Ad Area

लुम्बिनी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा कपिलवस्तु ९ विकेटले विजयी


छवि पुरी
घोराही, २५ चैत । लुम्बिनी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता-२०८१ मा प्युठान विरुद्ध रकपिलवस्तुले ९ विकेटको सहज जीत हासिल गरेको छ ।

लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा शुरु भएको प्रतियोगितामा प्युठानले दिएको ५७ रनको सामान्य लक्ष्य पाँच दशमलव ३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।
कपिलवस्तुका लागि रम्जान अली धुनिया र रौनक श्रीवास्तवले विजयी पारी खेले ।
पवन कुमार गुप्ता पाँच बलमा दुई रन बनाएर बिनोद पाण्डेको बलमा बोल्ड आउट भए पनि
रम्जान अली धुनियाले १६ बलमा पाँच चौकासहित अविजित २७ रन बनाउँदा रौनक श्रीवास्तवले पनि १२ बलमा चार चौकासहित अविजित २३ रन बनाउँदै कपिलवस्तुलाई ९ विकेटको सहज जीत दिलाए । प्युठानका बिनोद पाण्डेले १ विकेट लिए ।

यसअघि, घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्युठानले १७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन बनायो ।
४३ रन बनाउँदा ४ विकेट गुमाएर खेलीरहेको अवस्थामा प्युठानका ब्याटर सम्हालिन नसक्दा थप १३ रन जोड्दा ५६ रनमा अलआउट भयो ।
प्युठानका लागि राजकुमार बिष्टले १४ रन जोडे । प्रितम श्रेष्ठ र सुचित महताराले समान ८( ८ रन जोड्दा सुरबीर मल्लले ७ रन बनाए ।
प्युठानलाई सस्तैमा समेट्न गोविन्द थारुले चार ओभरमा १ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिए । यसैगरी, मुहम्मद हुसेन, महेश भार, शिव कुवर, आकाश त्रिपाठी र रमेशकुमार पाठकले समान १(१ विकेट लिए ।
कपिलवस्तुलाई जित दिलाउन महत्त्वपूर्ण ४ विकेट लिएका गोविन्द थारु प्लेयर अफ द म्याच भए ।
जीतसँगै कपिलवस्तु क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा रुकुम पूर्व बाहेक लुम्बिनीका ११ जिल्लाको सहभागीता रहेको छ ।

प्रदेश सरकारको खेलकुद परिषदले पहिलो पटक आयोजना गरिएको प्रतियोगिता दाङको दुई खेल मैदानमा भईरहेको छ । प्रदेशमा क्रिकेटको विकासका लागि खेलकुद परिषदले लुम्बिनीका खेलाडीलाई एकैथलोमा राखेर प्रतियोगिता आयोजना गरेको लुम्बिनी प्रदेश खेलकुुद परिषदका सदस्य कैलाश रोका मगरले बताए ।

दाङमा पछिल्लो समय क्रिकेट प्रतियोगिता भईरहेका छन् । जिल्लामा पर्याप्त क्रिकेट पूर्वाधार र प्राविधिक जनशक्ति उपलब्धताका कारण सहज रुपमा प्रतियोगिता आयोजना गर्न सम्भव भईरहेको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैँयाले जानकारी दिए । उनले लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र घोराहीको घोराही क्रिकेट रंगशालामा एकै पटक खेल आयोजना हुँदा समय र लागत वचतसँगै खेलको प्रभावकारिता बढेको उनले बताए ।
चैत २८ गतेसम्म चल्ने प्रतियोगिताले खेलाडीका क्षमता विकाससँगै आगामी जेठमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटका आधार तय गर्ने लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए । उनले परिषदले पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गरेर खेलाडीको अन्तरनिहित प्रतिभा उजागर गर्न सघाउ पुग्ने बताए । साथै, नेपाल क्रिकेट संघ क्यानले मान्यता नदिएका जिल्लामा रहेका प्रतिभावान खेलाडी पहिचान गर्ने प्रतियोगिताले उद्देश्य राखेको पनि बताए ।