Ad Area

दुवै मृगौला फेल उमेशलाई सहयोगको अपिल


टेकबहादुर पुन
लमही, ९ माघ । दुवै मृगौला फेल भएका उमेश सुनारले उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् । प्युठान मल्लरानी गाउँपालिका–४ निवासी ३० वर्षीय सुनारले मृगौला फेल भएपछि अहिले जीवन मरणको दोसाँधमा रहेको भन्दै उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका हुन् ।

बुवा सेते सुनार र आमा क्वारीदेवी सुनारको कोखबाट साइँला छोराको रूपमा जन्मिएका उमेश सुनार १० वर्ष वैदेशिक रोजगारबाट फर्किएका हुन् । राम्रो कमाइ भइरहेको समयमा बिरामी परेपछि स्वदेश फर्किएको भन्दै अहिले उपचारमा समस्या भइरहेको बताए । ‘विदेशमा अप्ठ्यारा चुनौतीसँग विजय हासिल गर्न सके पनि रोगसँग लड्न गाह्रो हुँदो रहेछ’, उनले भने, ‘उपचार गर्दा भएको सम्पत्ति सकियो, रोग अझै निको भएको छैन ।’

चार भाइमध्ये सबै अलग भइसकेका छन् । विदेशमै रहँदा पत्थरीको अप्रेसन भएको भन्दै त्यही निहुमा शरीर शिथिल हुँदै गएको र पेट दुख्ने समस्याले पिरोल्न थालेपछि जाँच गराउँदा मृगौलामा समस्या देखिएको बताए । विदेशबाट फर्किएपछि समस्या देखाउन भारतको लखनउसम्म पुगेको र त्यहाँ जाँच गर्दा पेटमा ‘पाइप’ भेटिएको र त्यही कारण मृगौलामा असर पुगेको चिकित्सकले बताएको बताउँछन् ।

घरको कमजोर आर्थिक अवस्था र कमाएको पनि पैसा उपचारमा सकिएपछि साथीभाइ, आफन्त र सहयोगी दाताको सहयोगको अपेक्षा गरेको बताए । विगत एक वर्षदेखि लमहीमा बसेर डायलाइसिस गराउँदै आएका उमेशले हप्तामा दुई पटक डायलाइसिस गराउनु पर्ने र त्यसका लागि समेत पैसा नभएको बताउँछन् । आर्थिक अभावका कारण लमहीमा बस्नदेखि उपचारमा समस्या हुँदा आफन्तीको सहयोग माग्दै आएको बताउँछन् ।

पाँच वर्ष अघि सन नेपाल लाइफ इन्स्योरेन्स लमही शाखाबाट पाँच लाखको १० वर्षे अवधिको जीवन बिमा बनाए पनि बिमाबापतको रकम पाउन नसकेको बताए । बिमा कम्पनीले बिरामीलाई सहयोग गर्ने त परैको कुरा जम्मा गरेको रकम समेत नदिएको उमेशकी दिदी प्रेमकला विकले बताइन् । ‘अहिले समयमा किस्ता नबुझाएकाले पैसा दिन आलटाल गरिरहेका छन्’, दिदी प्रेमकलाले भनिन्, ‘अप्ठेरोम काम लाग्दा भनेर जम्मा गरेको पैसा नपाउने अवस्था छ ।’

चिकित्सकले समयमै मृगौला प्रत्यारोपण गर्न सके ठिक हुने चिकित्सकले बताएको जानकारी दिइन् । मृगौला प्रत्यारोपणका लागि अस्पतालले ३० देखि ३५ लाख रुपैयाँ लाग्ने बताएको तर आपूmहरूसँग उक्त रकम नभएकाले सहयोग गरिदिन सबैसँग दिदी प्रेमकलाले अनुरोध गरिन् ।