Ad Area

विक्रम पुन स्मृति खुल्ला फुटबलमा लुम्बिनी एफएको विजयी शुरुवात


घोराही, ११ माघ । दाङको घोराहीमा सुरु भएको दोस्रो संस्करणको विक्रम पुन स्मृति खुल्ला फुटबल प्रतियोगिताको उदघाटन खेलमा लुम्बिनी फुटबल एकेडेमीले विजयी शुरुवात गरेको छ । बिएफएल क्लबको आयोजनामा घोराही उपमहानगरपालिका–१८ नवलपुर फुटबल मैदानमा शुक्रबारदेखि शुरु भएको खुल्ला नकआउट प्रतियोगिताको उदघाटन खेलमा टरिगाउँ युवा क्लबलाई टाईब्रेकरमा हराउँदै लुम्बिनी फुटवल एकेडेमी विजयी भएको हो ।

निर्धारित ९० मिनेटको खेलका दुवै टिमले २–२ गोेलको बराबरी खेलेपछि खेलको नतिजा टाईब्रेकरबाट निकालिएको थियो । टाईब्रेकरमा लुम्बिनी फुटबल एकेडेमीले टरिगाउँ युवा क्बललाई ४–२ गोलले हरायो । हार व्यहोरेको टरिगाउँ प्रतियोगिताबाट बाहिरिएको छ । टरिगाउँका खेलाडी विशाल वलीको प्रहार गोलकिपर हिमाल नेपालीले रोकेका थिए भने विशाल चौधरीको प्रहार गोल पोष्ट माथिबाट बाहिरिएको थियो । बादल राना र पवन वलीले गोल गरेपनि जित पर्याप्त भएन ।

लुम्बिनीका लागि टाईब्रेकरमा सुरज बुढा मगर, रोशन लामिछाने, इश्वर रसाईली र सुजन बिकले गोल गरेका थिए । निर्धारित खेलमा २–० ले अघि रहेको लुम्बिनीले अग्रता जोगाउन नसक्दा खेल टाईब्रेकरमा पुगेको थियो । लुम्बिनीका लागि सुजन बिक र रितेश मल्लले गोल गर्दा टरिगाउँका लागि एलिस रसाईली र डिक्सन केसीले गोल गरेका थिए । टिमलाई जीत दिलाउन उत्कृष्ट बचाउ गरेका लुम्बिनीका गोल रक्षक हिमाल नेपाली प्लेयर अफ द म्याच भए ।

प्रतियोगिता अन्तरगत शनिबार दुई खेल हुने आयोजक बिएफएल क्लबले जनाएको छ । बिहान सोल्युट गोरखा र मेगा स्पोट्र्सबीच खेल हुँदा दिउँसो राईजिङ स्टार र शुभबिहानी फुटवल क्लवबिच खेल हुने छ । माघ २६ गतेसम्म हुने प्रतियोगितामा १९ वटा क्लबको सहभागीता रहेको छ । प्रतियोगितामा प्रथम हुने क्लबले २ लाख २२ हजार २ सय २२ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ भने द्वितीय हुने क्बलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ ।

यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षापंक्ति, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मीडफिल्डर, सर्वाधिक गोलकर्तालाई नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।