Ad Area

घोराही महोत्सवमा बढ्दै सहभागी


दाङ,६ फागुन । घोराहीमा जारी छैठौ कृषि,पर्यटन तथा व्यापार महोत्सवमा सहभागीहरु संख्या बढ्दै गएको छ । महोत्सव पाँचौ दिनसम्म पुग्दा महोत्सवमा मनोरञ्जन,अवलोकनसँगै किनमेलका लागि सहभागीहरु बढ्दै गएका छन् ।

‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नारासहित दाङ जिल्ला उद्योग वाणिज्य संघद्वारा आयोजित ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ मा मंगलबार लोकदोहोरी क्षेत्रका चर्चित गायकहरूले आफ्नो प्रस्तुति दिएका छन् ।

लोकप्रिय गायक कृष्ण रेउले, नवीन पौडेल, लेखिना राई, राजकुमार वली, सुशीला थापा र राशी रिजालले महोत्सवको माहोललाई सांगीतिक रंगले भरिपूर्ण बनाएका थिए । गायक रेउलेले सर मलेया, कलेजी रेटियो, आज गाउँमा जस्ता गीत गाएर दर्शकलाई झुमाए । त्यस्तै गायक पौडेलले जान म त्यो घर, मैले तिमीलाई हेरेको मन परेरै हो, ओइ सरकार ओइ ओइ देशका युवा खोइ ?लगायतका गीत गाएका थिए ।

महोत्सवमा प्रवेशकालागि प्रतिव्यक्ति एक सय, विद्यार्थीहरुलाई परिचयपत्रको आधारमा ८०, अशक्त, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । महोत्सवमा कृषी, पर्यटन तथा व्यवसायिक गरि ४ सय बढि स्टलहरु रहेका छन् । महोत्सवमा २ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोडको कारोबार गर्ने लक्ष्य रहेको छ ।

दोहोरीमा बर्दिया विजयी

यसैविच लोक संस्कृतिको संरक्षण र स्थानीय प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले आयोजित लुम्बिनी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगितामा बर्दिया विजयी भएको छ । बर्दियाले दाङको मझेरी दोहोरी घरलाई पराजित गर्दै उपाधि हात पारेको हो।

बुधवार एलिना चौहान आउँदै

महोत्सवमा बुधबारका दिन चर्चित गायिका एलिना चौहानको विशेष प्रस्तुति रहने आयोजक मूल समितिका संयोजक वसन्त जोशीले जानकारी दिए । गायिका चौहानसँगै लोक गायक कुलेन्द्र विश्वकर्मा, सञ्चिता शाही र देवेन्द्र बस्नेतलगायतका कलाकारको प्रस्तुति रहने छ । आयोजकले महोत्सवमा सहभागी भई मनोरञ्जन लिन सबै जिल्लाबासीलाई आग्रह गरेको छ ।