Ad Area

‘बिश्वासले बनेको घर, विश्वासले टुट्यो’


दाङ, ७ वैशाख । १३ बर्षकै कलिलो उमेरमा घर छोडेर यातायातका क्षेत्रमा लागेका लक्ष्मण श्रेष्ठ अहिले ४२ बर्ष भए । करिव तीन दशकको अवधिमा खलासीबाट मालिकसम्म बनेका श्रेष्ठ पुनः सडकमा आइपुगेका छन् । त्यो पनि श्रीमति निर्मला डाँगीको विश्वासमा परेर । सुन्दा अचम्म लाग्ने घट्नाका कारण सडकमा आइपुगेका श्रेष्ठ कानुनी रुपमा हारिसकेका छन् । आफुलाई जस्तो दुःख अरुलाई नपरोस भन्दै आइतवार पत्रकार सम्मेलन गरेका श्रेष्ठका अनुसार निर्मला डाँगीसँग १८ बर्षअघि प्रेम विवाह गरेका थिए । उनीहरुबाट अहिले १६ बर्षीय छोरी र १४ बर्षका छोरा छन् ।

तीन कक्षासम्म पढेका श्रेष्ठले रिक्सासँगै गाडीमा खलासी गर्दै ड्राइभर बनेका थिए । ड्राइभरसम्म बन्दा थोरै थोरै गरेर कमाएको पैसा जम्मा गर्दै गए । त्यही पैसाबाट घडेरी किने, घर बनाए । नारायणपुरमा जग्ग किने । घर परिवार राम्रै चलेकै थियो । कमाएको पैसा राख्ने काम श्रीमतिले गर्थिन । त्यो पैसा श्रीमतिले व्याजमा समेत लगाउने गँर्थिन । त्यसबाट आउने व्याज र आफुले कमाएको पैसा गरेर बचत पनि भइरहेको थियो ।

केही बर्षअघि अटोभिलेजको पश्चिमतिर ढाई तलाको घर बनाएर बस्दै आएका थिए । उक्त घर श्रीमतिको सल्लाह अनुसार आफ्नो नाममा राख्दा दाजुभाईले खोज्ने भएका कारण श्रीमतिकै बुबाको नाममा राखेका थिए । घर बनाउँनु भन्दा पहिले सालो अमेरिका जाँदा पैसा हालिदिएका थिए । घडेरी र गाडी बिक्री गरेर अमेरिका जाँदा पैसा सहयोग गरेका कारण सालाले घर बनाउँदा पैसा सहयोग गरेको श्रेष्ठले पत्रकार सम्मेलनमा बताए ।

घर परिवार राम्रै चलिरहेको बेला दुई बर्षअघि श्रीमान–श्रीमतिका विचमा खटपट सुरु भयो । श्रीमतिले झगडा सुरु गर्न थालिन । कारण रक्सी खाएको देखाउन थालिन । झगडा हुँदा डिभोर्स गर्नेसम्मका कुरा श्रीमतिले गर्ने गरेपनि सडकमा दुःख र संघर्ष गरेर बनेको परिवारलाई भत्कालिन भन्ने कल्पनासम्म गरेका थिएनन् । त्यही कारण करिव एक बर्षअघि एउटै घरमा बस्दै आएपनि श्रीमान–श्रीमतिका विचमा राम्रो सम्वन्ध थिएन । यहि बिचमा श्रीमतिले जिल्ला अदालतमा डिभोर्सका लागि प्रक्रिया सुरु गरिसकेकी रहिछिन । श्रीमतिसँग बोलचाल नहुने र गाडीमा बाहिर हिड्ने भएका कारण थाहा नै नपाएको बताउँछन् ।

श्रीमतिसँग नौ महिनाअघि डिभोर्स भइसकेको ४० लाख रुपैया चोरी गरेको आरोपमा श्रीमतिले जिल्ला प्रहरी कार्यालय घोराहीमा निवेदन दिएपछि मात्र आफुले थाहा पाएको र त्यो क्षण आफु छाङ्गाबाट खसे झै भएको बताए । ‘डिभोर्सको प्रक्रिया सुरु भएर नौ महिना अघि नै डिभोर्स भइसकेको रहिछ, यो कुरा मलाई वैशाख ३ गते मात्र थाहा भयो, जब श्रीमतीले मलाई ४० लाख रुपैयाँको चेक चोरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिइन्’, श्रेष्ठले पत्रकार सम्मेलनमा भने ।

श्रीमान श्रीमतीकाबीच बेलाबेला सामान्य झगडा हुने गरे पनि त्यसले सम्बन्धमा यति ठूलो दरार ल्याउने अनुमान नगरेको बताउँछन । ‘गाडी चलाउँदा कहिलेकाहीँ रक्सी खाने गर्थेँ, त्यसैले घरमा सामान्य वादविवाद हुन्थ्यो’,उनले भने,‘रक्सीकै कारण घरमा झगडा हुन थालेपछि ७÷८ महिनादेखि रक्सी समेत खान छोडेको थिएन ।’ श्रीमतिकै कारण आफु सडकमा आएको भन्दै उनले आफ्नो जस्तो अवस्था अरुलाई नपरोस भन्न चाहान्छन् । ‘श्रीमतिको विश्वासका कारण यो विचमा जति कमाए,श्रीमतिलाई नै दिएको थिए’, पत्रकार सम्मेलनमा भावुक हुँदै उनले भने,‘विश्वासले बसेको घर, विश्वासले नै टुटेको छ । र,अहिले सडकमा आइपुगेको छु ।’