Ad Area

पाल्पा बन्यो मुख्यमन्त्री कप महिला भलिबलकाे च्याम्पियन


छबि पुरी

दाङ, २३ चैत । दाङको घोराहीमा भएको मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता– २०८१ को उपाधि पाल्पाले जितेको छ । शनिबार सम्पन्न फाईनल खेलमा पाल्पाले रुपन्देहीलाई ३–२ को सेटमा हराउँदै उपाधि हात पारेको हो । प्रदेश खेलकुद परिषद, लुम्बिनीको आयोजनामा चैत २० गतेदेखि दाङको घोराही १५ सहिद मञ्चमा भएको प्रदेश स्तरीय प्रतियोगिता अन्तरगत उपाधि भिडन्तमा पहिलो सेट हारेको पाल्पाले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जित्दै बलियो प्रभाव देखायो । तर, चौथो सेटको खेल रुपन्देहीले फेरि जित्दै खेल २–२ सेटको बराबरीमा पुर्याएपछि फाईनल खेल थप रोमाञ्चक बन्न पुग्यो । पाँचौँ तथा अन्तिम सेटमा भने पाल्पाले थप सशक्त र प्रभावशाली खेल पस्कँदै नजिता आफ्नो पक्षमा पार्न सफल भयो ।

पाल्पाले समग्रमा १९–२५, २५–२१, २५–१७, २५–२० र १५–८ अंकका साथ उपाधि हात पारेको हो । उल्लेख्य दर्शकको उपस्थितीमा भएको फाईनल खेलमा पाँच सेटको खेलबाट नतिजा निस्किँदा खेलाडीले पनि आफ्नो खेल कौशल प्रस्तुत गरे ।

निकै प्रतिष्पर्धात्मक खेलमा समूह ‘बी’ बाट लिग चरण खेल जित्दै पाल्पाले प्रतियोगितामा अपराजित रुपमा उपाधि हात पार्दै च्याम्पियन बनेको छ भने समूह ‘डी’ मा रहेको रुपन्देही पनि उपाधि नजिक पुगेर अपराजित यात्रामा बिश्राम लगाउँदै उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगिताको उपाधि जितेको पाल्पाले नगद एक लाखसहित शिल्ड, मेडल र प्रमाण–पत्र पुरस्कार पाएको छ । उपविजेता बनेको रुपन्देहीले नगद पैसट्ठी हजार, शिल्ड, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेको छ ।

पाल्पाकी जीना राना बनिन् प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी

मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता– २०८१ मा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी पाल्पाकी कप्तान जीना राना घोषित हुनुभएको छ । जीनाले पाल्पालाई उपाधि दिलाउन उत्कृष्ट खेल पस्किनुभयो । उहाँले नगद १० हजारसहित प्रमाण पत्र प्राप्त गर्नुभएको छ ।

प्रतियोगिता भर खेलेको खेलका आधारमा विधागत रुपमा भएका खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको हो । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडी छनोट हुँदा पाल्पाकी कप्तान थापासहित चार जना पर्न सफल भएका छन् । उत्कृष्ट सर्बरमा पाल्पाकी दुमीसरा सारु, उत्कृष्ट डिफेन्समा पाल्पाकी दुर्गासरा गाहा र उत्कृष्ट ब्लकरमा पाल्पाकी बिनिता राना घोषित हुनुभयो । तीन जनालाई जनही नगद पाँच हजारसहित प्रमाण पत्र प्रदान गरिएको छ ।

यसैगरी, प्रतियोगिताको उत्कृष्ट सेटरमा दाङकी सीता बिक, उत्कृष्ट स्पाईकरमा रुपन्देहीकी रीचा थापा घोषित हुनुभयो । उहाँहरुलाई पनि नगद पाँच हजारसहित प्रमाण पत्र प्रदान गरिएको छ ।

यसअघि तेस्रो स्थानका लागि शनिबार नै भएको खेलमा बाँकेलाई ३–१ सेटले हराउँदै रोल्पा तेस्रो भएको छ भने बाँके सान्त्वना भएको छ । रोल्पाले बाँकेलाई २५–२३, २५–९, २४–२६ र २५–१८ अंकका साथ हराउँदै प्रतियोगिताको तेस्रो भएको हो ।

यसअघि, पहिलो सेमिफाइनलमा रोल्पा जिल्ला पाल्पासँग ३–१ को सेटमा पराजित भएको थियो भने दोसो सेमिफाइनलमा बाँके जिल्ला रुपन्देहीसँग ३–२ को सेटमा पराजित भएको थियो । समूह ‘सी’ बाट खेलेको बाँकेले प्युठान, कपिलवस्तु, रुकुम पूर्वलाई हराउँदै सेमिफाइनल पुगेको थियो भने समूह ‘ए’ बाट खेलेको रोल्पाले रुकुमपूर्व, गुल्मी र कपिलवस्तुलाई जित्दै सेमिफाइनल पुगेको थियो । तृतीय भएको रोल्पाले नगद पैतिस हजारसहित मेडल, ट्रफी र प्रमाण–पत्र पाउँदा सान्त्वना भएको बाँकेले नगद पन्ध्र हजार प्रमाण–पत्र प्राप्त प्राप्त गरेको छ ।

प्रदेश स्तरीय लिगकम नकआउट प्रतियोगितामा दाङसहित लुम्बिनीका १२ वटै जिल्लाबाट महिला भलिबल खेलाडी सहभागी भएका प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरन गौतमले जानकारी दिनुभयो । प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका लागि प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएकोमा यसबाट राम्रो सम्भावना भएका खेलाडी देखा परेको प्रदेश खेलकुद परिषद, लुम्बिनीले जनाएको छ ।

प्रतियोगितामा विजेता तथा उपविजेता टीमका खेलाडीलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले प्रदेश सरकारले खेलकुदको विकासका लागि गरिरहेको प्रयासले लुम्बिनीमा महिला भलिबलको खेलाडीको सम्भावना उजागर भएको बताउनुभयो । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरन गौतमको अध्यक्षतामा भएको प्रतियोगिता समापनका अवसरमा प्रमुख अतिथि नगर प्रमुख चौधरीले मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिताले खेलाडीहरुको आत्मविश्वास जगाउनेदेखि खेलकुदको वातावरण निर्माणले सघाउने काम भएको उहाँको भनाई थियो ।

सो अवसरमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले आगामी जेठमा सुर्खेतमा हुन लागेको दशौ राष्ट्रिय खेलकुदका लागि महिला भलिबल खेलाडी उत्पादन गर्न यो प्रतियोगिता फलदायी बनेको बताउनुभयो । समापन समारोहको सहजीकरण प्रदेश खेलकुद परिषदका सदस्य कैलाश रोका मगरले गर्नुभएको थियो ।