Ad Area

लुम्बिनी प्रदेश स्तरीय फुटबलको फाईनलमा दाङ


छवि पुरी
घोराही, २८ चैत । लुम्बिनी प्रदेश खेलकुद परिषदको प्रदेश स्तरीय फुटबल प्रतियोगितामा दाङ फाईनलमा प्रवेश गरेको छ ।

दाङको घोराही – १७ गैरागाउँस्थित लुम्बिनी फुटबल एकेडेमीको मैदान शुक्रबार बिहान भएको पहिलो सेमिफाइनलमा दाङले बाँकेलाई ४-१ गोल अन्तरले हराउँदै फाईनल प्रवेश गरेको हो ।

दाङलाई उपाधि नजिक पुर्याउन विशाल केसीले १ गोल गर्दा हरि बुढा र विवेक रसाईलीले १-१ गोल गरे । पहिलो हाफको ११ मिनेटमा विशाल केसीले बाँके विरुद्ध गोल गर्दै अग्रता दिलाएका थिए । २८ औँ मिनेटमा हरि बुढाले अर्को गोल गर्दै २-० को दोब्बर अग्रता बनाए ।

दोस्रो हाफमा दाङले थप दुई गोल गर्यो । दोस्रो हाफको १६ औँ मिनेटमा विशाल केसीले अर्को गोल थप्दा २४ औँ मिनेटमा विवेक रसाईलीले दाङका लागि गोल थपे ।

खेलको २५ औँ मिनेटमा बाँकेका अभिशेष बुढाले सान्त्वना गोल फर्काए । दाङका लागि दुई गोलकर्ता विशाल केसी प्लेयर अफ द म्याच भए ।

अब प्रतियोगिता अन्तरगत तुलसीपुरको बेलझुण्डी रंगशालामा दोस्रो सेमिफाइनल खेल हुने लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए । दोस्रो सेमिफाइनलमा बर्दिया र पाल्पा बीच दिउँसो ३ बजेपछि खेल हुने उनले बताए ।

लुम्बिनीका ७ जिल्लाको सहभागीता रहेको प्रतियोगिताका खेलहरु दुई समूह विभाजन गरे भईरहेको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए ।

उनका अनुसार, समूह ए मा दाङ, प्युठान, बाँके र कपिलवस्तु रहेका छन् भने समूह बी मा बर्दिया, रोल्पा र पाल्पा जिल्ला रहेका छन् ।

प्रदेशमा फुटबलको विकास र जिल्लामा रहेका खेलाडीको क्षमता पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको उनले बताए ।