Ad Area

दोस्रो संस्करणको घोराही गोल्ड कपमा राप्ती गाउँपालिका विजयी


घोराही, २४ चैत । दोस्रो संस्करणको घोराही गोल्ड कप–२०८१ मा राप्ती गाउँपालिकाले शान्तिनगर गाउँपालिका विरुद्ध ३–१ गोलको जीत दर्ता गरेको छ ।

घोराही उपमहानगरपालिका खेलकुद विकास समितिले आयोजनामा जारी प्रतियोगिता अन्तरगत आईतबार दिउँसो भएको खेलमा राप्ती गाउँपालिकाले शान्तिनगर गाउँपालिकालाई ३–१ गोल अन्तरले हराएको हो । घोराही १८ नवलपुर फुटबल मैदानमा भएको खेलमा राप्तीलाई जीत दिलाउन भुपेन्द्र कार्कीले ह्याट्रिक गोल गरे ।

पहिलो हाफमा ३–० को अग्रता बनाएको राप्तीले दोस्रो हाफमा भने गोल गर्न सकेन । दोस्रो हाफमा शान्तिनगरका आशिष रानाले सान्त्वना गोल गरे । जीतसँगै राप्तीका  कार्की म्यान अफ द म्याच भए । उनले २५ सय नगद प्राप्त गरे । राप्ती गाउँपालिका शान्तिनगर गाउँपालिका विरुद्धकाे जीतसँगै सेमिफाईनलमा प्रवेश गरेको छ ।

दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिका गरी ८ वटा पालिका टीमको सहभागीता रहेको दोस्रो घोराही गोल्ड कपले अन्तरपालिका बीच खेल भावनाको विकास गर्न र खेलाडीहरुको क्षमता विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको छ ।

चैत २७ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने दोस्रो हुने टीमले नगद ८० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने घोराही नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विधागत रुपमा उत्कष्ट हुने खेलाडीलाई पनि ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।