Ad Area

लुम्बिनी च्याम्पियनसिप फुटबलमा एसएसएफएको विजयी शुरुवात


घोराही, २८ माघ । घोराहीमा शुरु भएको जिल्लाकै सबैभन्दा ठूलो पुरस्कार राशीको फुटबल प्रतियोगिता लुम्बिनी च्याम्पियनसिप खुला नकआउट फुटबल प्रतियोगितामा एसएसएफए तुलसीपुरले विजयी शुरुवात गरेको छ ।

लुम्बिनी फुटबल एकेडेमीको आयोजनामा सोमबार एकडेमीकै खेलमैदान घोराही १७ गैरागाउँमा शुरु भएको उदघाटन खेलमा युएनबीसी घोराहीलाई ३–१ गोल अन्तरले हराउँदै एसएसएफए तुलसीपुरले विजयी शुरुवात गरेको हो । पहिलो हाफ १–० को अग्रता बनाएको युएनबीसीले अग्रता जोगाउन नसक्दा हार व्यहोर्न पुग्यो ।

पहिलो हाफमा पेनाल्टीमार्फत युएनबीसीका निशान घर्तीले प्रतियोगिताको पहिलो गोल गर्नुभएको थियो । दोस्रो हाफमा भने एसएसएफए तुलसीपुरले खेललाई आफ्नो नियन्त्रणमा लियो । दोस्रो हाफमा युएनबीसीका गोल किपर ले बल नियन्त्रणमा लिन नसक्दा एसएसएफएका किरण योगीले सहजै गोल गर्नुभएको थियो ।

त्यसपछि गोल पोष्टको करिव ४० यार्ड टाढाबाट विजयसिंह ठकुरीले प्रहार गरेको फ्रि किक सिधै जाली चुमेको थियो । खेलको अन्तिम समयमा एसएसएफका निशान डाँगीले गोल पोष्टबाट रिबाउन्ड भएर आएको बल प्रहार गर्दै जाली चुमाउँदै ३–१ को नतिजामा पुर्याउनुभयो । एसएसएफएसँगको हारसँगै युएनबीसी प्रतियोगिताबाट बाहिरिएको छ ।

अब मंगलबार प्रतियोगिता अन्तरगत दुई खेल हुने लुम्बिनी फुटबल एकेडेमीका अध्यक्ष समीर वलीले जानकारी दिनुभयो । बिहान ११ बजेपछि आयोजक लुम्बिनी फुटबल एकेडेमी निलो र राईजिङ स्टार बीच खेल हुनेछ भने दिउँसो २ बजेपछि पाण्डवेश्वरी टीम र आयोजक लुम्बिनी फुटबल एकेडेमी सेतो बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विभिन्न ८ टीमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

लुम्बिनी फुटबल एकेडेमीमा बस्दै आएका विभिन्न १४ जिल्ला ३० बढी खेलाडीको प्रशिक्षण र पढाई सहयोगार्थ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । एकेडेमीले बसेर फुटबल प्रशिक्षण लिईरहेका खेलाडीहरुलाई विदेशी प्रशिक्षकहरुले प्रशिक्षण गराउने काम गर्दै आएका लुम्बिनी फुटबल एकेडेमीले जनाएको छ ।