आज महाशिवरात्री पर्व

दाङ, १४ फागुन । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा÷आराधना गरी आज देशभर मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा÷आराधना गरी मनाउने गरिन्छ ।
पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्व रहेको छ । आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा÷आधारणा गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेर सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । महाशिवरात्रीको अवसरमा दाङको धारापानी, तुलसीपुरको शीतलपुरलगायत देशभरका शिवालयमा दर्शनार्थीले पूजाआजाका लागि जाने गर्दछन् ।
यसैबिच लमही नगरपालिका–७ स्थित शिव मन्दिर धाममा आजदेखि श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सुरु हुनेभएको छ । फागुन १४ देखि २१ गतेसम्म महायज्ञको आयोजना गरिएको कमानपुर टोल विकास संस्था लमही–७ का अध्यक्ष तिलक चौधरीले जानकारी दिए ।
नियमित सत्सङ्ग, आध्यात्मिक प्रवचनको आरम्भ गरी सनातन धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महायज्ञको सुरुवात गरिएको अध्यक्ष चौधरीले बताए । महायज्ञमा पण्डित परशुराम पाण्डेले कथा वाचन गर्ने कार्यक्रम रहेको छ । ‘धार्मिक तीर्थस्थलका रूपमा स्थापित हुन थालेको लमही नगरपालिका वडा नं. ७ कमानपुर स्थित शिव मन्दिर धाममा पहिलो पटक श्रीमद्भागवत् महापुराण हुने भएको हो’, उनले भने ।
धार्मिक तीर्थस्थलका रूपमा स्थापित हुन थालेको कमानपुर स्थित शिव मन्दिर लमही नगरपालिका वडा नं. ७ को वडा कार्यालय र सम्राट सिमेन्ट कम्पनीको आर्थिक सहयोग एवम् जनश्रमदानमा निर्माण गरिएको हो । फागुन १४ गतेदेखि सुरु हुने भागवत् महापुराणको उद्घाटन लमही नगरपालिका वडा नं. ७ का वडाध्यक्ष तथा लमही नगरपालिकाका प्रवक्ता मोहन गिरीले गर्ने कार्यक्रम तय भएको छ ।