घोराही कप खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता शुरु

छबि पुरी
घोराही, २९ चैत । घोराही कप खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता–२०८१ दाङको घोराहीमा शुरु भएको छ । प्रतियोगिता खेल्न दाङसहित देशका रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पालगायत जिल्लाबाट खेलाडीहरु घोराहीमा आएका छन् ।
घोराही ब्याडमिन्टन क्लबको आयोजनामा आज र भोलि दुई चल्ने प्रतियोगितामा खुल्ला नकआउट पुरुष डबल्स ब्याडमिन्टनमा समूह ए मा १० ग्रुप, ‘सी’ लेबल खुलातर्फ ३० ग्रुप र भेट्रान्सतर्फ १४ ग्रुपबीच प्रतिष्पर्धा भईरहेको आयोजकले जनाएको छ ।
घोराही १४ स्थित कभर्ड हलमा भईरहेको प्रतियोगितामा तीन वटा कोर्टमा खेल भईरहेको घोराही ब्याडमिन्टन क्लबका अध्यक्ष मूलधन रोकाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा खुल्ला पुरुष डबल्समा प्रथम हुनेले नगद ५० हजार, द्वितीय हुनेले नगद ३० हजार र सान्त्वना हुनेले नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
यसैगरी, ‘सी’ लेबल खुल्ला पुरुष डबल्समा प्रथम हुनेले नगद ४० हजार, द्वितीय हुनेले नगद २० हजार र सान्त्वना हुनेले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने घोराही ब्याडमिन्टन क्लबका अध्यक्ष रोकाले बताए ।
प्रतियोगिता अन्तरगत भेट्रान पुरुष डबल्समा प्रथम हुनेले नगद २५ हजार, द्वितीय हुनेले नगद १५ हजार र सान्त्वना हुनेले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको समापन शनिबार हुनेछ ।
घोराही ब्याडमिन्टन क्लबका अध्यक्ष मूलधन रोकाको अध्यक्षता तथा उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा शुक्रबार घोराही कभर्ड हलमा प्रतियोगिताको उदघाटन गरिएको छ ।
कार्यक्रममा उपप्रमुख डिसीले स्वास्थ्यका लागि खेल अति आवश्यक रहेको बताईन् । उनले खेलकुदले मानिसलाई स्वस्थ राख्न र अनुशासित बनाउन सघाउने बताईन् । पछिल्लो समय नसर्ने रोगको जोखिम बढ्नुमा अस्वस्थकर खानपान र जीवनशैली प्रमुख कारक रहेको भन्दै स्वास्थ्यका लागि खेलकुद मानिसको अनिवार्य शर्त बन्नुपर्नेमा जोड दिईन् ।
सो अवसरमा, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठ, संघका उद्योग उपाध्यक्ष ध्रुवकुमार गहतराज, घोराही नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनलगायतले खेलकुदले व्यक्ति, परिवार, समाज र राष्ट्रका लागि ठूलो भूमिका खेल्ने बताए ।
घोराही ब्याडमिन्टन क्लबका उपाध्यक्ष सुशील गिरीको स्वागत मन्तव्यबाट शुरु भएको प्रतियोगिता उदघाटन समारोहको सहजीकरण सचिव बेगम चन्दले गरेका थिए ।