लुम्बिनी प्रदेश स्तरीय क्रिकेटमा दाङ, कपिलबस्तु, रुपन्देही र गुल्मी विजयी

छवि पुरी
घोराही, २५ चैत । दाङमा सोमबारबाट शुरु भएको लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ मा दाङ, कपिलबस्तु, रुपन्देही र गुल्मी विजयी भएका छन् ।
लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा शुरु भएको प्रतियोगिताका खेलहरु जिल्लाको लमहीस्थित देउखरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र घोराहीस्थित घोराही त्रिकेट रंगशालामा एकै पटक शुरु भएको छ ।
पहिलो दिनको खेल अन्तरगत घोराही क्रिकेट रंगशालामा भएको पहिलो खेलमा दाङले रोल्पा विरुद्ध प्रभावशाली जीत हासिल गर्दा दोस्रो खेलमा प्युठान विरुद्ध कपिलवस्तुले ९ विकेटको सहज जीत निकाल्यो । उता, लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको पहिलो खेलमा नवलपरासी विरुद्ध रुपन्देहीले ८४ रनको जीत हासिल गर्दा दोस्रो खेलमा गुल्मीले अर्घाखाँची विरुद्ध ५ विकेटको जीत दर्ता गरेको छ । जीतसँगै चार वटै टीम प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गरेका छन् ।
घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा सोमबार भएको पहिलो रोल्पाले दिएको २६ रनको सामान्य लक्ष्य दाङले ४ दशमलव २ ओभरमा बिना विकेटको क्षतिमा २७ रन बनाउँदै क्वाटरफाइनलमा पुगेको छ । दाङका लागि कप्तान सुशान्तसिंह थापाले १३ बलमा ३ चौकासहित १३ रन र आकाश पाण्डेले १३ बलमा ३ चौकासहित १४ रन जोड्दै सहज जीत दिलाउनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रोल्पाले बिर्सनलायक प्रदर्शन गर्यो । १० दशमलव ४ ओभरमा सबै विकेट गुमाएर जम्मा २५ रन बनाएको रोल्पाका लागि दुर्गेश पुरीले सबैभन्दा धेरै १३ रन जोड्नुभयो । आकाश गुरुङले २ रन, अक्रम अलीले २ रन बनाउनुभयो । अरु खेलाडीले खाता नै खोल्न सकेनन् । रोल्पाका ९ विकेट बोल्डआउटका रुपमा खसेको थियो ।
रोल्पाको ब्याटिङ लाईनअप धरासयी पार्न दाङका स्पिनरद्वय शुभम खनाल र किशन भारतीले घातक बलिङ गर्नुभयो । शुभम खनालले १ दशमलव ४ ओभर बलिङ गर्दै जम्मा २ रन खर्चेर ३ विकेट लिँदा एउटा रन आउट पार्नुभयो । किशन भारतीले पनि २ ओभर बलिङ गर्दै ४ रन खर्चेर ३ विकेट हात पार्नुभयो । दाङका लागि बिरबहादुर घर्तीले २ ओभर बलिङ गर्दै २ मेडनसहित शून्य रनमा १ विकेट लिनुभयो । दिनेश बोहराले २ ओभरका १ मेडनसहित ३ रन दिएर १ विकेट लिँदा करण जिएमले १ ओभरमा १ रन दिएर १ विकेट लिनुभयो ।
कसिलो बलिङ गर्दै रोल्पालाई कम रनमा अलआउट गराउन महत्वपूर्ण भुमिका खेल्नु भएका दाङका शुभम खनाल प्लेयर अफ द म्याच हुनुभयो ।
सोही मैदानमा भएको अर्को खेलमा प्युठान विरुद्ध कपिलवस्तुले ९ विकेटको सहज जीत हासिल गर्यो । प्युठानले दिएको ५७ रनको सामान्य लक्ष्य पाँच दशमलव ३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । कपिलवस्तुका लागि रम्जान अली धुनिया र रौनक श्रीवास्तवले विजयी पारी खेल्नुभयो ।
पवन कुमार गुप्ता पाँच बलमा दुई रन बनाएर बिनोद पाण्डेको बलमा बोल्ड आउट भए पनि रम्जान अली धुनियाले १६ बलमा पाँच चौकासहित अविजित २७ रन बनाउँदा रौनक श्रीवास्तवले पनि १२ बलमा चार चौकासहित अविजित २३ रन बनाउँदै कपिलवस्तुलाई ९ विकेटको सहज जीत दिलाउनुभयो । प्युठानका बिनोद पाण्डेले १ विकेट लिनुभयो ।
टस जितेर पहिले ब्याटिङ गरेको प्युठानले १७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन बनायो । ४३ रन बनाउँदा ४ विकेट गुमाएर खेलीरहेको अवस्थामा प्युठानका ब्याटर सम्हालिन नसक्दा थप १३ रन जोड्दा ५६ रनमा अलआउट भयो ।
प्युठानका लागि राजकुमार बिष्टले १४ रन जोड्नुभयो । प्रितम श्रेष्ठ र सुचित महताराले समान ८–८ रन जोड्दा सुरबीर मल्लले ७ रन बनाउनुभयो । प्युठानलाई सस्तैमा समेट्न गोविन्द थारुले चार ओभरमा १ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिनुभयो । यसैगरी, मुहम्मद हुसेन, महेश भार, शिव कुवर, आकाश त्रिपाठी र रमेशकुमार पाठकले समान १–१ विकेट लिनुभयो । कपिलवस्तुलाई जित दिलाउन महत्वपूर्ण ४ विकेट लिएका गोविन्द थारु प्लेयर अफ द म्याच हुनुभयो ।
उता, लमहीमा भएको पहिलो खेलमा नवलपरासी विरुद्ध रुपन्देहीले ८४ रनको जीत हासिल गर्यो । १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको नवलपरासी १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ६२ रनमा समेटिएपछि रुपन्देहीले ८४ रनको सानदार जीत हासिल गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।
नवलपरासीका लागि ओमकार यादवले सर्वाधिक ३१ रन जोड्नुभयो । ओमकारले २२ बलमा २ छक्का र २ चौकाको मद्दमा २१ रन जोड्दै बिपर्शन केसीको बलमा बोल्ड आउट हुनुभयो । नवलपरासीका दीलिप कुर्मीले ११ रन जोड्ने बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । मनिष तिवारी ५ रन, हिल्सन पाण्डे र शिशिर थापाले समान ४–४ रन जोड्नुभयो ।
नवलपरासीलाई सस्तैमा समेट्न रुपन्देहीका रमेश कुर्मीले महत्त्वपूर्ण चार विकेट चट्कानुभयो । उहाँले चार ओभरमा ८ रन खर्चेर ४ विकेट लिनुभयो । बिपर्शन केसीले ३ ओभरमा १२ रन दिएर २ विकेट लिँदा कृष्ण कार्कीले ३ दशमलव ४ ओभरमा २ विकेट लिनुभयो । अजय चौहानले ४ ओभरमा १७ रन दिएर १ विकेट लिनुभयो ।
टस हारेर पहिले ब्याटिङ गरेको रुपन्देहीले रुपन्देहीका लागि प्रज्वल थापाको अर्धशतक मद्दतमा १४६ रन बनाएको थियो । प्रज्वलले ३७ बलमा १ छक्का र ६ चौकाको मद्दतमा ५० रन जोड्दै ईक्लाक अहमद वारसीको बलमा कट एण्ड बोल्ड हुनुभयो । मनिष थापाले २१ बलमा १ चौकासहित १६ रन, सुमन पाण्डेले १३ बलमा २ चौकासहित १५ रन जोड्नुभयो । अजय चौहान र कप्तान देव खनालले समान १२–१२ रन जोड्नुभयो । मृनाल गुरुङ १० जोडेर पेभेलियन फर्किँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । नवलपरासीका लागि ईक्लाक अहमद वारसीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिनुभयो । यसैगरी, दीलिप कुर्मी, जितेन्द्र केवट सहनी, शिशिर थापा, यमन भण्डारीले समान १–१ विकेट लिनुभयो । रुपन्देहीका रमेश कुर्मी प्लेयर अफ द म्याच हुनुभयो ।
यसैगरी, लमहीमा भएको दोस्रो खेलमा अर्घाखाँची विरुद्ध गुल्मीले ५ विकेटको जीत हासिल गरेको छ । अर्घाखाँचीले दिएको ८४ रनको मध्यम लक्ष्य गुल्मीले १५ दशमलव २ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्दै जीत दर्ता गर्याे ।
गुल्मीका लागि सम्राट थापाले २९ बलमा २ चौकासहित अविजित २० रन जोड्नुभयो । यसैगरी, लक्ष्मण घिमिरे ५ रनमा अविजित रहँदा बिक्रम गौतम १७ रन बनाएर सुप्रिम सुनारको बलमा बोल्ड हुनुभयो । संगम न्यौपानेले ११ रन, त्रिदेव कार्कीले १० रन, बिबेक भण्डारीले ८ रन बनाउनुभयो ।
अर्घाखाँचीका मनोज भुसालले ३विकेट हात पार्दा बाबुराम थापा र सुप्रिम सुनारले १–१ विकेट लिनुभयो । यसअघि, टस हारेर ब्याटिङ गरेको अर्घाखाँचीले १७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन बनायो । अर्घाखाँचीका लागि ओपनर विशेष भाटले सर्वाधिक ३६ रन बनाउनुभयो । उहाँले ४० बलको सामना गर्दै ३ चौकाको मद्दतमा ३६ रन जोड्दै रनआउट हुनुभयो । रोशन घिमिरेले ३० बलमा १३ जोड्दै त्रिदेव कार्कीको बलमा बोल्ड हुनुभयो । अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
अर्घाखाँचीलाई मध्यम लक्ष्यमा रोक्न गुल्मीका रामचन्द्र टण्डनले चार ओभर बलिङ गर्दै जम्मा ९ रन दिएर ६ विकेट लिनुभयो । त्रिदेव कार्की, सुरज सारु र प्रदीप भण्डारीले समान १–१ विकेट लिनुभयो । गुल्मीका लागि जीतको आधार तय गरेका ६ विकेट टेकर रामचन्द्र टण्डन प्लेयर अफ द म्याच हुनुभयो । प्रतियोगिता अन्तरगत मंगलबार सेमिफाईनलका खेल हुनेछन् ।
प्रदेश सरकारको खेलकुद परिषदले पहिलो पटक आयोजना गरिएको प्रतियोगिता दाङको दुई खेल मैदानमा भईरहेको छ । प्रदेशमा क्रिकेटको विकासका लागि खेलकुद परिषदले लुम्बिनीका खेलाडीलाई एकैथलोमा राखेर प्रतियोगिता आयोजना गरेको लुम्बिनी प्रदेश खेलकुुद परिषदका सदस्य कैलाश रोका मगरले बताउनुभयो । लुम्बिनीको रुकुमपूर्व बाहेक ११ जिल्लाका खेलाडी प्रतियोगिता खेल्न दाङ आएका छन् ।
दाङमा पछिल्लो समय क्रिकेट प्रतियोगिता भईरहेका छन् । जिल्लामा पर्याप्त क्रिकेट पूर्वाधार र प्राविधिक जनशक्ति उपलब्धताका कारण सहज रुपमा प्रतियोगिता आयोजना गर्न सम्भव भईरहेको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैँयाले जानकारी दिनुभयो । उहाँले लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र घोराहीको घोराही क्रिकेट रंगशालामा एकै पटक खेल आयोजना हुँदा समय र लागत वचतसँगै खेलको प्रभावकारिता बढेको उहाँले बताउनुभयो ।
चैत २८ गतेसम्म चल्ने प्रतियोगिताले खेलाडीका क्षमता विकाससँगै आगामी जेठमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटका आधार तय गर्ने लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिनुभयो । उहाँले परिषदले पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गरेर खेलाडीको अन्तरनिहित प्रतिभा उजागर गर्न सघाउ पुग्ने बताउनुभयो । साथै, नेपाल क्रिकेट संघ क्यानले मान्यता नदिएका जिल्लामा रहेका प्रतिभावान खेलाडी पहिचान गर्ने प्रतियोगिताले उद्देश्य राखेको पनि बताउनुभयो ।
खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध: मन्त्री न्याैपाने
लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा शुरु भएको प्रतियोगिताको उदघाटन लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले गर्नुभएको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषद का सदस्य सुचिव तिरनदाज गौतमको अध्यक्षतामा घोराही क्रिकेट रंगशालामा प्रतियोगिता उदघाटन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले खेलकुदको विकासका लागि प्रदेश सरकारले राम्रो प्रयास गरिरहेको बताउनुभयो । नेपालका पछिल्लो समय क्रिकेटको राम्रो सम्भावना रहेको हुँदा यसको विकासका लागि पूर्वाधार विकाससँगै खेलकुदका गतिविधि चलायमान बनाउन सरकारले ध्यान दिएको बताउनुभयो ।
नेपालबाट अहिले विश्वका चर्चित लिग खेल्न खेलाडीहरु सहभागी हुँदा क्रिकेटको व्यावसायिक विकाससँगै नेपालको नाम पनि चर्चामा चुलिँदै गएको हुँदा सबै क्षेत्रबाट सकारात्मक साथ र हौसला चाहिएको बताउनुभयो । दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष तथा क्यान सदस्य प्रदीप मजगैयाँले क्रिकेटको विकाससँगै खेलाडी उत्पादनका लागि यस प्रकारका प्रतियोगिता निकै फलदायी हुने बताउनुभयो ।
क्यानको सदस्यता पाउन नसकेका जिल्लाबाट पनि अहिले राम्रा खेलाडी उत्पादन हुन थालेकाले आगामी दिनमा क्यानले जिल्लाको क्रिकेट विकासका लागि ती जिल्लालाई पनि सदस्यता दिएर क्रिकेट गतिविधि बढाउने योजना बनाएको बताउनुभयो ।
लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य बालकृष्ण खत्रीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण प्रदेश खेलकुद परिषद सदस्य कैलाश रोका मगरले गर्नुभएको थियो ।