Ad Area

टाइमकार्ड पालना नगर्ने सय बढी सवारीसाधन कारबाहीमा


दाङ, ७ माघ । दाङमा १५ दिनको अवधिमा टाइमकार्ड पालना नगर्ने एक सय बढी सवारीसाधन कारबाहीमा परेका छन् । देउखुरीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–भालुबाङ सडकखण्डमा पर्ने नर्ती–भालुबाङ सडकखण्डमा टाइमकार्ड पालना नगर्ने एक सय १९ सवारीसाधन कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला सुरक्षा समिति दाङको पुस ११ गते बसेको बैठकबाट भएको निर्णयानुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–१ नर्तीदेखि राप्ती गाउँपालिका–१ भालुबाङ सडकखण्डमा सवारी दुर्घटना बढेपछि परीक्षणका क्रममा पुस १५ गतेदेखि लागु हुने गरी तीन महिनाका लागि बेलुकी ४ देखि ८ बजेसम्मका लागि टाइमकार्ड लागु गरेको हो ।

पुस १५ गतेदेखि माघसम्म १५ दिनको अवधिमा आठ हजार दुई सय १६ वटा सवारीसाधनलाई चेकजाँच गर्दा एक सय १९ वटा सवारीसाधन कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सेनाले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार १५ दिनको अवधिमा भालुबाङमा चार हजार चार सय ९६ वटा र नर्तीमा रहेको प्रहरीले तीन हजार छ सय एकवटा सवारी साधान चेकजाँच गरेका थिए ।

प्रहरी उपरीक्षक तिमिल्सेनाका अनुसार टाइपकार्ड लागु गरिएको क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटरका दरले सवारी साधन हिड्ने व्यवस्था गरिएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि टाइमकार्ड लागु गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक तिमिल्सेनाले भने, ‘गाडीको गति सीमित गर्दै चालकलाई सचेत बनाउन टाइमकार्ड लागु गरिएको छ, यो अवधिमा कुनै दुर्घटना भएका छैनन् ।’ टाइमकार्ड उल्लङ्घन गर्ने सवारी चालकलाई सचेत गराउनुका साथै उल्लङ्घन गरेको समयावधि बराबर गाडी होल्ड गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

साँझको समयमा राजमार्ग क्षेत्रमा भिडभाड हुने र तीव्र गतिका कारण सवारी दुर्घटना बढेपछि प्रहरीले करिब १५ किलोमिटर दुरीमा पुस १५ गतेदेखि चैत १५ गतेसम्मका लागि परीक्षणका लागि टाइमकार्ड लागु गरेको हो । टाइमकार्ड पालना गरे नगरेको भालुबाङ र नर्तीमा जाँच गर्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ । टाइमकार्ड लागु भएपछि दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि घोराही–तुलसीपुर सडकखण्डमा पनि दुर्घटना बढेपछि टाइमकार्ड लागु गरेको थियो । टाइमकार्ड लागु गरिए पनि कार्यान्वयनमा प्रहरीले चासो नदेखाएको भन्दै नागरिक स्तरबाट गुनासो आउने गरेको छ ।