Ad Area

माघे मेलाको तेश्रो दिन, श्याम रानालगायतका कलाकार आउँदै


भ्युमान पुन मगर

‎घोराही, ७ माघ । ‎घोराही उपमहानगरपालिका–१४ झिगौँरामा शनिवारदेखि सञ्चालित प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला २०८१ मा दर्शकको सहभागिता बढ्दै गएको छ । मेला अवलोकन तथा कलाकारहरुको प्रस्तुतीमा मनोरञ्जन लिने दर्शकको संख्या दैनिक वृद्धि हुँदै गएको हो ।

‎‎नेपाल मगर संघ घोराही नगर कार्यसमितिको आयोजनामा जारी मेलामा सोमवार आज चर्चित गायक श्याम रानालगायतका कलाकारहरु आउने भएका छन् । माघे मेलामा आज गायक रानासँगै गायक टेक बिसी,डान्सर रुविना अधिकारी, गायिका तथा चर्चित उद्घोषिका रुपा घर्ती मगर ,गायिका रेशमा पुन, गायक रोशन रत्गैया, गायिका बिष्णु सुनार,बिमला थापामगर,झरणा केसी, बर्षा मगर र बाबु रोकामगरलगायतका कलाकारको प्रस्तुति रहने मुल आयोजक समितिका संयोजक देवबहादुर बुढामगरले जानकारी दिएका छन् ।

‎सात दिनसम्म सञ्चालन हुने मेलाको आम्दानीबाट घोराही नगर मगर समितिले बहुउद्देश्यीय मगर सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखेको छ । मेलामा जातिगत भेषभुषाका स्टल तथा खानाका परिकार, बाल उद्यानलगायत स्टल राखिएको मेला प्रचारप्रसार समिति संयोजक कैलाश घर्तीमगरले जानकारी दिएका छन् । ‎मेलामा प्रवेशका लागि सर्वसाधारणलाई प्रतिव्यक्ति एक सय रुपैँया टिकटको व्यवस्था गरिएको छ ।