Ad Area

यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी च्याम्पियन बन्न सफल


काठमाडौं, १९ मंसीर । पहिलो खेलमै गण्डकी प्रदेशसँग पराजय व्यहोरेर दवावमा परेको लुम्बिनी प्रदेशले उत्कृष्ट पुनरागमन गर्दै काठमाडौंमा भएको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आईतबार टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको उपाधि खेलमा लुम्बिनीले सुदुरपश्चिम प्रदेशलाई एक सय १३ रनले पराजित गर्दै उपाधि जितेको हो ।

सात वर्षपछि आयोजना भएको प्रतियोगितामा प्रदेशगत रुपमा लुम्बिनी पहिलो पटक नै च्याम्पियन बन्न सफल भयो । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदुरपश्चिमले निर्धारित ५० ओभरमा एक सय १२ रन बनाउँदा अलआउट भयो । देव खनालको कप्तानीमा रहेको लुम्बिनीले सुरुवात राम्रो गर्न नसकेपनि उसका दुई खेलाडीले अर्धशतकीय पारी खेल्दा टिम बलियो स्थितीमा पुगेको हो ।

खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको लुम्बिनीले दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गरेको थियो । ओपनर आकाश त्रिपाठीले खाता खोल्न सकेनन् । त्यसपछि प्रज्वल थापा पनि २४ रनमा पेभेलियन फर्किए भने विराट भण्डारी पहिलो बलमा आउट भएपछि लुम्बिनीले ८० रन बनाउँदा तीन विकेट गुमायो । दवावमा परेको लुम्बिनीले सम्हालिएर खोल्यो ।

लुम्बिनीका लागि कप्तान देव खनालले उत्कृष्ट ७० रनको पारी खेले । जसमा उनले ९५ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै विशाल विक्रम केसीले पनि ५१ रन बनाए । उनले ६९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । सुनील भण्डारी ६, वासिर अहमद ४, कमल वली १ रनमा आउट भएपछि लुम्बिनीले एक सय ९६ रन बनाउँदा आठ विकेट गुमाएको थियो । दुर्गेश गुप्ताले ३२ रन बनाए ।

बलिङमा आकाश चन्दले तीन तथा हेमन्त धामी, शेर मल्लले दुई दुई विकेट लिए भने नरेन साउद र राहुल भण्डारीले एक–एक विकेट लिए ।
२ सय १३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सुदुरपश्चिम भने शुरुवाती चरणबाटै लय समात्न सकेन । खराव ब्याटिङका कारण सुदुरपश्चिम प्रदेश २८ ओभर तीन बलमा मात्र ९९ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक समेत जोड्न सके । पाँचौ नम्बरमा ब्याटिङका लागि आएका लोकेश बमको २५ रन नै सर्वाधिक रह्यो।

यस्तै ओपनर तथा कप्तान खडक बोहोराले २१ रनको योगदान दिए। नारायण जोशीको ११ रन रह्यो। सुदुरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा दुर्गेश गुप्ताले ३ विकेट लिए भने अजय चौहानले ५ विकेट हात पारे। मोहमद्ध हुसेनले २ विकेट लिए ।

लुम्बिनी प्रदेशले उपाधि जितेसँगै खेलाडी छनोट समिति संयोजक कैलाश रोकाले छनौट प्रतियोगितामा गरेको प्रदर्शन र प्रोफाईलका आधारमा गरिएको छनौटले शत प्रतिशत काम गरेको प्रतिक्रिया दिएका छन् । खेलाडी छनौट गर्दा विभेद भयो की भन्ने खालमा प्रशन उठेका बेला खेलाडीहरुको प्रदर्शनले दिएको नतिजाले गतिलो जवाफ दिएको उनको भनाई छ । प्रतिभावान र सम्भावना भएका युवा खेलाडीहरु लुम्बिनी प्रदेश स्तरीय छनौटबाट गएकाले राम्रो टीम सिफारिस भएको बताए । प्रतियोगिताको उपाधि विजेता खेलाडीहरुलाई उनले बधाई दिएका छन् ।

राउन्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेको थियो । पहिलो खेलमै हार व्यहोरेर दवावमा परेको लुम्बिनीले त्यसपछिका सबै खेलमा जीत निकाल्न सफल भयो । मंसीर ७ गतेबाट भएको प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान र मुलपानी खेल मैदानमा खेलाइएको थियो ।