Ad Area

पाण्डवेश्वर धाम धारापानीमा मुख्यमन्त्री आचार्यद्वारा पूजा, सेनाबाट सलामी


घोराही, १४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महाशिवरात्रि पर्वका अवसरमा दाङको पवित्र ऐतिहासिक एवं धार्मिक स्थल पाण्डवेश्वर धाम धारपानीको मुल मन्दिरमा पूजा अर्चना गर्नुभएको छ ।

घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिरमा विशेष पूजा गर्नुभएको हो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले पाण्डवेश्वर महादेव मन्दिरमा रहेको विश्वकै अग्लो त्रिशुललाई सलामी अर्पण गरेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सिता शर्मा, प्रदेशसभा सदस्य लोका विश्वकर्मा, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललगायतको उपस्थिति रहेको थियो ।

पाण्डवेश्वर धार्मिक धाम धार्मिक तथा ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण तीर्थस्थल मानिन्छ । महाभारतकालमा पाण्डवहरू वनवासको क्रममा यहाँ आएर तपस्या गरेको धार्मिक मान्यता छ । सोही कारण यस स्थानको नाम ‘पाण्डवश्वर धाम’ रहन गएको मान्यता भएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद अधिकारीले जानकारी दिनुभएको छ । मन्दिरमा महाशिवरात्रिका अवसरमा भक्तजनको ठूलो घुइँचो लाग्ने गर्दछ ।

महाशिवरात्रिको अवसरमा विहान पाँच बजेदेखि पूजा आराधनाका लागि भक्तजनको भीडभाड रहेको छ । भीडभाडलाई कम गर्नका लागि मन्दिरमा पुजा गर्ने भक्तजनका लागि तीन वटा लाइन बनाइएको र जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुलाई छुट्टै पूजा गर्ने व्यवस्था मिलाइएको अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार भीडभाड कम गर्नका लागि एक सय ५० नेपाल प्रहरी र ५० बढी स्वयमसेवक परिचालन गरिएको छ । पाण्डवेश्वर धाम धार्मिक आस्थाको केन्द्र मात्र नभई प्राकृतिक रूपमा समेत आकर्षक गन्तव्यका रुपमा रहेको छ ।