अलपत्र हुलाकी सडक, सम्पर्कमा आउन निर्माण व्यवसायीलाई सूचना

लीलाधर वली
दाङ, २८ चैत । हुलाकी राजमार्ग अन्तर्गत दाङ खण्डमा काम अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाही गरिने भएको छ । हुलाकी राजमार्ग योजना निर्देशनालय योजना कार्यालय नेपालगन्जले सातदिने सूचना जारी गर्दै निर्माण व्यवसायीलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ ।
सडक कालोपत्रे गर्नका लागि ठेक्का प्राप्त गरेको निर्माण कम्पनी बज्रगुरु कान्छाराम जेभीले अपेक्षा अनुसार काम नगरेर सडक अलपत्र अवस्थामा छोडेपछि चैत २५ गते कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित जवाफ पेस गर्न सूचना जारी गरेको छ । सूचनालाई बेवास्ता गरी सम्पर्कमा नआए ठेक्का प्रक्रिया रद्द गरी नयाँ निर्माण कम्पनीमार्फत् सडक निर्माणको काम अघि बढाउने तयारी रहेको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका प्रमुख लीला भण्डारीले जानकारी दिएका छन् ।
निर्माण व्यवसायीको लापरवाहीका कारण हुलाकी सडक अन्तर्गत दाङको गढवा–कालाकाँटे सडकखण्ड विगत पाँच वर्षदेखि अलपत्र परेको छ । हुलाकी सडक अन्तर्गत वनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक तीन वर्षभित्र कालोपत्रे गर्ने गरी ६७ करोडको लागतमा २०७६ साल कात्तिक २९ गते बज्रगुरु कान्छाराम जेभी ललितपुरसँग ठेक्का सम्झौता भएको थियो ।
ठेक्का सम्झौता अनुसार २०७९ साल कात्तिकमा सकिनुपर्ने सडक निर्माणको काम दुई पटक गरेर करिब तीन वर्ष म्याद थप गर्दा पनि ४० प्रतिशत मात्र काम भएको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका प्रमुख भण्डारीले बताए । कार्यालयका अनुसार २० किलोमिटर सडकमध्ये करिब छ किलोमिटर मात्र सडक कालोपत्रेकोे काम भएको छ । उनका अनुसार करिब नौ किलोमिटरमा बेस निर्माणसहित कालोपत्रेका लागि पहिलो चरणको लेयरको काम भएको छ ।
ठेक्का सम्झौता मितिमा काम नभएपछि पहिलो पटक २०७९ मङ्सिरमा २०८० साल साउन १० सम्मलाई म्याद थप गरिएको थियो । मङ्सिरमा काम सुरु गरेको निर्माण व्यवसायीले डेढ किलोमिटर सडक कालोपत्रे गरेर पुनः काम छोड्दा सडक अलपत्र बन्न पुगेको थियो । निर्माण कम्पनीको ५१ प्रतिशत शेयर किनेर काजी शेर्पाले असोजमा काम अघि बढाए पनि पुनः काम रोकिँदा स्थानीयले सास्ती व्यहोरिरहेका छन् ।
निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न कार्यालयले पटक–पटक ताकेता गर्दा पनि अटेर गरेपछि ठेक्का सम्झौता रद्द गर्न प्रक्रिया अघि बढाइएको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका प्रमुख भण्डारीले बताए । कार्यालय प्रमुख भण्डारीले भने, ‘हुलाकी सडकको वनघुस्री–गढवा सडक निर्माणको काममा निर्माण व्यवसायीको चरम लापरवाहीका कारण अहिलेसम्म काम आधा हुन सकेको छैन ।’ निर्माण व्यवसायी सम्पर्कमा नआए ठेक्का तोडेर नयाँ कम्पनीमार्फत् सडक निर्माण अघि बढाइने उनले बताए । कार्यालय प्रमुख भण्डारीका अनुसार हुलाकी सडक अन्तर्गत पाँचवटा खोलामा पुल निर्माणको काम सन्तोषजनक गरेको भए पनि सडक निर्माणमा चरम लापरवाही भएको प्रमुख भण्डारीले बताए । उनका अनुसार सडक निर्माणमा ३९ प्रतिशत वित्तीय प्रगति रहेको छ ।
हुलाकी सडक अन्तर्गत ठेक्का लागेको गढवादेखि राजपुरसम्मको करिब २१ किलोमिटर सडक भने निर्माण सकिएको छ । सडक विस्तारसँगै कालोपत्रे गर्नका लागि २०७६ मङ्सिर १ गते ६९ करोडको लागतमा एपेक्स कन्काइ खड्का कृष्ण प्रालिसँग ठेक्का सम्झौता भएकोमा २०८० निर्माण कम्पनीले काम सम्पन्न गरेको थियो । ठेक्का सम्झौता अनुसार २०७९ ्सालमा सम्पन्न हुनुपर्ने काम नसकिएपछि एक वर्ष थप गरिएको अवधिमा काम सम्पन्न भएको थियो ।
सडक निर्माण भएपछि देउखुरी क्षेत्रका नागरिकलाई सहजतासँगै पूर्व–पश्चिम महेन्द्र राजमार्गको दाङ खण्डमा वैकल्पिक सडकका रूपमा लिइएको छ । हुलाकी सडक निर्माण भएपछि देउखुरीबासीलाई नेपालगन्ज जान आउन सहजता हुने भएको छ । हुलाकी सडक अन्तर्गत राजपुरको गंगदीदेखि पश्चिमतिर बाँकेजिल्ला जोड्ने सडकका लागि भने अझै ठेक्का लाग्न सकेको छैन ।