Ad Area

प्रदेश स्तरीय फुटबलको उपाधिमाथि बर्दियाको कब्जा, दाङ बन्यो उपविजेता


छबि पुरी
घोराही, ३० चैत । लुम्बिनी प्रदेश खेलकुद परिषदको प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि बर्दियाले उचालेको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर – १७ गैरागाउँस्थित लुम्बिनी फुटबल एकेडेमीको मैदान शनिबार दिउँसो भएको फाइनलमा दाङलाई उसकै घरेलु मैदानमा हराउँदै बर्दियाले उपाधि उचालेको हो । प्रतियोगिताको च्याम्पियन बनेको बर्दियालाई फाईनलमा १–० गोलको नतिजा निकाल्दै उपाधि माथि कब्जा जमायो ।

निकै प्रतिष्पर्धात्मक खेल मा दुवै टीमले गोल गर्ने अवसर बनाए पनि नतिजा निकाल्न संघर्ष गर्नु पर्यो । पहिलो हाफ गोलरहित अवस्थामा सकिए पनि दोस्रो हाफमा बर्दियाले गोल गर्यो । खेलको ६०औँ मिनेटमा बर्दियाले पाएको कर्नर नतिजा निकाल्ने आधार बन्यो । बर्दियाका संगम सारुले कर्नरबाट प्रहार गरेको बललाई दाङका गोलकिपर प्रतिक सुनारले पन्च गर्दै डिएरिया बाहिर पठाए पनि रिबाउन्ड भएको बल सुनिल आलेले गोलमा परिणत गरे । उनले करिव २५ यार्ड परबाट पाएको मौका खेर जान दिएनन् ।

उनले बायाँ बार च्याप्दै गरेको राईट फुटेड प्रहार सिधै जाली चुम्यो । सुनिलले गोलको खडेरी तोड्दै गरेको १ गोल नै निर्णायक बन्यो । उनी प्लेयर अफ द म्याच पनि बने ।

यसअघि फाईनलमा पुग्न दाङले प्युठान र बाँकेलाई हराएको थियो भने बर्दियाले रोल्पा र पाल्पालाई हराएको थियो । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकाल, अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दीर्घबहादुर केसी, जिल्लास्थित खेलकुद संघ संगठनका पदाधिकारीहरुसहित उल्लेख्य दर्शकको उपस्थितीमा भएको फाईनल खेल निकै रोमाञ्चक रुपमा सम्पन्न भएको छ ।

प्रतियोगिताको च्याम्पियन बनेको बर्दियाले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बनेको दाङले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

यसैबीच, प्रतियोगिताको उत्कृष्ट खेलाडी दाङका हरि बुढा घोषित भए । सर्वाधिक गोलकर्ता दाङका विशाल वली हुँदा बाँकी विधामा बर्दियाका खेलाडीको वर्चश्व रह्यो । प्रतियोगिताको उत्कृष्ट गोलकिपर बर्दियाका विशाल थारु, उत्कृष्ट डिफेन्डर बर्दियाका मनिष खड्का, उत्कृष्ट मिडफिल्डर बर्दियाका संगम सारु र उत्कृष्ट प्रशिक्षक पनि बर्दियाका रामजीत थारु घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी दाङका हरि बुढाले नगद १० हजार रुपैयाँ पाउँदा विधागत रुपमा उत्कृष्ट सबैलाई नगद ५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिए ।

लुम्बिनीका ७ जिल्लाको सहभागीता रहेको प्रतियोगिताका खेलहरु दुई समूह विभाजन गरेर बेलझुण्डी रंगशाला र लुम्बिनी फुटबल एकेडेमीको खेल मैदानमा खेलाईएको थियो । समूह ‘ए’ मा दाङ, प्युठान, बाँके र कपिलवस्तु रहेका थिए भने समूह ‘बी’ मा बर्दिया, रोल्पा र पाल्पा जिल्ला रहेका थिए । प्रदेशमा फुटबलको विकास र जिल्लामा रहेका खेलाडीको क्षमता पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव गौतमले बताए ।

प्रतियोगिता समापन समारोहमा प्रमुख अतिथिसमेत रहनुभएका भौतिक पूर्वाधार तथा विकास मन्त्री ढकालले समाज निर्माणको आधार खेलकुद बन्न सक्ने बताए । उनले प्रदेश सरकारले खेलकुदको विकासका लागि नीतिगत रुपमा काम गर्ने प्रयास गरिरहेको भन्दै यसको संस्थागत विकासका लागि आगामी दिनमा बजेट बढाउँदै खेल पूर्वाधार विकासमा विशेष ध्यान दिने प्रतिवद्धता जनाए ।

उनले स्वस्थ नागरिकसँगै दक्ष खेलाडी उत्पादन गर्न खेलकुदका गतिविधि निकै आवश्यक रहेको भन्दै खेलकुद परिषदले थालेको कामलाई प्रदेश सरकारको पूर्ण साथ सहयोग रहेको बताए ।