Ad Area

टरिगाउँ बिमानस्थलको स्तरवृद्धिका लागि पहल गर्छु : सभापति देउवा


घोराही, २७ माघ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानन्त्री शेरबहादुर देउवाले दाङको विकासका लागि तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि पहल गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस दाङले आइतवार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै सभापति कुहिरो नलाग्ने र बाह्रै महिना विमानस्थल चलाउन सकिने भएकाले एयरपोर्टको स्मतरवृद्धिका लागि पहल गर्ने बताउनुभयो । एयरपोर्टको स्तरवृद्धिका लागि काठमाडौं फर्किएपछि विज्ञहरुसंग परामर्श गर्ने समेत बताउनुभयो । दाङ प्रादेशिक राजधानीसँगै यस क्षेत्रको महत्वपूर्ण ठाउँ भएकाले नियमित सञ्चालन हुने विमानस्थलको अत्यन्त आवश्यक रहेको भन्दै सभापति देउवाले भन्नुभयो,‘दाङमा ठुला जहाज उडानका लागि अहिलेको एयरपोर्टको बिस्तार गर्न जरुरी रहेको छ । यसका लागि विमानस्थलको स्तरबृद्धिका लागि विज्ञहरुसंग छलफल गर्छु र अघि बढाउनका लागि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भन्ने छु ।’

तराई तिरका बिमानस्थलमा कुहिरो लाग्ने र उडान प्रभावित हुने समस्या भएपनि दाङमा त्यो नहुने अवस्था रहेकाले यहाँ रहेको बिमानस्थलको विकास हुन आवश्यक रहेको बताउनुभयो । नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले दाङको विकासका लागि तुलसीपुरमा रहेको बिमानस्थलको स्तरवृद्धिसँगै घोराही–तुलसीपुर चारलेन सडक र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरवृद्धिका लागि पहल गर्न सभापति देउवासँग आग्रह गरेका थिए । साथै बक्ताहरुले पार्टीभित्रको गुटउपगुटको अन्त्य गर्दै एकतावद्ध गरेर आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नेगरी नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँड, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरी, केन्द्रीय सदस्य पूर्व राज्यमंन्त्री देवेन्द्रराज कँडेल केन्द्रीय सदस्यहरु योगेन्द्र चौधरी, गेहेन्द्र गिरी, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीलाई संस्थागत गर्ने रुपमा सञ्चालन गर्दै एकतावद्ध र मजबुत कांग्रेस भएको जनतामा सन्देश दिन आवश्यक रहेको बताए । नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुनकुमार योगीले गरेका थिए ।