Ad Area

दोस्रो घोराही गोल्ड कपको उपाधिका लागि घोराही र राप्ती गाउँपालिका भिड्ने


छबि पुरी
घोराही, २६ चैत । दाङको घोराहीमा जारी दोस्रो संस्करणको घोराही गोल्ड कप–२०८१ को उपाधिका लागि साविक विजेता घोराही उपमहानगरपालिका र राप्ती गाउँपालिका खेल्ने भएका छन् ।

घोराही १८ नवलपुर फुटबल मैदानमा मंगलबार भएको खेलमा पहिलो सेमिफाइनलमा राप्तीले तुलसीपुर उपमहानगरपालिकाको टीमलाई ३–० गोलले हराउँदै उपाधि नजिक पुगेको छ भने दोस्रो सेमिफाईनलमा आयोजक घोराहीले गढवा गाउँपालिकालाई ५–१ गोल अन्तरले हराउँदै फाईनल यात्रा तय गरेको छ ।

घोराही उपमहानगरपालिका खेलकुद विकास समितिले आयोजनामा जारी प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनलमा राप्तीका लागि सुरज सार्कीले २ गोल गर्दा भुपेन्द्र कार्कीले १ गोल गर्नुभयो ।

राप्तीले काउन्टर अट्याक गर्दै डिफेन्स र गोलकिपरको तालमेल नमिलेको अवस्थामा खेल शुरु भएको पाँच मिनेटमै भुपेन्द्र कार्कीले गोल गर्दै १–० को अग्रता दिलाउनुभयो । दोस्रो हाफमा पनि राप्तीले थप दुई गोल गर्यो । खेलको ६१ औँ मिनेटमा पेनाल्टी बक्समा गोलकिपरले बल नियन्त्रणमा लिन नसकेपछि सुरज सार्कीले बललाई जाली चुमाउनुभयो । यस्तै, खेलको ७७ औँ मिनेटमा तेस्रो गोल पनि सुरजले नै गर्नुभयो । सब्स्टिच्युट खेलाडीका रुपमा मैदान छिरेका सुरजले लगातार दुई गोल गरेपछि राप्तीलाई फाईनल यात्रा सहज बन्यो ।

तेस्रो गोलका रुपमा राप्तीका अमित चौधरी सेन्टरलाईनबाट बल अघि बढाउँदै गोललाईनमा गरेको क्रस सुरज सार्कीले गोलमा परिणत गर्नुभयो ।

यसैगरी, दोस्रो सेमिफाईनलमा साविक विजेता घोराहीले पहिलो हाफमा २–० को अग्रता बनाउँदा दोस्रो हाफमा थप ३ गोल गर्दा १ गोल खायो ।
पहिलो हाफको ३० मिनेटमा प्रमोद बुढाले गोल गर्दा अग्रता दिलाउनुभयो । खेलको ३७औँ मिनेटमा सुशील बानियाले अर्को गोल गर्नुभयो ।

दोस्रो हाफको ६१औँ मिनेटमा बिक्रम घर्तीले गोल गर्दा गोल ८४ औँ मिनेटमा सुशील बानियाले अर्को गोल थप्नुभयो । खेलको इन्जुरी समयमा बिक्रम घर्तीले अर्को एक गोल गर्दै पाँच गोल पुर्याउँदा गढवाका शिव कुमालले दोस्रो हाफको ७८औँ मिनेटमा सान्त्वना गोल गर्नुभयो ।

साविक विजेता घोराही र राप्ती गाउँपालिका बीच उपाधिका लागि बुधबार दिउँसो ३ बजेपछि नवलपुर फुटबल मैदानमा खेल हुने घोराही नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिका गरी ८ वटा पालिका टीमको सहभागीता रहेको दोस्रो घोराही गोल्ड कपले अन्तरपालिका बीच खेल भावनाको विकास गर्न र खेलाडीहरुको क्षमता विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको छ ।

प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने दोस्रो हुने टीमले नगद ८० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने घोराही नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा विधागत रुपमा उत्कष्ट हुने खेलाडीलाई पनि ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने पुनले जानकारी दिनुभयो ।