दोस्रो घोराही गोल्ड कपको फाईनलमा राप्ती गाउँपालिका

छवि पुरी
घोराही, २६ चैत । दाङमा जारी दोस्रो संस्करणको घोराही गोल्ड कप–२०८१ मा राप्ती गाउँपालिका फाईनल प्रवेश गरेको छ । घोराही १८ नवलपुर फुटबल मैदानमा आज भएको खेलमा राप्तीले तुलसीपुर उपमहानगरपालिकाको टीमलाई ३-० गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।
घोराही उपमहानगरपालिका खेलकुद विकास समितिले आयोजनामा जारी प्रतियोगिता अन्तरगत आज बिहान भएको पहिलो सेमिफाइनलमा राप्तीका लागि सुरज सार्कीले २ गोल गर्दा भुपेन्द्र कार्कीले १ गोल गरे ।
राप्तीले काउन्टर अट्याक गर्दै डिफेन्स र गोलकिपरको तालमेल नमिलेको अवस्थामा खेल शुरु भएको पाँच मिनेटमै भुपेन्द्र कार्कीले गोल गर्दै १-० को अग्रता दिलाए । दोस्रो हाफमा पनि राप्तीले थप दुई गोल गर्यो ।
खेलको ६१ औँ मिनेटमा पेनाल्टी बक्समा गोलकिपरले बल नियन्त्रणमा लिन नसकेपछि सुरज सार्कीले बललाई जाली चुमाए । यस्तै, खेलको ७७ औँ मिनेटमा तेस्रो गोल पनि सुरजले नै गरे । सब्स्टिच्युट खेलाडीका रुपमा मैदान छिरेका सुरजले लगाता दुई गोल गरेपछि राप्तीलाई फाईनल यात्रा सहज बन्यो ।
तेस्रो गोलका रुपमा राप्तीका अमित चौधरी सेन्टरलाईनबाट बल अघि बढाउँदै गोललाईनमा गरेको क्रस सुरज सार्कीले गोलमा परिणत गरे । राप्तीका रक्षात्मक पंक्ति बलियोे बनाउन महत्त्वपूर्ण भुमिका खेलेका राप्तीका शंकर रोका प्लेयर अफ द म्याच भए । उनले नगद २५ सय प्राप्त गरे ।
यसअघि राप्ती गाउँपालिकाले शान्तिनगर गाउँपालिकालाई ३–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो । राप्तीलाई जीत दिलाउन भुपेन्द्र कार्कीले ह्याट्रिक गोल गरेका थिए ।
दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिका गरी ८ वटा पालिका टीमको सहभागीता रहेको दोस्रो घोराही गोल्ड कपले अन्तरपालिका बीच खेल भावनाको विकास गर्न र खेलाडीहरुको क्षमता विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको छ । अब दोस्रो सेमिफाइनलमा घोराही उपमहानगरपालिका र गढवा गाउँपालिका बीच मंगलबार दिउँसो ३ बजेपछि खेल हुने आयोजकले जनाएको छ । हिजो भएको खेलमा घोराहीले राजपुरलाई ४-० गोल हराउँदै सेमिफाइनल पुगेको छ ।
चैत २७ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने दोस्रो हुने टीमले नगद ८० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने घोराही नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विधागत रुपमा उत्कष्ट हुने खेलाडीलाई पनि ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।