लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेटको उपाधिका लागि दाङ र रुपन्देही भिड्ने

छबि पुरी
घोराही, २७ चैत । दाङमा जारी लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ को उपाधिका लागि दाङ र रुपन्देहीको टीम भिड्ने भएका छन् ।
लुम्बिनी प्रदेश खेलकुद परिषादको आयोेजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा दाङमा जारी प्रतियोगिता अन्तरगत बुधबार सेमिफाईनलका खेल सकिएसँगै फाईनल खेल्ने दुई टोलीको टुंगो लागेको हो ।
सेमिफाईनलका खेल अन्तरगत घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा भएको खेलमा कपिलवस्तुलाई ६ विकेटले हराउँदै दाङले फाईनल यात्रा तय गरेको छ । कपिलवस्तुले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको दाङले उक्त लक्ष्य १७ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै फाईनलमा पुगेको हो । दाङका लागि कप्तान सुशान्तसिंह थापा र दिनेश बोहराले २९ रनको ओपनिङ साझेदारी गर्दै जीतको आधार तय गरे ।
सुशान्तले २४ बलमा ४ चौकासहित २१ रन बनाएर शिव कुँबरको बलमा आकाश त्रिपाठीको हातबाट क्याच आउट भए । दिनेश बोहराले १० बलमा २ चौकासहित ९ रन जोडेर कपिलवस्तुकम कप्तान आकाश त्रिपाठीको बलमा एलबीडब्लू आउट भए । शिशिर डिसी २५ बलमा १ छक्का र १ चौकासहित २० रनमा अविजित रहँदा हेमराज सापकोटाले १८ बलमा १० रनको योगदान दिए । मनोज पुन २८ बलमा २ चौकासहित २० रन बनाएर आउट हुँदा तुलबहादुर थापाले अविजित ५ रन जोड्दै जीत दिलाए ।
कपिलवस्तुका शिव कुवरले ४ ओभरमा ८ रन खर्चेर २ विकेट हात पार्दा आकाश त्रिपाठी र रौनक श्रीवास्तवले १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कपिलवस्तुले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो । पाँच दशमलव ४ ओभरमा २४ रन बनाउँदा पहिलो विकेट गुमाएको कपिलवस्तुका मध्यक्रमका ब्याटर सम्हालिन नसक्दा ९१ रन बनाउँदा अलआउट भयो ।
कपिलवस्तुका लागि महेश भारले ७ बलमा ३ चौकासहित अविजित १५ रन जोडे । यस्तै, आकाश त्रिपाठीले १३ बलमा १४ रन, अनुजकुमार तेलीले ११ बलमा १३ रन, सहबाज अलीले १८ बलमा १२ रन, रम्जान अलीले २४ बलमा ११ रन, शिव कुवरले १६ बलमा १० रन बनाए ।
बलिङमा दाङका तुलबहादुर थापाले मध्यक्रमका ब्याटरलाई धरासयी पारे । उनले ३ दशमलव ३ ओभरमा १३ रन खर्चेर ४ विकेट हात पारे । दिनेश बोहराले ४ ओभरमा १ मेडनसहित १७ रन दिएर ३ विकेट लिँदा शुभम खनालले ४ ओभरमा १ मेडनसहित १३ रन दिएर २ विकेट लिए । दाङलाई फाईनलमा पुर्याउन महत्त्वपूर्ण योगदान दिएका तुलबहादुर थापा प्लेयर अफ द म्याच भए ।
यसैगरी, बुधबार भएको अर्को सेमिफाइनलमा बर्दियालाई ७ विकेटले हराउँदै रुपन्देही फाईनल प्रवेश गरेको छ । लमही –५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा बर्दियालाई ७ विकेटले हराउँदै रुपन्देहीले फाईनल यात्रा तय गरेको हो । बर्दियाले दिएको ७७ रनको सामान्य लक्ष्य पछ्याएको रुपन्देहीले उक्त लक्ष्य ९ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै फाईनलमा पुगेको हो ।
रुपन्देहीका लागि कप्तान देव खनाल र मृनाल गुरुङले पहिलो विकेटका लागि ३३ रनको ओपनिङ साझेदारी गर्दै जीतको आधार तय गरे । देव खनालले १२ बलमा १ छक्का र ३ चौकासहित २१ रन बनाएर सनम बुढाको बलमा एलबीडब्लू आउट भए ।
मृनालले २३ बलमा ५ चौकासहित २५ रन जोडेर सनम बुढाकै बलमा एलबीडब्लू आउट भए । प्रज्वल थापा पनि ७ बलमा ६ रन जोड्दै सनम बुढाको बलमा निखिल खत्रीको हातबाट क्याच आउट भए । मनिष थापा १० रन र सुमन पाण्डे ८ रनमा अविजित रहँदै ६६ बल अगावै जीत दिलाए । बलिङमा बर्दियाका लागि सनम बुढाले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको बर्दियाले राम्रो शुरुवात गर्न सकेन । पहिलो बलमा रुपन्देहीका सन्देश थापाले असिम गिरीलाई बोल्ड गर्दै पेभेलियनको दिशा देखाउँदा अरु ब्याटर पनि सस्तैमा समेटिए । आठौँ विकेटका लागि २९ रनको साझेदारी बन्दा बर्दियाका निर्मल गुरुङले पारी उकास्ने कोशिस गरे । उनले २२ बलमा ४ छक्का र १ चौकासहित ४३ रन बनाउँदा अरु खेलाडीले साथ दिन सकेनन् ।
निखिल खत्रीले २७ बलमा १२ रन, अभिशेष राठोरले ९ बलमा ७ रन बनाए । पाँचौ ओभरमा १० रन जोड्दा चार विकेट गुमाएको बर्दिया थप ६६ रन बनाउँदा अलआउट भयो ।
बर्दियाको पारी धरासयी पार्न कृष्ण कार्कीले उत्कृष्ट बलिङ गरे । उनले ३ दशमलव ४ ओभरमा १ मेडनसहित जम्मा ७ रन खर्चेर पाँच विकेट हात पारे । सन्देश थापाले ३ ओभरमा ८ रन दिएर २ विकेट लिँदा अजय चौहानले पनि २ ओभरमा ४ रन दिएर २ विकेट लिए । फाईनल यात्राका लागि जीत सम्भव बनाउन महत्वपूर्ण याोगदान दिएका रुपन्देहीका कृष्ण कार्की प्लेयर अफ द म्याच भए ।
प्रतियोगिताको फाईनल खेलमा रुपन्देहीले दाङको सामना गर्नेछ । दुई टीम बीचको फाईनल खेल लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार बिहान ९ बजेपछि हुने प्रतियोगिता संयोजक तथा लुम्बिनी प्रदेश खेलकुुद परिषदका सदस्य कैलाश रोका मगरले जानकारी दिए ।