लुम्बिनी प्रदेश स्तरीय फुटबलमा दाङ, बर्दिया र बाँके विजयी

छवि पुरी
घोराही, २८ चैत । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा शुरु भएको प्रदेश स्तरीय फुटबल प्रतियोगितामा दाङ, बर्दिया र बाँके विजय भएका छन् ।
दाङको घोराहीस्थित लुम्बिनी फुटबल एकेडेमीको मैदान र तुलसीपुरको बेलझुण्डी रंगशालामा बिहीबारदेखि शुरु भएको प्रतियोगितामा दाङ, बर्दिया र बाँके विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका हुन् ।
घोराहीमा भएको पहिलो खेलमा दाङले प्युठानलाई १०-० गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गर्दा दोस्रो खेलमा बाँके विजयी भयो ।
बाँके र कपिलवस्तु टीम बीचको खेलमा कपिलवस्तु नआएपछि वाकओभर पाएको बाँके अर्को चरणमा प्रवेश गरेको छ ।
यसैगरी, बेलझुण्डी रंगशालामा भएको खेलमा बर्दियाले रोल्पालाई २-१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
लुम्बिनीका ७ जिल्लाको सहभागीता रहेको प्रतियोगिताका खेलहरु दुई समूह विभाजन गरेर खेलाई रहेको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए ।
उनका अनुसार, समूह ‘ए’ मा दाङ, प्युठान, बाँके र कपिलवस्तु रहेका छन् भने समूह ‘बी’ मा बर्दिया, रोल्पा र पाल्पा जिल्ला रहेका छन् ।
प्रतियोगिता अन्तरगत शुक्रबार बिहान दाङ र बाँके टीम बीच पहिलो सेमिफाइनल खेल घोराहीमा रहेको लुम्बिनी फुटबल एकेडेमीको फुटबल मैदानमा हुनेछ भने दोस्रो सेमिफाइनल बेलझुण्डी रंगशालामा दिउँसो बर्दिया र पाल्पा टीम बीच फाईनल प्रवेशका लागि खेल हुने सदस्य सचिव गौतमले बताए ।
प्रदेशमा फुटबलको विकास र जिल्लामा रहेका खेलाडीको क्षमता पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
यसैबीच, प्रतियोगिताको उदघाटन बेलझुण्डी रंगशालामा गरिएको छ । लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यमा प्रतियोगिता उदघाटन भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि खड्काले खेलाडी समाज र राष्ट्रका सम्पत्ति भएको बताए । उनले खेलकुदको विकासका लागि पूर्वाधार विकाससँगै खेल आयोजना अति आवश्यक रहेको बताए । खेलकुद परिषदले प्रदेश भरका खेलाडीलाई खेल मैदानमा उतारेर उनीहरुको क्षमता विकासमा ध्यान दिएको भन्दै प्रशंसा गरे ।
खेलकुद परिषदका सदस्य कैलाश रोकाको विषय प्रवेश तथा स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियारले गरेका थिए ।