Ad Area

आफ्नो आवाज आफै उठाउँदै लुम्बिनीका किशोरकिशोरी


छबि पुरी
लमही, ८ बैशाख । बालविवाह रोकथामका लागि लुम्बिनी प्रदेशका किशोरकिशोरी जागरुक बन्न थालेका छन् । बढ्दो बालविवाह रोकथाम, लैंगिक हिंसा नियन्त्रण तथा सामाजिक विभेद अन्त्यका लागि उनीहरु एकजुट भएर अघि बढ्न थालेका हुन् ।
आईतबार दाङमा लमहीमा आयाेजित कार्यक्रममा लुम्बिनी प्रदेशका पाँच जिल्लामा बालविवाह न्यूनीकरणका लागि गठित बाल क्लब तथा सञ्जालमार्फत समुदाय, टोलमा सचेतनाका कार्यक्रम व्यापक बनाउँदै बालविवाह न्यूनीकरणका लागि नीति तथा कानूनी व्यवस्था र किशोरकिशोरीहरुको भुमिका पनि खोजेका छन् ।
दाङसहित लुम्बिनीका ८ जिल्लाका किशोरकिशोरीहरु दाङमा भेला भएर बालविवाह सम्बन्धी विद्यमान ऐन, कानून र कार्यान्वयनका अवस्थाका बारेमा प्रदेश सरकार, स्थानीय सरकार र सरोकार निकायलाई ध्यानाकर्षण गराउने काम गर्दै आएका छन् ।
मुक्त कमलरी विकास मञ्च, सोइसा महिला स्वावलम्बी संस्था, दलित महलिा उत्थान संघ, सिर्जनशील संस्था, फातिमा फाउन्डेसन संस्थामा आवद्ध सयौँ किशोर किशोरीहरु अहिले आफ्नो अधिकारको वकालत गरिरहेका छन् ।
यसैगरी, पछिल्लो समय नेपालमा विवाहको उमेरहद घटाएर १८ वर्ष बनाउने प्रस्ताव प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तरगत गठित उपसमितिले अघि बढाएको विषय प्रति पनि उनीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।


विवाहको उमेरलाई २० वर्षबाट घटाएर १८ वर्ष बनाउने प्रस्ताव प्रति ध्यानाकर्षण भएको जनाउँदै विवाहको कानुनी उमेर २० वर्षबाट घटाउने कुनै पनि प्रस्ताव खारेज गर्न र यसलाई यथावत राख्न किशोरकिशोरीहरुको सरकारसँग आग्रह समेत छ ।
विवाहको उमेर १८ वर्ष बनाउँदा बालबालिकाको भविष्य अन्योलमा पर्ने, उच्च शिक्षामा अवरोध सिर्जना हुनसक्ने, किशोरीमा प्रजनन स्वास्थ्यका समस्या हुने र मातृ तथा शिशु मृत्युदर बढ्नसक्ने भन्दै बालबालिका र किशोरकिशोरीले यो विषयलाई आफुले सञ्जालमा बसेर ज्ञान हासिल गर्ने र समुदायमा सचेतना फैलाउने काममा जुटेका छन् ।
बाँके नेपालगञ्जकी जसिम्न शेखले आफु बाल उमेरमै विवाह बन्धनमा बाँधिएर हिंसामा परेको आफ्नो कथा सुनाउँदा उपस्थित सबै स्तब्ध भए । शेखले १४ वर्षकै उमेरमा बालविवाह गर्नु पारिवारिक बाध्यताका बीच सम्बन्ध बिच्छेदले अफ बिच्छिप्त बनाएको सुनाउनुभयो । आफु डिप्रेशनको सिकार भएर बसेका बेला फातिमा फाउन्डेसनमार्फत नयाँ जीवन पाएर अहिले आफु जस्तै पीडितको सहारा बनेको उहाँले बताउनुभयो । फाउन्डेशनमार्फत विभिन्न सीप सिकेर आत्मनिर्भर हुनुका साथै अरु थुप्रैलाई आफुले पाएको दुख र पाएको सफलताको कथा सुनाउँदै आत्मविश्वास जगाउने काम गर्दै आउनु भएको छ ।
देवदह रुपन्देहीकी नन्दनी अग्रहरीको कथा पनि निकै संघर्षको छ । नन्दनीले बालविवाहको सिकार भएर समाजमा पछि प्रतिवाद गरेर अहिले सबैका सामु बोल्न सक्ने हुनु नै जीवनको सबैभन्दा ठूलो उपलब्धी ठान्नु हुन्छ । बालविवाह विरुद्धको सशक्त अभियान चलाउँदै समाजमा हुने कुरीति, हिंसा अन्त्यको आवाज नन्दनीले उठाउने गर्नुभएको छ । उहाँको यो अभियानले अहिले सफलता पाउँदै गएको छ ।
बर्दियाकी किर्तिका बिकले पनि आफु पीडैपीडाको बीचबाट यो ठाउँमा पुगेको बताउनुभयो । उहाँले आफुले दासताको जीवनबाट माथि उठेर समाजमा हुने हरेक बेथिती विरुद्धको आवाज उठाउन सक्ने हुनुभएको छ ।
सुद्धोधन गाउँपालिका रुपन्देहीकी लक्ष्मी लोधले पनि पीडाका पोका फुकाउँदा जीवनमा गरेको संघर्षबाट आफु उठ्न सकेको बताउनुभयो । गढवा दाङकी निरासु कुमालले बाल उमेरमा कमलरी बस्दा पाएको दुख सुनाउनुभयो । उहाँले कमलरी जीवनबाट मुक्ति पाएपछि अहिले आफुले समाजमा सचेतना फैलाउँदै अभियन्ताका रुपमा अघि बढेको बताउनुभयो ।
रुपन्देही सुद्धोधन गाउँपालिकाका कमल थारुले सरकारले विवाह गर्ने उमेर २० वर्षपछि हुनुपर्छ भनेर बनाएको कानून कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुहुन्छ ।
रुपन्देहीकी श्रृष्टि भट्टराईले पनि बालविवाह न्युनीकरण सम्बन्धी नीति, कानुन र कार्यान्वयनको अवस्था बारे जानकारी लिई बनेको ऐन, कानून कार्यान्वयनमा तदारुकता देखाउन सरकारले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
साजन बरालीले गाउँगाउँमा बालविवाह न्यूनीकरणका लागि अभियान चलाएर रोकथामको प्रयास सार्थक बनाईरहेकाले सरकारको कार्यक्रमलाई सघाउने काम भईरहेको बताउनुभयो । बालविवाहका कारण समाजमा हुने हरेक प्रकारका समस्या उजागर गर्दै बनेका नीति, कानून प्रभावकारी कार्यान्वयन नै अबको आवश्यकता रहेको उहाँको भनाई छ ।
कार्यक्रममा बाल क्लब तथा किशोरकिशोरी सञ्जालहरूले समुदायस्तरमा प्रवाह गरिरहेका सचेतनामूलक कार्यक्रम, संवाद, चित्रकला, पोस्टर अभियान, विद्यालयस्तरीय गोष्ठीलगायत गतिविधिहरूका बारेमा जानकारी गराउँदै रचनात्मक चित्र प्रदर्शनी गरेका थिए ।
नेपालको संविधान २०७२, राष्ट्रिय बालबालिका नीति २०८०, बालबालिका सम्वन्धि ऐन २०७५, मुलकी अपराधसंहिता २०७४, तथा बालबालिका सम्वन्धि नियमावली २०७८, स्थानीय सरकार संचालन ऐन २०७४, बालविवाह विरुद्धको रणनीति २०७२, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, लगायत अन्य कानुन पनि बालविवाह अन्त्यका लागि प्रभावकारी कार्यान्वयनका लागि आफुहरु किशोरकिशोरीहरुलाई एकजुट बनाएर अघि बढेको बालविवाह न्यूनीकरणका क्षेत्रमा क्रियाशील संघसंस्थाको भनाई छ ।
मुक्त कमलरी विकास मञ्चकी ज्ञानु थापाले बालविवाह न्यूनीकरण परियोजनामार्फत समुदाय स्तरमा थुप्रै काम गरेर सचेतना फैलाईएको बताउनुभयो । उहाँले बालविवाहका कारण समस्यामा परेकाहरुको उद्धारदेखि पुनस्र्थापनाका कार्यक्रममार्फत जीवन रुपान्तरणका कार्यक्रमले सार्थकता पाउँदै गएको बताउनुभयो । अहिले सरकारले विवाहको उमेर हद घटाउने प्रस्ताव बालबालिका विरुद्धको प्रस्ताव भएको हुँदा विद्यमान ऐन कानुन अनुसार नै अघि बढ्न र कानून कार्यान्वयन प्रभावकारी बनाउँदै समुदायमा शिक्षा र सचेतना फैलाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
बालबालिकाहरुको शारिरीक, मानसिक तथा संवेगात्मक विकासमा समेत असर पुग्ने गरी विवाहको उमेर घटाउने विषय अघि नबढाउन उहाँको अपिल छ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले समाजमा विद्यमान बालविवाह, हिंसा, कुरीति रोकथाम गर्न सबैको साथ सहकार्यबाट मात्रै सम्भव हुने बताउनुभयो । शिक्षाको कमीका कारण तथा अन्धविश्वासले समाजमा अझै जरा गाडेकाले सबैले समाज रुपान्तरणका लागि हातेमालो गर्नु आवश्यक रहेको बताउनुभयो ।
प्रदेश सरकारले बनेको ऐन, कानून कार्यान्वयन गर्दै केही विधेयकहरु पनि निर्माणको प्रकृयामा रहेको हुँदा सबै पक्षले समाजमा रहेका हरेक विकृति, विसंगति, असमानता हटाउन साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक संघसंस्थाहरुको समुदाय स्तरमा प्रभावकारी उपस्थिती हुँदा सरकारले अघि सारेका सामाजिक क्षेत्रका नीति तथा कार्यक्रम पनि सफल हुँदै गएको भन्दै कामको प्रशंसा गर्नुभयो ।
यसअघि यस क्षेत्रमा क्रियाशील २८ संघसंस्थाले विवाहको उमेर २० वर्ष नै कायम गर्न माग गर्दै प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरुलाई ज्ञापनपत्र समेत बुझाइसकेका छन् । विवाह उमेर घटाएमा विद्यालय छोड्ने बालबालिकाको संख्या बढ्ने र यसले अन्ततः महिलाहरुको आर्थिक अवस्था निकै कमजोर बनाउने उनीहरुको भनाइ छ ।
बर्दियाकी सबैभन्दा कान्छी अभियन्ता प्रतिभा थापाको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यमा उनीहरुले बालविवाह विरुद्ध अग्रजसँग किशोरकिशोरी डबली पनि संचालन गरेका छन् । जसमा किशोरकिशोरीहरुले विभिन्न प्रकारका जिज्ञासा राख्दै सरोकारवालासँग जवाफसहित प्रतिवद्धता पनि लिएका छन् । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य ईन्द्रजीत थारु, धनलक्ष्मी श्रेष्ठ , मीना बोहरा, स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, मन्त्रालयका सचिव, सामाजिक अभियन्ता, मनोविदलगायतसँग उनीहरुले डबली संचालन गरेका हुन् ।
यसैगरी, बालविवाह न्यूनीकरणसहित बालबालिकाहरुको संविधान प्रदत्त अधिकार पूर्ण कार्यान्वयनको माग गर्दै सामाजिक विकास मन्त्री तिमिल्सिनालाई ज्ञापन पत्र पनि बुझाएका छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा सबैभन्दा धेरै विवाह गर्नेको उमेर १८ देखि २० वर्षको बीचमा नै छ । जस अनुसार १८ देखि २० वर्ष उमेर समूहका ७१ लाख १६ हजार ६ सय ५९ किशोरमध्ये ३२.६ प्रतिशत अर्थात २३ लाख १८ हजार ६ जनाले विवाह गरेका छन् । यसैगरी यही उमेर समूहका ८९ लाख ६ हजार २ सय ११ किशोरीमध्ये ३५.९ प्रतिशत अर्थात ३१ लाख ९३ हजार ६ सय २० ले विवाह गरेका छन् । दाङमा पनि १६ प्रतिशतले २० वर्ष नपुग्दै विवाह गरी आमा बनेको तथ्यांक छ ।