सोमवार हुने भएको हो ।

शुक्रवार नारायणपुरमा भएको भेलाले यही माघ ७ गते साविक त्रिपुर नगरपालिका, हालको घोराही उपमहानगरपालिका वडा न. ८, ९, १०, ११ र १२ लक्षित गरि बृहत भेला नारायणपुरमा गर्ने निर्णय गरेको हो । महायज्ञ आयोजक मूल समितिका संयोजक दानबहादुर बुढाथोकीको अध्यक्षतामा भएको भेलाले यस क्षेत्रको प्रतिनिधित्व गर्ने गरि विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।

उत्तमकुमार खनालको संयोजकत्वमा विद्यालय समन्वय उपसमिति, लक्ष्मी लम्सालको संयोजकत्वमा मातृशक्ति समन्वय उपसमिति, मोहन आचार्यको संयोजकत्वमा टोल विकास संस्था समन्वय उपसमिति, युवराज पोख्रेल संयोजक रहेको संघसंस्था समन्वय उपसमिति, जागेश्वर डाँगी संयोजक रहेको युवा परिचालन उपसमिति, अनिल बस्नेत संयोजक रहेको उद्योगी व्यवसायी समन्वय उपसमिति र सागर खनाल संयोजक रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।