Ad Area

एन्फा कम्युनिटी कोचिङ कोर्सबाट ४० जनालाई प्रशिक्षण


घोराही, १३ माघ । घोराही नगर खेलकुद विकास समितिको आयोजना भएको एन्फा कम्युनिटी कोचिङ कोर्सबाट ४० प्रशिक्षित भएका छन् । चार दिने प्रशिक्षणको समापन समारोहलाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले घोराहीलाई खेलकुदको हब बनाउने लक्ष्यका साथ खेलकुदका गतिविधि भईरहेको बताउनुभएको छ ।

घोराही नगर खेलकुद विकास समितिको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा भएको एन्फा कम्युनिटी कोचिङ कोर्स समापनका अवसरमा आईतबार नगर प्रमुख चौधरीले खेलकुदलाई घोराहीले विशेष प्राथमिकता दिएर काम अघि बढाएको बताउनुभएको हो ।

दक्ष प्रशिक्षक उत्पादन गर्न आयोजित एन्फा कम्युनिटी कोचिङ प्रशिक्षणमा सहभागीहरुलाई शुभकामना व्यक्त गर्दै उहाँले खेलकुदका माध्यमबाट स्वस्थ नागरिक उत्पादन गर्न र दक्ष जनशक्तिमार्फत रोजगार तथा व्यवसायीकरणमा लाग्ने बनाउन पालिकाले ध्यान दिएको बताउनुभयो ।

‘खेल हरेक नागरिकका लागि आवश्यक छ, रुची अनुसारको खेलका लागि हरेक व्यक्तिले आफुलाई तयार पार्नुपर्छ । यसको वातावरण बनाउने काममा घोराही उपमहानगरपालिकाले आवश्यक पूर्वाधारमा लगानी गरिरहेको छ’ उहाँले भन्नुभयो ‘एक वडा एक खेल मैदान पालिकाले तयार पारेर काम गरिरहेको सन्दर्भमा नगरबासीलाई स्वस्थ बनाउन हामीले प्रयास गरेका छौँ ।’

उहाँले खेल खेल्न आफुले जानेर मात्रै नपुग्ने भन्दै खेल खेलाउने विधिका बारेमा समेत जान्ने बनाउन एन्फा कम्युनिटी कोचिङ कोर्स कार्यक्रम आयोजना गरिएको बताउनुभयो । नगर खेलकुद विकास समितिले आयोजना गरेको पहिलो चरणको यो प्रयासमा देशका विभिन्न जिल्लाबाट सहभागी भएर सिकेको ज्ञान सीपलाई भोलिका दिनमा व्यवहारमा उतार्न पनि उहाँले आग्रह गर्नुभयो ।

‘खेल्न जानेर मात्रै होईन खेलाउन पनि जान्नुपर्छ भनेर यो प्रयास गरिएको हो । यसमा विभिन्न जिल्लाबाट आएर चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्स लिनुभयो । यसले हामी पनि उत्साहित भएका छौँ’ उहाँले भन्नुभयो ‘खेलकुदको महत्व बारे बुझ्न हामीलाई अझ सजिलो बनेको छ । अब सिकेको ज्ञान सीपलाई आफ्नो ठाउँमा लागु गरेर स्वस्थ र दक्ष नागरिक उत्पादनमा जोड दिनुहोला ।’

कार्यक्रममा नगर उपप्रमुख हुमा डिसीले पालिकाको नगर खेलकुद विकास समितिले अघि सारेको कार्यक्रममा सहभागी भएर ज्ञान, सीप हासिल गरेर अघि बढ्ने आधार तयार भएको बताउनुभयो ।

लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य कैलाश रोकाले खेलकुद हरेक व्यक्तिका लागि महत्वपूर्ण रहेको बताउनुभयो । खेललाई तीन तहका सरकारले विशेष रुपमा लगानी गरेर नागरिकका बीचमा लैजानुपर्ने बताउनुभयो ।

प्रशिथार्थीका तर्फबाट राष्ट्रिय फुटबल रेफ्री अमरबहादुर पुन मगरले आफुले फुटबल खेलेर अहिले खेलाउने काम गर्दै आएपनि यस प्रकारका प्रशिक्षणमा सहभागी भएर धेरै कुरा जान्ने अवसर पाएको बताउनुभयो ।

कोच हेड अफ ग्रासरुट पंकज शाहीले पहिलो चरणको एन्फा कम्युनिटी कोचिङबाट लिएको ज्ञानलाई समुदायका बीचमा पुर्याउन प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । हालसम्म १४ सय प्रशिक्षक तयार भईसकेको जानकारी गराउँदै उहाँले दाङमा भएको एन्फा कम्युनिटी कोचिङ कोर्श छ्यालिसौँ ब्याचका रुपमा तयार भएको बताउनुभयो ।

फुटबल प्रशिक्षणका लागि दाङबाट २१ जना, बाँकेबाट ४ जना, रौटहट र कपिलबस्तुबाट ३–३ जना, रुकुमपूर्व र रोल्पाबाट २–२ जना, स्याङ्जा, रुपन्देही, प्युठान, खोटाङ, सुनसरीबाट १–१ जना गरी ४० जना सहभागी भएका नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

एन्फा कम्युनिटी कोचिङ कोर्समा देशका विभिन्न जिल्लाबाट प्रशिक्षणका लागि सहभागीता भएको जनाउँदै उहाँले आगामी दिनमा यस प्रकारका कार्यक्रम गर्न उत्साह थपेको संयोजक पुनले बताउनुभयो । माघको १० गतेदेखि भएको चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्स एन्फाका हेड अफ एजुकेसन कोच सञ्जित सिंह र हेड अफ ग्रासरुट पंकजबहादुर शाहीले प्रशिक्षण दिनुभएको थियो । समापन कार्यक्रमको सहजीकरण नगर खेलकुद विकास समिति सदस्य श्रवणकुमार खनालले गर्नुभएको थियो ।