प्रथम जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला, दर्ताका लागि समय थप

दाङ,२५ चैत । घोराहीमा हुन थालेको प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला–२०८१ मा सहभागीताका लागि दर्ता हुने समय थप गरिएको छ ।
खेलकुद क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले हुन थालेको प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेलामा सहभागीताका लागि टिम दर्ता हुने समय चैत २८ गतेसम्म कायम गरिएको हो । प्रतियोगितामा सहभागीहरु आउने क्रम जारी रहेकाले चैत २५ गतेसम्म टिम दर्ताका लागि दिइएको समय २८ गतेसम्मलाई थप गरिएको आयोजक दाङ सोसाईटी क्लवका अध्यक्ष लेखनाथ बुढाथोकीले जानकारी दिएका छन् ।
‘खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार’ भन्ने नाराका साथ दाङ सोसाइटी क्लबको १६ औं वार्षिकोत्सवको अवसरमा चैत २८ गतेदेखि बैशाख १० गतेसम्म प्रतियोगिता घोराही उपमहानगरपालिका–१४ झिगौंरामा सञ्चालन हुन थालेको छ ।
प्रतियोगिताअन्तर्गत फुटबल, क्रिकेट, भलिवल, कवडी, मिनी म्याराथन, ब्याडमिन्टन, एथलेटिक्स, स्लो बाइक र स्कुटी, बास्केटब, बक्सिङ, बुद्धिचाल, भारोत्तोलन, लङजम्प, हाइजम्प, तेक्वान्दो, क्यारमबोर्ड, कुर्सी दौड, बक्तित्वकला, चम्चा दौड, कविता, डोर पञ्चर (रस्साकस्सी),लुडो, टेवल टेनिस, बादविवाद, हाजिरीजवाफ, साइकल रेस, पन्जा लडाउने, बेलुनटच, बोरा दौड,चकलेट दौड, तिर निसान, इ–स्पोर्टसअन्तर्गत पव्जी, फ्रि फायरलगायतका प्रतियोगिता हुन थालेको क्लवका अध्यक्ष बुढाथोकीले जानकारी दिएका छन् ।
प्रतियोगिता सञ्चालन हुने दिन नजिकिदै गर्दा तयारीलाई समेत तीव्र बनाइएको छ । प्रतियोगिता सञ्चालन हुने स्थानको सरसफाईसँगै कम्पाउण्ड बनाउने काम भइरहेको आयोजक दाङ सोसाईटी क्लवले जनाएको छ ।