लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको फाईनलमा रुपन्देही

छबि पुरी
लमही, २७ चैत । दाङमा जारी लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ को सेमिफाइनलमा बर्दियालाई ७ विकेटले हराउँदै रुपन्देही फाईनल प्रवेश गरेको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषादको आयोेजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा जारी प्रतियोगिता अन्तरगत आज लमही –५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा बर्दियालाई ७ विकेटले हराउँदै रुपन्देहीले फाईनल यात्रा तय गरेको हो ।
बर्दियाले दिएको ७७ रनको सामान्य लक्ष्य पछ्याएको रुपन्देहीले उक्त लक्ष्य ९ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै फाईनलमा पुगेको हो । रुपन्देहीका लागि कप्तान देव खनाल र मृनाल गुरुङले पहिलो विकेटका लागि ३३ रनको ओपनिङ साझेदारी गर्दै जीतको आधार तय गरे । देव खनालले १२ बलमा १ छक्का र ३ चौकासहित २१ रन बनाएर सनम बुढाको बलमा एलबीडब्लू आउट भए ।
मृनालले २३ बलमा ५ चौकासहित २५ रन जोडेर सनम बुढाकै बलमा एलबीडब्लू आउट भए । प्रज्वल थापा पनि ७ बलमा ६ रन जोड्दै सनम बुढाको बलमा निखिल खत्रीको हातबाट क्याच आउट भए । मनिष थापा १० रन र सुमन पाण्डे ८ रनमा अविजित रहँदै ६६ बल अगावै जीत दिलाए । बलिङमा बर्दियाका लागि सनम बुढाले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको बर्दियाले राम्रो शुरुवात गर्न सकेन । पहिलो बलमा रुपन्देहीका सन्देश थापाले असिम गिरीलाई बोल्ड गर्दै पेभेलियनको दिशा देखाउँदा अरु ब्याटर पनि सस्तैमा समेटिए । आठौँ विकेटका लागि २९ रनको साझेदारी बन्दा बर्दियाका निर्मल गुरुङले पारी उकास्ने कोशिस गरे । उनले २२ बलमा ४ छक्का र १ चौकासहित ४३ रन बनाउँदा अरु खेलाडीले साथ दिन सकेनन् ।
निखिल खत्रीले २७ बलमा १२ रन, अभिशेष राठोरले ९ बलमा ७ रन बनाए ।
पाँचौ ओभरमा १० रन जोड्दा चार विकेट गुमाएको बर्दिया थप ६६ रन बनाउँदा अलआउट भयो । बर्दियाको पारी धरासयी पार्न कृष्ण कार्कीले उत्कृष्ट बलिङ गरे । उनले ३ दशमलव ४ ओभरमा १ मेडनसहित जम्मा ७ रन खर्चेर पाँच विकेट हात पारे । सन्देश थापाले ३ ओभरमा ८ रन दिएर २ विकेट लिँदा अजय चौहानले पनि २ ओभरमा ४ रन दिएर २ विकेट लिए । फाईनल यात्राका लागि जीत सम्भव बनाउन महत्त्वपूर्ण याोगदान दिएका रुपन्देहीका कृष्ण कार्की प्लेयर अफ द म्याच भए ।
अब प्रतियोगिताको फाईनल खेलमा रुपन्देहीले दाङको सामना गर्नेछ । दाङले कपिलवस्तुलाई ६ विकेटले हराउँदै फाईनलमा पुगेको छ। दुई टीम बीचको फाईनल खेल लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार बिहान ९ बजेपछि हुनेछ ।
प्रदेश सरकारको खेलकुद परिषदले पहिलो पटक आयोजना गरिएको प्रतियोगिता दाङको दुई खेल मैदानमा भईरहेको छ । प्रदेशमा क्रिकेटको विकासका लागि खेलकुद परिषदले लुम्बिनीका खेलाडीलाई एकैथलोमा राखेर प्रतियोगिता आयोजना गरेको लुम्बिनी प्रदेश खेलकुुद परिषदका सदस्य कैलाश रोका मगरले बताए ।
दाङमा पछिल्लो समय क्रिकेट प्रतियोगिता भईरहेका छन् । जिल्लामा पर्याप्त क्रिकेट पूर्वाधार र प्राविधिक जनशक्ति उपलब्धताका कारण सहज रुपमा प्रतियोगिता आयोजना गर्न सम्भव भईरहेको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैँयाले जानकारी दिए । उनले लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र घोराहीको घोराही क्रिकेट रंगशालामा एकै पटक खेल आयोजना हुँदा समय र लागत वचतसँगै खेलको प्रभावकारिता बढेको उनले बताए ।
प्रतियोगिताले खेलाडीका क्षमता विकाससँगै आगामी जेठमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोटका आधार तय गर्ने लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए । उनले परिषदले पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गरेर खेलाडीको अन्तरनिहित प्रतिभा उजागर गर्न सघाउ पुग्ने बताए । साथै, नेपाल क्रिकेट संघ क्यानले मान्यता नदिएका जिल्लामा रहेका प्रतिभावान खेलाडी पहिचान गर्ने प्रतियोगिताले उद्देश्य राखेको पनि बताए ।