Ad Area

कम्युनिस्ट शक्तिहरु टुक्रिँदा यथास्थितीवादीहरुले टाउको उठाए


घाेराही, २४ चैत । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले कम्युनिस्ट शक्तिहरु टुक्रिँदा यथास्थितीवादीहरुले टाउको उठाउने मौका पाईरहेको बताउनुभएको छ ।

जनसम्बन्ध बिस्तार अभियान अन्तरगत आइतबार दाङको घोराहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्थायी समिति सदस्य तथा ४ नम्बर टोलीका नेता ओलीले गणतन्त्र स्थापनापछि पनि राजालाई सुविधा दिँदा राजतन्त्र पक्षधर सल्बलाउने मौका पाएको हुँदा गणतन्त्र पक्षधर एक ठाउँमा उभिनु आवश्यक रहेको बताउनुभयो ।

यस्तै, उहाँले पार्टीको एकता महाधिवेशनपछि पार्टीको पछिल्लो धारणा जनसमुदायसम्म पुर्याउन र देशमा विद्यमान बेथिति बिसंगतिको भण्डाफोर गर्न अहिले देशव्यापी अभियान चलाएको बताउनुभयो । उहाँले जनसम्बन्ध बिस्तार अभियानको आवश्यकता र उद्देश्यबारे जनतालाई बुझाउँदै सबै कम्युनिस्ट पार्टीको एकता निर्माण गर्न, गणतन्त्र विरुद्ध खबरदारी गर्न, संगठन बिस्तार आफुहरु देश दौडाहामा रहेको बताउनुभयो ।

कार्यक्रममा उहाँले हिजोका दिनमा गणतन्त्रका पक्षमा योगदान नदिएकाहरु नै अहिलेको राजनीतिक नेतृत्वमा भएकाले देशले सही रुपमा गतिलिन नसकेको बताउनुभयो । जो गणतन्त्रका लागि लडेन उनैले देश चलाउने काम भएको भन्दै उनीहरुबाट गणतन्त्र खतरामा परेको जिकिर गर्नुभयो ।

राज्यसत्ताका अंगका रुपमा रहेका संसद, सेना, प्रहरी, अदालत, कारागारलगायत क्षेत्रहरु यथास्थितीमा रहेको हुँदा समस्या समाधान हुन नसकेको बताउनुभयो ।

यसैगरी, वैज्ञानिक समाजवादको बाटोमा हिँडाउन कम्युनिस्ट एकता सिद्धान्तमा नभई व्यवहारमा आवश्यक रहेको बताउनुभयो । यसका लागि मालेमा वाद मार्ग निर्देशक सिद्धान्तका रुपमा अंगिकार गर्न, पार्टी संचालन जनवादी केन्द्रीयतामुखी बनाउन, नयाँजनवादी क्रान्तिको खुड्किलो पार गरेर नव औपनिवेशबाट देशलाई मुक्त बनाउने अभियानमा अघि बढ्न, राष्ट्रिय पूँजीको विकास गर्न, वैज्ञानिक समाजवादमा अग्रसर हुन, सर्वहारा अधिनायकत्व स्थापना अब ढिलाई गर्न नुहुनेमा उहाँको जोड छ ।

जनताका बीचमा जाँदा अहिले क्रान्तिकारी कम्युनिष्टहरु मिल्नुपर्छ भन्ने आवाज आएको हुँदा मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी अबको राजनीतिक विकल्प हुने दावी पनि गर्नुभयो । पार्टीका पोलिट व्युरो सदस्य लालबहादुर जाग्रीको स्वागत मन्तव्यबाट शुरु भएको पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण जिल्ला सचिव ईश्वरीप्रसाद गैरेले गर्नुभएको थियो ।