घोराही कप खुल्ला पुरुष डबल्स ब्याडमिन्टन सम्पन्न

छबि पुरी
घोराही, ३० चैत । घोराही कप खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता–२०८१ सम्पन्न भएको छ । घोराही ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगितामा ३ पुरुष डबल्स ब्याडमिन्टनमा समूह ए मा १० ग्रुप, ‘सी’ लेबल खुलातर्फ ३० ग्रुप र भेट्रान्सतर्फ १४ ग्रुपबीच प्रतिष्पर्धा भएको थियो ।
घोराहीको कभर्ड हलमा दुई दिन भएको प्रतियोगितामा खेल्न दाङसहित देशका रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पालगायत जिल्लाबाट खेलाडीहरु सहभागी भई प्रतिष्पर्धा गरेका छन् ।
घोराही कप खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको समूह ‘ए’ क्याटगरीमा घोराही ब्याडमिन्टन क्लबका हिमांशु कवर मगर र विवेक चौधरी घोराही प्रथम हुनुभयो । बुटवलको लाफा समुहबाट विनोद पौडेल र अरबिन सिर्पाली द्वितीय हुनुभयो ।
लाफा समूह बुटवलकै विबेक न्यौपाने र बालाराम क्षेत्री तथा टिएसीबाट नरेन्द्र बम र हिमाल चन्द सान्त्वना हुनुभयो । यो विधामा प्रथम हुने टीमले नगद ५० हजार, द्वितीय हुनेले नगद ३० हजार र सान्त्वना हुनेले नगद २० हजार रुपैयाँ प्राप्त गरेको छ ।
यसैगरी, ‘सी’ लेबल खुलातर्फ ३० ग्रुपको प्रतिष्पर्धा भएकोमा मधवलिया ब्याडमिन्टन क्लबका नरसिंह बुढा र युवराज पुन प्रथम हुनुभयो । घोराही ब्याडमिन्टन क्लबका नरेन्द्र डंगोरिया र गोविन्द पुन द्वितीय हुँदा मधवलिया ब्याड मिन्टन क्लबका आशिष थापा रुपन्देही र विवेक क्षेत्री तथा वाणगंगा ब्याडमिन्टन क्लबका सुरेन्द्र गाहा मगर र गिरु राना मगर सान्त्वना हुनुभयो ।
‘सी’ लेबल खुल्ला पुरुष डबल्समा प्रथम हुनेले नगद ४० हजार, द्वितीय हुनेले नगद २० हजार र सान्त्वना हुनेले नगद १० हजार रुपैयाँ प्राप्त गरेको घोराही ब्याडमिन्टन क्लबका अध्यक्ष मूलधन रोकाले बताउनुभयो ।
यसैगरी, भेट्रान्सतर्फ १४ ग्रुपबीच प्रतिष्पर्धा भएकोमा बाँकेका अनिल लाखे र जयन्त कुमार श्रेष्ठ प्रथम हुनुभयो । कपिलवस्तुका रितेश थापा र संजय गुरुङ द्वितीय हुँदा तेजु चौधरी र यमनारायण श्रेष्ठ तथा घोराही ब्याडमिन्टन क्लबका तुलसीराम महरा र लालमणि बस्नेत सान्त्वना हुनुभयो । भेट्रान पुरुष डबल्समा प्रथम हुनेले नगद २५ हजार, द्वितीय हुनेले नगद १५ हजार र सान्त्वना हुनेले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
घोराही १४ स्थित कभर्ड हलको तीन वटा कोर्टमा खेल खेलाईएको घोराही ब्याडमिन्टन क्लबका अध्यक्ष मूलधन रोकाले बताउनुभयो । यसैबीच, घोराही ब्याडमिन्टन क्लबका अध्यक्ष मूलधन रोकाको अध्यक्षता तथा उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा शनिबार घोराही कभर्ड हलमा प्रतियोगिताको समापन गरिएको छ ।
कार्यक्रममा उपप्रमुख डिसीले स्वास्थ्यका लागि खेल अति आवश्यक रहेको बताउनुभयो । उहाँले खेलकुदले मानिसलाई स्वस्थ राख्न र अनुशासित बनाउन सघाउने बताउनुभयो । दाङसहित विभिन्न जिल्लाबाट सहभागी भई खेलमार्फत स्वास्थ्य सचेतना फैलाउने काम भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।