Ad Area

अपाङ्गता दिवस: समानताबाट वञ्चित हुनु परेको दुखेसो


घोराही १७, मंसीर ।  ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा दाङमा विविध कार्यक्रम गरी मनाईएको छ । अपांगताका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका संघसंस्थाहरुले शुक्रबार रचनात्मक ढंगले दिवस मनाएका छन् । घोराहीस्थित नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र र अपांग मानव अधिकार एवं सरोकार मञ्चको संयुक्त आयोजनामा कार्यक्रम गरी अपांगता दिवस मनाइएको छ ।

संघका सभापति शरद अधिकारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख जीतेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि बालमन्दिरमा अध्ययनरत छात्रछात्राहरुलाई खेलकूद सामग्री, अपांग जीवन बिताईरहेकाहरुलाई क्रृत्रिम खुट्टा प्रदान र अपाङ्ता भएकाहरुको हकहितका लागि छापा र रेडियोमार्फत भूमिका खेलेको भन्दै एक जना क्रियाशील पत्रकारलाई सम्मान गर्दै दिवस मनाइएको हो ।

अपांगता भएकाहरु १४ जनालाई आशा अपांग केन्द्र, गुल्मीसँगको सहकार्यमा अपांग संघ घोराहीले क्रृत्रिम खुट्टा वितरण गरेको हो । यस्तै, अपांगताका क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार छबि पुरीलाई सम्मान गरिएको छ ।

‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार’ नाराका साथ मनाइएको अपांगता दिवसमा प्रमुख अतिथि नेपालीले अपांगता भएका हरेक व्यक्ति र सरोकार संघसंस्थाहरुले अब अधिकार प्राप्तिका लागि हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बेला आएको बताए ।

राज्यले सबैलाई समान अधिकारको ग्यारेन्टी गरेको बताएपनि सबै नागरिकले समानता महसुस गर्नबाट वञ्चित हुनु परेको बताउँदै अपांगता भएकाहरुको जीवन अझ कष्टकर रहेको बताए । संविधानले प्रत्याभूत गरेको अधिकारमाथिको लडाइँका लागि अब जाग्नु पर्ने बेला आएको हुँदा सबै चनाखो हुनुपर्ने उनको धारणा थियो ।

Blog Post Ad

यस्तै, घोराही १४ की वडा सदस्य नैना चौधरीले स्थानीय सरकारले सबै नागरिकको हक अधिकारका लागि पहल गरिरहे पनि यो पर्याप्त नरहेको बताइन् । समावेशीकरण परिवार, मूलधारका कार्यक्रमहरुमा, राज्यले बनाउने नीतिहरुमा, संस्थाहरुले वनाउने योजनामा, राजनीति, विकासका नीतिहरुमा अपांगता भएकाहरुको समान अधिकार र पहुँच अभिवृद्धिमा राज्यले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने भन्दै विषयबस्तुमाथि संघका सदस्य बिबेक खड्काले विषयबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा आधाभूत विद्यालय बालमन्दिरकी श्रोत शिक्षक पुष्पा दाहाल, पूर्व अध्यक्ष कृष्ण चौधरी, संघका कोषाध्यक्ष बसन्तराज भट्टलगायतले शुभकामना मन्तव्य राखेका थिए । अपांग मानव अधिकार एवं सरोकार मञ्चकी अध्यक्ष भविसरा घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सहभागी सबैलाई संघकी उपाध्यक्ष रुपा वलीले धन्यवाद दिएकी थिइन् भने सहजीकरण मञ्चकी कोषाध्यक्ष सुधा रिजालले गरेकी थिइन् ।

Blog Post Ad Blog Post Ad