Ad Area

लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेटको फाईनलमा दाङ


छबि पुरी

घोराही, २७ चैत । दाङमा जारी लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ मा कपिलवस्तुलाई ६ विकेटले हराउँदै दाङ फाईनलमा प्रवेश गरेको छ ।

लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोेजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा जारी प्रतियोगिता अन्तरगत आज घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा भएको खेलमा कपिलवस्तुलाई ६ विकेटले हराउँदै दाङले फाईनल यात्रा तय गरेको हो ।

कपिलवस्तुले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको दाङले उक्त लक्ष्य १७ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै फाईनलमा पुगेको हो । दाङका लागि कप्तान सुशान्तसिंह थापा र दिनेश बोहराले २९ रनको ओपनिङ साझेदारी गर्दै जीतको आधार तय गरे ।
सुशान्तले २४ बलमा ४ चौकासहित २१ रन बनाएर शिव कुँबरको बलमा आकाश त्रिपाठीको हातबाट क्याच आउट भए ।

दिनेश बोहराले १० बलमा २ चौकासहित ९ रन जोडेर कपिलवस्तुकम कप्तान आकाश त्रिपाठीको बलमा एलबीडब्लू आउट भए । शिशिर डिसी २५ बलमा १ छक्का र १ चौकासहित २० रनमा अविजित रहँदा हेमराज सापकोटाले १८ बलमा १० रनको योगदान दिए । मनोज पुन २८ बलमा २ चौकासहित २० रन बनाएर आउट हुँदा तुलबहादुर थापाले अविजित ५ रन जोड्दै जीत दिलाए ।

कपिलवस्तुका शिव कुवरले ४ ओभरमा ८ रन खर्चेर २ विकेट हात पार्दा आकाश त्रिपाठी र रौनक श्रीवास्तवले १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कपिलवस्तुले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो । पाँच दशमलव ४ ओभरमा २४ रन बनाउँदा पहिलो विकेट गुमाएको कपिलवस्तुका मध्यक्रमका ब्याटर सम्हालिन नसक्दा ९१ रन बनाउँदा अलआउट भयो ।

कपिलवस्तुका लागि महेश भारले ७ बलमा ३ चौकासहित अविजित १५ रन जोडे । यस्तै, आकाश त्रिपाठीले १३ बलमा १४ रन, अनुजकुमार तेलीले ११ बलमा १३ रन, सहबाज अलीले १८ बलमा १२ रन, रम्जान अलीले २४ बलमा ११ रन, शिव कुवरले १६ बलमा १० रन बनाए ।

बलिङमा दाङका तुलबहादुर थापाले मध्यक्रमका ब्याटरलाई धरासयी पारे । उनले ३ दशमलव ३ ओभरमा १३ रन खर्चेर ४ विकेट हात पारे । दिनेश बोहराले ४ ओभरमा १ मेडनसहित १७ रन दिएर ३ विकेट लिँदा शुभम खनालले ४ ओभरमा १ मेडनसहित १३ रन दिएर २ विकेट लिए ।
दाङलाई फाईनलमा पुर्याउन महत्त्वपूर्ण योगदान दिएका तुलबहादुर थापा प्लेयर अफ द म्याच भए ।

चैतको २५ गतेदेखि जारी प्रतियोगिताको फाईनल खेल लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार बिहान ९ बजेपछि हुनेछ । प्रदेश सरकारको खेलकुद परिषदले पहिलो पटक आयोजना गरिएको प्रतियोगिता दाङको दुई खेल मैदानमा भईरहेको छ ।

प्रदेशमा क्रिकेटको विकासका लागि खेलकुद परिषदले लुम्बिनीका खेलाडीलाई एकैथलोमा राखेर प्रतियोगिता आयोजना गरेको लुम्बिनी प्रदेश खेलकुुद परिषदका सदस्य कैलाश रोका मगरले बताए ।

दाङमा पछिल्लो समय क्रिकेट प्रतियोगिता भईरहेका छन् । जिल्लामा पर्याप्त क्रिकेट पूर्वाधार र प्राविधिक जनशक्ति उपलब्धताका कारण सहज रुपमा प्रतियोगिता आयोजना गर्न सम्भव भईरहेको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैँयाले जानकारी दिए । उनले लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र घोराहीको घोराही क्रिकेट रंगशालामा एकै पटक खेल आयोजना हुँदा समय र लागत वचतसँगै खेलको प्रभावकारिता बढेको उनले बताए ।

प्रतियोगिताले खेलाडीका क्षमता विकाससँगै आगामी जेठमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटका आधार तय गर्ने लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए । उनले परिषदले पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गरेर खेलाडीको अन्तरनिहित प्रतिभा उजागर गर्न सघाउ पुग्ने बताए । साथै, नेपाल क्रिकेट संघ क्यानले मान्यता नदिएका जिल्लामा रहेका प्रतिभावान खेलाडी पहिचान गर्ने प्रतियोगिताले उद्देश्य राखेको पनि बताए ।