Ad Area

लुम्बिनी प्रदेशका सय पर्यटकीय गन्तव्य


दाङ, ९ माघ । प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा उल्लेख गरेको लुम्बिनी प्रदेश सरकारले प्रदेशमा एक सय पर्यटकीय गन्तव्य तय गरेको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले प्रदेशका जिल्लामा रहेका एक सय पर्यटकीय गन्तव्य तय गरेको हो । यी गन्तव्य पर्यटन प्रवर्धनका लागि उपयुक्त थलोका रुपमा उल्लेख गर्दै मन्त्रालयले यी थलोहरूमा पर्यटकको सङ्ख्या वृद्धि गर्ने लक्ष्य लिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई यी गन्तव्यमा पु¥याएर प्रदेशको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने रणनीति बनाइएको छ ।

मूलतः प्रदेशमा भित्रिने बाह्य पर्यटकलाई यी सय गन्तव्यमध्ये सकेजति धेरै स्थानमा पु¥याउने गरी सरकारले पर्यटकीय एक सय गन्तव्य तय गरेको मन्त्रालयले जनाएको छ । ‘प्रदेशको समृद्धिको प्रमुख आधार भनेको पर्यटन क्षेत्र हो, यसर्थ यहाँको पर्यटन प्रवर्धन सरकारको प्रमुख कार्य रहँदै आएको छ’, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने, ‘यसका लागि हामीले प्रदेशका एक सय स्थान छनोट गरेर पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरेका छौँ, यी स्थानमा पर्यटकको आवागमन बढाउने लक्ष्य मन्त्रालयको छ ।’

मन्त्रालयले प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीमा १६ पर्यटकीय गन्तव्य तय गरिएको छ । मन्त्रालयका अनुसार रुपन्देहीका लुम्बिनी, भवानीपुर, देवदह, मर्चवारीमाइ मन्दिर, गैडहवा ताल, गजेडी दानापुर ताल, जितगढी किल्ला, मणिमुकुन्द पार्क, फूलबारी, पर्रोहा धाम, सैनामैना, प्रकटेश्वर महादेव मन्दिर, मुक्तिनाथ धाम, सन्तानेश्वर घाट, वनबाटिका÷बौद्ध बिहार, ग्लोबल पिस पार्क, मिलन पार्कलाई बुटवलका पर्यटकीय गन्तव्य सूचीमा राखिएको छ ।

यसैगरी कपिलवस्तुका तिलौराकोट, जगदिशपुर ताल, कपिलदेव, निग्लिहवा, गोटिहवा, कुदान, अरौराकोट, लम्बुसागर ताल, सिसहनियाँकोट, जगदिशपुर ताल, तौलेश्वर मन्दिर, रामघट, लक्ष्मण घाट, शिवगढी क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्य सूचीमा राखिएको छ । यसैगरी पाल्पाका १२ स्थललाई प्रमुख पर्यटकीय गन्तव्य सूचीमा राखिएको छ । मन्त्रालयका अनुसार रानी महल, ऋषिकेशव मन्दिर, राम्दीघाट, रानीघाट, श्रीनगर डाँडा, पाल्पादरबार सङ्ग्राहलय र भगवती मन्दिर, भैरवस्थान मन्दिर, नुवाकोट गढी, सिद्धबाबा मन्दिर, रामापिथेकस पार्क, माथागढी कौडे लेक र सत्यवती ताललाई पाल्पाका प्रमुख पर्यटकीय गन्तव्य सूचीमा राखिएको छ ।

यसैगरी गुल्मीका गुल्मी रेसुङ्गा, धुर्कोट दरबार, मालिका बाझकटेरी, सत्यवति, रिडी रुरु, विचित्र गुफा र खडगकोटलाई प्रमुख पर्यटकीय गन्तव्य तय गरिएको छ । यसैगरी अर्घाखाँचीका ११ स्थललाई प्रमुख पर्यटकीय स्थलको सूचीमा राखिएको छ । मन्त्रालयका अनुसार सुपादेउराली मन्दिर, पाणीनि तपोभूमि, अर्घा दरबार, नरपानी, परशुरामेश्वर बल्कोट पौवा, छत्रदेव देवालय, बलकोट देवालय, ठाडा डम्बरु दह, खाँची दरबार, मालारानी मन्दिर, नुवाकोट दरबारलाई अर्घाखाँचीका मुख्य पर्यटकीय गन्तव्य सूचीमा राखिएको छ ।

यसैगरी दाङका धारपानी धाम, बाह्रकुने दह, बगारबाबा धार्मिक क्षेत्र, दंगीशरण थारू सङ्ग्रहालय, अम्बिकेश्वरी मन्दिर, देवीकोट, जङ्गलकुटी, गोरक्ष रत्ननाथलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्य सूचीमा राखिएको छ । यसैगरी बाँकेका बाँके राष्ट्रिय निकुञ्ज, जय बागेश्वरी मन्दिर, बर्फेनी बाबा धाम, सन्तानेश्वर धामलाई प्रमुख पर्यटकीय गन्तव्य सूचीमा राखिएको छ । यसैगरी बर्दियाका बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुर बाबा मन्दिर, बढैया ताल, कृष्णसार संरक्षित क्षेत्र, रोल्पाका जलजला, युद्ध सङ्ग्रहालय, रक गार्डेन, होलेरी, गुरिल्ला पदमार्ग, तिलाचन दह, सुनछहारी, पूर्वी रुकुमका कमल दह, सुनदह, सिस्ने हिमाल, ढोरपाटन तकसेरा, चौरी लेक, पुथा हिमाललगायतका पर्यटकीय स्थललाई सरकारले प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सूचीमा राखेको छ ।

मन्त्रालयले यी पर्यटकीय स्थलमा पर्यटकको आवागमन बढाउन प्रचारात्मक कार्यक्रम गरिरहेको छ । यी स्थलको ऐतिहासिक, धार्मिक महत्वका बारेमा पर्यटकलाई जानकारी गराउने काम मन्त्रालयले गरिरहेको मन्त्रालय अन्तर्गत रहेको पर्यटन शाखा प्रमुख गणेश घिमिरेले जानकारी दिए । ‘हाम्रो मन्त्रालयका विभिन्न संयन्त्रमार्फत् मन्त्रालयले तय गरेका पर्यटकीय गन्तव्यमा पर्यटकको सहभागिता बढाउन प्रचारात्मक कार्यक्रमहरू गरिरहेका छन्’, घिमिरेले भने, ‘यी पर्यटकीय थलोमा सकेजति धेरै पर्यटक भित्राउन सके प्रदेशको पर्यटन क्षेत्रको प्रवर्धन बढोत्तरी हुनेछ ।’